निजामती दिवसले १६औँ फड्को मारेको भए पनि कर्मचारीले राजनीतिक आडमा आफ्नो जिम्मेवारीतर्फ ध्यान दिएको पाइएको छैन । १६ वर्षअगाडि जन्मेको बालक युवा भइसक्यो । देशको स्थायी सरकारका सञ्चालक चालक तथा परिचालकले निजामती सेवाको सुधार गरेका छैनन् । देशलाई लज्जित गराउने अर्को दुःखद स्थिति रह्यो । विगत १४ वर्ष यता सर्वोकृष्ट कर्मचारीसमेत राज्यले फेला पारेन । पाएसम्म आफैँ सो पुरस्कार हत्याउने मुख्यसचिवदेखि गृहसचिवसम्मले प्रयास नगरेका होइनन् ।
आज कर्मचारीका कारण देशको प्रशासन भद्रगोल छ । जनताले राज्यको सेवा र सुविधा पाएका छैनन् । सरकार छ, जनताको बीचमा छैन । प्रशासन छ त्यसले स्थानीय तहको भद्रगोलको सीमा नाघेको छ । अनुशासन, अराजकता, घुस, कमिसन र उस्तै परे तस्करी धन्दामा समेत कर्मचारी जोडिएका छन् । देशको लक्ष्य र उद्देश्य भनेकै कमाउने तथा राज्यको सम्पत्ति लुट्ने सेवामा अवरोध ल्याउनेमा केन्द्रित छ । यस्तो कर्मचारी प्रशासनले कसरी देशको परिवर्तनलाई स्थायित्व दिन्छ ?
राज्यले उत्कृष्ट कर्मचारी पाउँदा सर्वोकृष्ट किन पाएन ? १५ वर्ष अगाडिदेखि उत्कृष्ट भनेर छानिएका कर्मचारी सर्वोकृष्ट किन भएनन् ? निजामती सेवामा यो जस्तो तीतो पीडा के हुन सक्छ ? सरकार गलत दिशामा जाँदा खबरदारी गरेर कानुनी बाटोमा हिँडाउने दायित्व पनि कर्मचारीको हो । राजनीतिक नेतृत्व सधैँ एउटै दलको आउन सक्दैनन् । सरकारहरु फेरिन्छन् । नदीको पानी फेरिँदैन । वर्षात्मा बाढी आउँदा धमिलो होला । बाढी जान्छ, फेरि पानी सफा हुन्छ । निजामती सेवा भनेको त्यही नदीजस्तै हो ।
तर अहिले सरकार बलियो छ, त्यसले देशकाल परिवेश हेर्दैन । स्थायी सरकार छ । त्यसले जनसरोकार बुझ्दैन । मुलुकलाई यस्तो भद्रगोल, यत्ति अराजकतामा लैजान बलेको आगोमा घ्यू थप्ने काम कर्मचारीले गरे । त्यही कारण आफैँले उत्कृष्ट पुरस्कार लिन र छानबिन गर्न मुख्यसचिव, गृहसचिव, प्रशासन सचिवलाई ध्यान छैन । गृहसचिव प्रशासन सचिवलाई ध्यान छैन । यस्तो स्थिति हटाउने हिम्मत गर्ने आँट कसको होला ?