प्राकृतिक स्रोत जल, जंगल र जमिन र समुदाय विचका विभिन्न अभियानहरू सञ्चालन भइरहेका छन् । जलभित्र पनि विभिन्न सामुदायिक अभियानहरू सञ्चालन भइरहेका छन् । खानेपानी, सिंचाइ, विद्युत्सँग अलग अलग सामुदायिक अभियानहरू सञ्चालन भइरहेका छन् । नेपालको ५३ जिल्लामा सामुदायिक विद्युत् अभियान सञ्चालन भइरहेको छ । २९० वटा विद्युत्मा आधारित सामुदायिक संस्थाहरू क्रियाशिल रहेका छन् । कुनै सहकारीको रूपमा स्थापना भई सञ्चालन भइरहेका छन् भने कुनै जिल्ला प्रशासनमा दर्ता भएका संस्थाको रूपमा पनि । विद्युत् प्राधिकरणले उत्पादन गरेको विद्युत्लाई ग्रामीण स्तरमा जहाँ राज्यको पहुँच कम रहेको छ त्यसतो स्थानमा पु¥याई उज्यालो अभियानलाई सफलतापूर्वक सञ्चालन गरिरहेको छ । सामुदायिक विद्युतीकरणको अभियानले ५ लाख ३४ हजार घरपरिवारलाई सेवा दिन सफल भएको छ ।
विद्युतीकरणका लागि स्थापना भएका सामुदायिक संस्था नेपालकै सबैभन्दा बढी गुल्मीमा छन् । त्यहाँ ३६ वटा सामुदायिक संस्थाहरूले ग्रामीण स्तरमा सामुदायिक विद्युतीकरण गरिरहेको छ । यस जिल्लामा रहेका केही ग्रामीण विद्युतीकरणमा काम गरिरहेका सामुदायिक संस्थाहरूसँग छलफल गर्ने अवसर मिलेको थियो । प्राकृतिक स्रोतमा आधारित सामुदायिक संस्थाहरू मध्ये वनसँग दुईदशक अघिदेखिको संलग्नता रहेको, खानेपानी तथा सरसफाई संस्थासँग केही महिनाअघि केही दिन स्थलगतरूपमा नै छलफल गर्ने अवसर मिलेको थियो । तर विद्युत्सँग सम्बन्धित सामुदायिक संस्थाहरूसँग यसरी समुदाय स्तरमा नै छलफल गर्ने अवसर अहिलेसम्म मिलेको थिएन । यो अवसर विद्युत् अभियानमा क्रियाशिल सामुदायिक संस्थाहरूको छाता संगठन सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले यसपटक जुटाइदिएको हो ।
२४ भदौ ०७६ बिहान सबेरै हाम्रो टोली काठमाडौंबाट थानकोट हुँदै हाम्रो गन्तव्यतिर लाग्यौँ । हाम्रो टोलीमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका महासचिव रामकृष्ण हुमागाईँ, लेखा अधिकृत नवराज ज्ञवाली, गाडी चालक प्रेम ज्ञवाली र म समेत चार जना थियौँ । थानकोटबाट तल झर्ना साथ बाटोमा एक गाडी बिग्रिएछ । केही समय रोकिनु प¥यो । यतातिर उकालोमा आउने मालबाहक ट्रक बिग्रेर गाडी जाम हुने कुरा कुनै नौलो होइन । यो पटक पनि हामीले केही बेर त्यो अवस्था झेल्यौँ । नौबिसेमा खाजा खायौँ । गल्छीनजिकै पहिरो गएछ । बाटो सफा गर्न केही समय पर्खनु प¥यो । बाटोमा सामुदायिक अभियानका बारेमा चर्चा गरिरह्यौँ । दाउन्नेमा गई निगुरोसहितको दिउँसोको खाना खाने सल्लाह गर्दै अगाडि बढिरह्यौँ । विगत केही वर्ष अघिसम्म मुग्लिनदेखि नारायणगढसम्मको बाटो एकदमै खराब थियो । तर अहिले सरर हिँड्न मिल्ने रहेछ । बाटो र गाडी दौडाइको हामीले आनन्द लिइरह्यौँ । नारायगढको नारायणीको नदी तर्नासाथ प्रदेश ३ नं. छाडेर हामी गण्डकी प्रदेश प्रवेश ग¥यौँ । दिउँसोको १ बजेतिर हामी दाउन्नेमा पुगी हामीले कल्पना गरेजस्तै खाना खाने अवसर मिल्यो । नारायणगढदेखिको गर्मी दाउन्नेको उचाइँ र वनको हावाले हामीलाई शितलता दिइरहेको थियो । हाम्रो टोली फेरि ४ नंं प्रदेशबाट ५ नम्बरतिर प्रवेश ग¥यो । बुटवलमा पुग्दा ४ बजेको थियो । पानी पर्ला पर्लाजस्तो भएकाले त्यता अलमल नगरी शिद्धबाबाको पहिरो काट्नु पर्दछ भन्ने सल्लाहका साथ हाम्रो गाडी हुँइकियो । रूपन्देही र पाल्पाको सिमानामा पर्ने शिद्धबावा मन्दिर रहेको आसपास वा यहाँनेरको बाटो यो क्षेत्रकै दुःख हो भन्दा कुनै फरक पर्दैन । यहाँ हरेक वर्ष केही मान्छेको ज्यान जाने गरेकै छ । यो वर्ष पनि एक जनाको गइसक्यो रे । हामी त्यही बाटो गएको दुई दिनपछि एक जिपलाई ढुँगाले किचेर चालकको मृत्यु भयो रे भनेर हामी गुल्मी हुँदै खबर सुनेका थियौँ । पछि यहि बाटो फर्कँदा त्यो किचिएको गाडी सडक छेउमा त्यत्तिकै थियो ।
हाम्रो यात्रामा गाडीका चालक र नवराज ज्ञवाली यतै तिरका हुनु भएकाले यहाँका विभिन्न ठाउँको बेलिविस्तार लगाउँदै हाम्रो पथप्रदर्शक भइरहनु भएको थियो । पाल्पामा केही सामान किन्यौँ । गाडीमा इन्धन हाल्ने कामसमेत गरियो । हामी गुल्मीको रिडीतिर लाग्यौँ । पाल्पाको तानसेनभन्दा माथि लागेपछि आकर्षक स्थानले हामी सबैको मन लोभ्याएको थियो । बतासे डाँडाको हावा खाँदै हार्थोकको रमाइलो हेर्दै हामी ओरालो लाग्यौँ । जोर्ते पुग्यौँ, रिडीको मनमोहक कृषि उपजसहितको फाँट हेर्दै अगाडि बढिरह्यौँ । हामी रिडी बजार साँझसाँझमा पुग्यौँ । चिया खाने कोसिस ग¥यौँ तर सम्भव भएन । रिडी भनेको धार्मिक स्थल हो । माघे संक्रान्तिमा विशेष मेला लाग्ने कुरा म सानो हुँदा रेडियोबाट प्रत्यक्ष प्रशारणवाट पनि सुन्ने गर्दथेँ । त्यसैले यसको नाम र स्थानका बारेमा धेरैले सुनेका नै हुन्छन् । यहाँ रिडी खोला र कालिगण्डकीको संगम स्थल पनि हो । त्यसैगरी यो संगम स्थलमा स्याङ्जा, पाल्पा र गुल्मी पनि जोडिन्छ । यी ३ जिल्लालाई नदीले छुट्टयाएको छ, जोडेको पनि छ । यो नदीको माथि तीनमुखे पुल हाली ३ वटै जिल्लामा पुग्ने व्यवस्था मिलाउने योजना अनुरूप नदीको बीचमा एक पिल्लर पनि गाडीसकेको रहेछ ।
हाम्रो टोली रिडीमा केही बेर बसेर कालीगण्डकीको तिरैतिर लाग्यौँ । यो भन्दा अघिको बाटो मेरा लागि पहिलो थियो । सडक पनि कच्ची नै रहेछ । पछि बीच–बीचमा केही कालोपत्रे पनि भेटियो । त्यसैले मसँग धेरै कौतुहलता पनि थियो । कालीगण्डकीको बहाबभन्दा विपरीत दिशामा हाम्रो यात्रा लम्किरह्यो । आजको हाम्रो यात्रा शान्तिपुर भएकाले त्यो बारेमा जानकारी लिँदै हामी कालीगण्डकीको आवाजसँग ताल मिलाउने कोसिस गर्दैै अघि बढिरह्यौँ । करिब १ घन्टाको यात्रापश्चात रुद्रवेणी पुग्यौँ । यहाँ चिया पियौँ । हाम्रो यात्रासम्बन्धी केही जानकारी लियौँ । रुद्रवेणी भन्ने स्थानमा कालिगण्डकी र बडीगाड नदीको संगमस्थल रहेछ । अब भने हामीले कालिगण्डकीको कोरिडोर छाड्यौँ । हामी सिधै उत्तरतर्फबाट आएको बडीगाड आएकोतर्फ ताकियौँ । शाहघाट पुग्यौँ । खैरेनी भन्ने स्थानमा सानो बजार रहेछ । यो स्थान सत्यवती गाउँपालिकामा पर्दोरहेछ । त्यहाँबाट पनि करिब १ घन्टाको यात्रापछि हामी चोरकाटे स्थान पुग्यौँ । हामीले यहीँबाट हाम्रो यात्राको दिशा परिवर्तन गर्नु पर्ने थियो । हामीले बडीगाडको किनारा छाडी उकालो लाग्यौँ । १४ किलोमिटर जत्तिको यात्रा उकालो लागेपछि सानो सुन्दर बजार झन्डै उपत्यकाजस्तो स्थान नै रहेछ शान्तिपुर । चन्द्रकोट गाउँपालिकामा पर्ने यो शान्तिपुर सो पालिकाको केन्द्र पनि रहेछ । हामीलाई जानकारी दिएअनुसार तम्घास पछि ठूलो बजार शान्तिपुर रहेछ । साँझ ९ बजेतिर हामी त्यहाँ पुग्यौँ र हामीलाई जानकारी गराएअनुसार नै ‘इसिता’ होटलमा हामी बास बस्यौँ । सायद मैले पहिलोपटक सामुदायिक विद्युत् अभियान अन्तर्गतको बत्तीको उपयोग गरेको हो । यो स्थानमा समेत वाइफाईको सुविधासमेत प्रयोग गर्न पाइयो । यो पनि सामुदायिक विद्युत् अभियानको प्रतिफल होला भन्दा कुनै फरक नपर्ला । यहाँ शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूहले चन्द्रकोट गाउँपालिका र छिमेकीसमेतका गरी ६ वटा वडाका करिब ३ हजार घरपरिवारलाई विद्युतीय ऊर्जा प्रदान गरिरहेको छ । सो संस्थासँगको छलफल अर्को दिन बिहानैदेखि गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । हाम्रो टोली, सामुदायिक विद्युत् अभियानका धेरै कुराहरू जान्ने र छलफल गर्ने कोतुहलता साँच्दैँ निन्द्रामा प¥यौँ । क्रमशः