चुपचाप अस्ताए पूर्वाधार विकासका चम्किला तारा

लेख

नेपालको विकास र उन्नतिका चमकिला तारा वरिष्ठ सिभिल इन्जिनियर पेम्बा लामा एकाएक चुपचाप नेपालको आकासबाट यहि मिति २०७६ साल २९ गते अस्ताएका छन् । दिवंगत वरिष्ठ सिभिल इन्जिनियर लामा एक बहुप्रतिभाशाली पेसेवर सिभिल इन्जिनियर भएको कुरा उनले नेपाल राष्ट्रको सडक सञ्जाल विकासका लागि गरेको योगदानबाट नै प्रष्ट हुन्छ । उनले विज्ञानमा स्नातक विशेष योग्यताको साथ नर्थ बंगाल विश्वविद्यालय भारतबाट सन् १९६३ मा पूरा गरेपश्चात अमेरिकन विश्वविद्यालय बेरुत, लेबनानबाट सन् १९६९ मा सिभिल इन्जिनियरिङमा स्नातकको शिक्षा पूरा गरेका थिए । साथै सन् १९८२ मा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट गणितमा स्नातकोत्तर डिग्री पनि नेपालमा इन्जिनियरिङ काम गर्दै पढाइ चालू राखी हासिल गरेका थिए । कार्यालयको रिकर्डमा भएको उनको नागरिकता प्रमाणपत्रमा उल्लेख भएअनुसार उनको जन्म ३ अक्टोबर १९४४ छ भने जन्म थलो पश्चिम १ नं। त्रिशूली भनिएको छ । यस्तो पहाडी कुनाकाप्चामा जन्मेका लामा स्याङ्बोले उच्च शिक्षा भने भारत, लेबनान र नेपालबाट प्राप्त गरेका थिए । उनले लेबनानबाट सिभिल इन्जिनियरिङमा स्नातक शिक्षा प्राप्त गरेपश्चात नेपाल फर्किएर हालको सडक विभागमा नियुक्ती लिएर सिभिल इन्जिनियर पेसामा समर्पित हुँदै लागेका थिए । त्यतिबेलाको नेपाल आजको जस्तो सरल थिएन किनकि आज देखिएका सबै उत्तर–दक्षिण र पूर्व–पश्चिम सडकहरु धेरैको उबेला राम्रोसित रेखांकनसम्म पनि भएको थिएन । सडक विभागकै संस्थागत विकास र परियोजना बनाएर कार्यान्वयन गर्ने प्रणालीसमेत स्थापित भइसकेको थिएन । त्यतिबेला ठूला सडक परियोजनाहरु विदेशीको सहयोगमा मात्रै हुने गरेको थियो भने नेपाली सिभिल इन्जिनियरहरु उपरोक्त परियोजनाहरुमा संलग्न भएर काम सिक्ने र अनुभव बटुल्ने गरेका थिए । सन् १९६९ देखि सन् १९७७ सम्म स्याङ्बोले सडक विभागको इन्जिनियरको रुपमा काम गरेका थिए र उक्त अवधिमा उनले नेपालका धेरै महत्वपूर्ण सडकहरुको रेखांकन, सर्भे डिजाइन र निर्माण सुपरभिजन गरेका थिए । उनले योगदान दिनु भएका प्रमुख सडकहरुमा दाङ–सल्यान, चारअली–इलाम, धरान–धनकुटा, पूर्व–पश्चिम राजमार्गको कोहलपुर–बनबासा खण्ड इत्यादि पर्छन् । उक्त समयमा कोहलपुरदेखि उता सडक विकास गर्ने काम फलामको चिउरा चपाउनु बराबर नै थियो तर पनि सहासी र उत्साही सिभिल इन्जिनियर स्याङ्वोले फलामे चिउरा मात्र चपाएन कि पचाएर पनि सबैलाई चकित पारेका थिए । सडक विभागमा लगभग ८ साल जति बिताएपछि उनले आफ्नो प्रतिभाको विकास र चुनौतीपूर्ण काम गर्ने मनोकांक्षा त्यताबाट पूरा हुन सक्ने सम्भावना देखेनन् । सुगाले जस्तो हाकिमले भनेका कुराहरुको रट लगाउँदै बन्दी जीवन व्यतित गर्न उनलाई इच्छा भएन र प्राविधिक ज्ञानको विकास स्वतन्त्र वातावरणमा मात्र हुन सक्ने विश्वासले पनि पिरोल्दै लैजाँदा सडक विभागको इन्जिनियर पदबाट राजीनाम गरी इन्जिनियरिङ अध्ययन, अनुसन्धान र परामर्श सेवा दिने लक्ष्यका साथ इस्ट कन्सल्ट प्रा। लि। को स्थापना सडक विभागकै अन्य केही साथीहरुले पनि सहयोग गरे । नेपालको सडक सञ्जाल विकासमा इस्ट कन्सल्ट प्रा। लि।मार्फत सडक विभाग र अन्य पूर्वाधार विकासको काम गर्ने सरकारी निकायहरु सबैलाई इन्जिनियरिङ परामर्श सेवा उपलब्ध गराएर राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका निभाएको कुरा सर्वविदितै छ । उनी ठूला राष्ट्रवादी पनि थिए सोहि भएको हुनाले नै उनले नेपाललाई आफ्नो कर्मभूमि बनाएका हुन् । नेपालका अन्य विज्ञहरुले जस्तो नेपाल नै छाडेर विदेश लाग्ने विकल्प त्यागेर नेपालमा नै इस्ट कन्सल्ट प्रा। लि। जस्तो अगुवा इन्जिनियरिङ परामर्श सेवा दिने संस्था खोली चलाई काम गरेर देखाउने हिम्मत गर्नु त्यतिबेलाको नेपालमा चानचुने कुरा थिएन । एक सफल सरकारी सिभिल इन्जिनियरले निजी क्षेत्रमा काम गरेर पनि जीविका चलाउन सकिन्छ भन्ने हिम्मत देखाउँदै त्यतिबेलाको अवस्थामा राम्रो तलब भत्ता पाइने सरकारी नोकरी त्याग्नु सबैका लागि चकित पार्ने विषय नै थियो । स्वर्गीय वरिष्ठ सिभिल इन्जिनियर स्याङ्बोको सक्रिय नेतृत्वमा भर्खरै स्थापना गरिएको प्रा।लि।ले शानदार प्रगति गर्न सफल भयो । उनको सक्रिय नेतृत्व प्रा।लि।लाई अनवरत रुपमा प्राप्त भएकै हुनाले प्रा।लि।लाई ४६ वर्षसम्म लगातार अध्ययन, अनुसन्धान र परामर्शको क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्न सफलता प्राप्त भएको छ । गत पाँचदशक भित्र नेपालमा बनेको र चलेको साना ठूला हरेक परियोजनाहरुमा स्व।वरिष्ठ सिभिल इन्जिनियर स्याङ्बोले कुनै न कुनै भूमिकामा केहि न कोही योगदान गरेका नै छन् । उनले योगदान गरेको प्रमुख सडक परियोजनाहरुमा तत्कालिन शाही नेपाली सेनाले बनाएको त्रिशूली–सोमदाङ, सडक विभागले बनाएको डडेलधुरा–डोटी, पाँच फिडर रोड्स, राप्ती रोड्स, हिले–खाँदबारी, पूर्व–पश्चिम राजमार्गको केहि खण्डहरुको पुनर्निर्माण इत्यादि पर्दछन् । यो बाहेक पनि केहि ठूला सडक, सिंचाई र खानेपानीका परियोजनाहरुको नेपाल भारत र भुटनामा समेत नेतृत्वदायी भूमिका निभाएर परियोजनाहरुलाई सफल तुल्याएका थिए । नेपालको सडकहरुको सर्भे, डिजाइन र निर्माण सुपरभिजनजस्ता कामहरुमा सिस्टम इन्जिनियरिङको प्रयोग र उपयोग गर्नमा स्याङ्बोले खेलेको भूमिका अत्यन्तै सराहनीय छ । उनले नेपालमा पहिलो चोटी एक जोडी एप्पल अस्बोर्न कम्प्युटर अमेरिकाबाट आयात गरी सडक विभागकै राप्ती रोड्स परियोजनामा उपयोग गर्ने काम गरेका थिए । त्यसपछि नेपालको सडक परियोजनाहरुमा सिस्टम इन्जिनियरिङको उपयोग गर्ने प्रचलन लगातर बढेर गयो र हाल त्योबिना कामै नचल्ने अवस्थामा पुगिसकेको छ । सडक विभागलाई सिस्टम इन्जिनिरिङको अनुभव र ज्ञान बाँड्ने उनको इच्छा अभिलाषा भने अब सधैँका लागि अधुरो नै रहने अवस्थामा परिणत भएको छ । उनको समसामयिक राजनीतिमा भने खासै चासो थिएन, तैपनि उनले एकपटक सांसदको चुनाव रसुवाबाट लडेका थिए र नेपाली कांग्रेसका उम्मेदवार पूर्वआइजिपी डी।बी। लामासँग पराजित भएका थिए । नाम चलेको राष्ट्रिय राजनीतिक पार्टीहरुबाट टिकट प्राप्त गरी चुनाव लड्ने अभिलाषा उनले कहिल्यै देखाएनन् । जनजाति र समाजका तल्ला वर्गका उत्थानका लगि मात्रै चुनाव लडेको हुँ भन्ने कुरा देखाउन कै लागि उनले नाम चलेको र चुनाव जित्न सक्ने राजनीतिक दलहरुमार्फत कहिले पनि चुनाव लड्ने प्रयास गरेनन् । उनी आफ्नो सिभिल इन्जिनियरिङ पेसाप्रति अति नै इमान्दार र समर्पित भएकै कारणले पनि उनले नेपालको राजनीतिमा चुनावै लडेर भाग लिनेतर्फ ध्यान कहिले दिएनन् । आफ्नो इन्जिनियरिङ पेसा र कामप्रति उनी अति नै समर्पित रहेको कुरा फिल्ड कार्यमा खट्दा भएका केही अविस्मरणीय घटनाले पनि पुष्टी गर्दछ । त्रिशूली–सोमदाङ सडक बनाउने क्रममा सडकको रेखांकन गर्दागर्दै उनी मुख्य सर्भे समूहबाट अलग भएर घनाजंगलभित्र टाढा पुगिसकेको कुरा पत्तो नै भएन र जंगलमा नै रात परेकाले ओडारमा बसेरै रात कटाएका थिए र भोलिपल्ट बिहान मात्रै उद्दार टोलीको सम्पर्कमा आएका थिए । यो घटनाले उनको आफ्नो कामप्रति लगन कस्तो थियो भन्ने करा देखाएको छ ९०३८ सालको वास्तविक घटनामा आधारित० । यस्तै अर्को घटना गाईघाट–दिक्तेलको सडकको सर्भे कार्यमा पनि भएको पाइन्छ । अनेक जोखिम मोलेरै भए पनि सडकको रेखांकन आफ्नै आँखाले हेरी बुझी मात्र पक्का गर्ने पेसागत बानीले गर्दा भिरबाट चिप्लिएर कम्मरमा चोट लागेकाले उनलाई हेलिकोप्टर पठाएर जंगल र भिरबाटै उद्दार गर्नु परेको थियो ९०४१ सालको वास्तविक घटनामा आधारित० । सडकको सर्भेका लागि अहिले उपयोग गरिने ड्रोन सर्भे क्यामरा र टाढैबाट चम्किलो ढुंगा आदिलाई तारगेट गरी सर्भे कार्य गर्न सकिने डिजिटल टोटल स्टेसन मसिनहरु त्यतिबेला उपलब्ध थिएन र स्तरीय सर्भे डेटा प्राप्त गर्नका लागि म्यानुयल प्रयासमा बढी निर्भर पर्नु पर्ने अवस्था विद्यमान थियो । यस्ता आफ्नो पेसागत जिम्मेवारीलाई नै पूजा र धर्म मानेर त्यसमा समर्पित भएर लाग्ने इन्जिनियरहरु अब नेपाल विरलै पाइन्छन् । स्व। वरिष्ठ सिभिल इन्जिनियर स्याङ्बो एक सामान्य इन्जिनियर मात्रै थिएनन् । उनी विशेष प्रकारको प्रतिभाको धनी पनि थिए । दूरदृष्टि भएका बहुप्रतिभाशाली इन्जिनियरको श्रेणीमा उनको कामले उनलाई आफ्नो जीवन कालमा नै स्थापित गरेको थियो । निजी व्यवसाय खोल्न ठूलो जोखिम लिन सक्ने र खोलेर चलाई सफल नै पार्ने असाधरण प्रतिभा उनीसित थियो । नेपालमा रात्रि बस सेवाको प्रचलन उनको टिमले नै रेलीमाई रात्रि बस सेवाको स्थापना गरी सुरु गरेका थिए र आज त्यसैको अनुसरण गरी अनेक रात्रि बस सेवाहरु नेपालमा चलेका छन् । निजी सार्वजनिक साझेदारीको अवधारणामा काठमाडौं–तराई द्रूत मार्ग बनाउने प्रस्ताव पनि सर्वप्रथम उनले नै निर्माण तथा यातायात मंत्रालयमा पेस गरेका थिए । त्यसैगरी जलविद्युत्को विकास गर्न निजी क्षेत्रबाट चाकु खोला जल विद्युत् परियोजना आफ्नै नेतृत्वमा निर्माण गरी आँखा खोल्ने उदाहरणका रुपमा पेसकस गरेका थिए । इस्ट कन्सल्टकै संलग्नतामा आफैँले नेतृत्व गरी ताप्लेजुङ जिल्लामा पर्ने सिम्बुवा खोला जलविद्युत् परियोजनाको सर्भे लाइसेन्स कम्पनी कै नाममा लिएका थिए तर सरकारकै नीतिले गर्दा त्यो सफल परियोजना बन्न सकेन र सम्भाव्यता अध्ययनबाट नै उक्त परियोजना रोकियो । राष्ट्र विकासका लागि निजी व्यवसायको अहम् भूमिका हुन्छ भन्ने कुरा सरकारका नीति निर्माता र आमजनतालाई बुझाउनकै निमित्त उनले धेरै जोखिम उठाएरै भए पनि उदाहरणीय काम गरी पछिल्लो पुस्तालाई सहि र गलत बाटो पहिचान गर्न सक्ने ज्ञान दिएर सधैँका लागि बिदा भएका छन् । उनी ६ वर्ष पहिलेदेखि नै मुटुको समस्याबाट पीडित भएकाले आफ्नो शरीरमा पेस मेकर धारण गरी सामान्य जीवनयापन गरेका थिए तर गत वर्षको जाडो यामको विदा मनाएर फर्केपछि भने निकै बिरामी परेका थिए । बिस्तारै मेडिकल जाँचबुझ र परीक्षण गर्दागर्दै उनको फोक्सोमा क्यान्सरको पहिलो स्टेजको संक्रमण पत्ता लाग्यो र त्यसको उपचार काठमाडौंमा नै सुरु भयो । क्यान्सरको उपचार हुँदाहुँदै विस्तारै मेरुदण्ड र ढाडको हड्डीमा पनि क्यान्सरको संक्रमण फैलिएको पत्ता लागेपछि केमोथेरापीको साथसाथ रेडिएसन थेरापी पनि सुरु गरियो । जस्ले उनी धेरै कमजोर भए र अक्सिजनको साहराले मात्र सास फेर्न सक्ने भएको पाइयो । अब नेपालमा उपचार हुँदैन र दिल्ली लगेर उपचार गर्ने परिवारिक सल्लाह एवं तयारी हुँदाहुँदै उनलाई रोगले च्यापो र आकस्मिक उपचारका लागि हेम्स हस्पिटल मन्डिखाटारमा भर्ना गरियो । त्यहाँ नै वरिष्ठ इन्जिनियर लामाले जीवनको अन्तिम सास लिए र नाश्वर यो संसारलाई त्यागेर २९ असोज ०७६ का दिन दिउँसो १२ बजे उनै सर्वशक्तिमान परमात्माको शरणमा पाले । उनका लागि इस्ट कन्सल्ट प्रा।लि। नै परिवार थियो, त्यसैले जीवनको अन्तिम क्षणसम्म पनि इस्ट कन्सल्ट प्रा। लि। कै चिन्ता लिँदै आफूले भ्याएको र सकेसम्मको प्राविधिक, आर्थिक र व्यवस्थापकीय सहायता एवं सल्लाह सुझाव दिन छाडेनन् । त्यसका लागि उनीप्रति हामी इस्ट कन्सल्ट प्रा। लि। परिवार एकदमै आभारी छौँ र उनले देखाएको बाटोमा हिँडेरै इस्ट कन्सल्टको गरिमालाई अगाडि बढाउने प्रण पनि गर्दछौँ । यतिबेला उनको भौतिक शरीरलाई अग्नीले भष्म तुल्याएर पञ्चतत्वमा विलिन गराइसकेको छ, त्यसैले हामीसित अब उनको अमरगाथाहरु मात्रै जीवित छन् । आत्मा कहिले मर्दैन भन्ने विश्वासका साथ उनको सोही अमर आत्मालाई साक्षी मान्दै उनले देखाएको बाटोमा नै हिँडेर उनको सपनालाई पूरा गरी छाड्ने प्रण गर्दछौँ । यसरी नै उनको दिवंगत आत्माले चिरशान्ति पाउने दृढ विश्वास हामीलाई छ । उनको असामयिक निधनबाट उनको निकटतम् परिवारजनका साथसाथै प्रत्यक्ष रुपले इस्ट कन्सल्ट प्रा।लि। परिवार र अप्रत्यक्ष रुपले पूरा नेपाल राष्ट्रलाई नै अपूरणीय क्षति भएको अनुभव गर्दै यस दुःखद घडीमा सबै शोक सन्तप्त परिवार एवं सम्बन्धित संस्थाहरु र व्यक्तिहरुमा समवेदनाको साथै धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दै उनै सर्वशक्तिमान परमात्मासित उनको दिवंगत आत्मालाई चिरकालसम्म शान्ति प्राप्त होस् भन्ने प्रार्थनासहित उनको काम र योगदानले उनलाई नेपालको इन्जिनियरिङ पूर्वाधार विकासको क्षेत्रमा सदासर्वदा अमर बनाएर राख्ने पूर्णविश्वास व्यक्त गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *