ट्रेकिङ नै नेपालको पर्यटन विकासको आधार

अन्तरवार्ता पर्यटन प्रमुख

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको छ । प्रचार प्रसारमा पनि व्यापकता दिइएको छ । पर्यटकीय क्षेत्रको कुरा गर्दा नेपालमा ट्रेकिङ पर्यटन नै आकर्षक मानिन्छ । चीनका राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणपछि चिनियाँ पर्यटकको आगमन बढिरहेको छ । तथ्यांकमा अनुसार अक्टोबर महिनामा मात्र १५ हजार ३७ जना चिनियाँ नागरिक नेपाल भ्रमणमा आए । यो संख्या अक्टोवर २०१८ को तुलनामा ११।५ प्रतिशत बढी हो । यस महिनामा भारतीय पर्यटक भने १२ हजार ७ सय ६ जना मात्र आए । अहिले संसारभर चिनियाँ पर्यटकको चहलपहल बाक्लो छ । अक्टोबर महिनामा कूल पर्यटक १ लाख ४३ हजार ८ सय ७० जना आए । अघिल्लो वर्ष यसै महिनामा १ लाख ३० हजार ७ सय ४ जना पर्यटक नेपाल आएको तथ्यांक रहेको छ । भ्रमण वर्ष प्रारम्भ हुनु दुई महिना अगाडिसम्मको कूल पर्यटक आगमन उत्साहजनक छैन । जनवरीदेखि अक्टोवर २०१९ सम्मको एकीकृत तथ्यांकअनुसार प्रतिमहिना औसत १ लाख पर्यटकसमेत भित्रन सकेका छैनन् । अध्यागमन विभागको तथ्यांकलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार १० महिनामा कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल आए । यो अघिल्लो वर्षको १० महिनाको तुलनामा मात्र ८ प्रतिशतले बढी हो । नेपाल भ्रमण वर्ष २०२० र ट्रेकिङ व्यवसायमा युवाहरुको आकर्षण र नेपालको पर्यटन विकासका आधारहरु के के हुन ? लगायत विषयमा आधारित भई टे«किङ व्यावसायी एवं अप्सरा ग्रुपका सञ्चालक कृष्णहरि खत्रीसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको पर्यटनमा ट्राभल क्षेत्रले कसरी मद्दत गरेको छ ?
नेपालमा ट्राभल क्षेत्रमा आकर्षण बढिरहेको छ । पर्यटन विकाससँगै ट्राभल क्षेत्रको पनि विकास हुने भएकाले यसतर्फ आकर्षण बढिरहेको हो । मुख्यगरि युवा व्यावसायीहरु यसमा बढी आकर्षण हुन्छन् । यसले एक व्यावसायीलाई मात्र नभई अन्य बेरोजगार युवाहरुका लागि रोजगारीको बाटोसमेत खुल्ला गर्ने भएकाले आकर्षण बढिरहेको छ । यति मात्र होइन । नेपालको पर्यटनलाई अहिलेको अवस्थासम्म पनि यही क्षेत्रले ल्याएको हो । सरकारले सहजीकरणको भूमिका खेलिरहेका सहज रुपमा हामीले काम गर्न पायौँ । ०७२ सालको भूकम्पका कारण केही समय नेपालमा पर्यटनको आगमन अलिक कम भएको थियो । अहिले पुनः बढिरहेको छ । त्यसमा पनि गत वर्षदेखि खास गरेर अझ बढी पर्यटक नेपाल आउने गरेको पाइन्छ । पर्यटन व्यवसायीहरुले समेत राम्रो रहेको धारणा दिने गरेका छन् ।

कृष्णहरि खत्री
प्रबन्ध निर्देशक
आप्सरा ग्रुप (आप्सरा ट्रेक्स, अप्सरा होलिडेज र आप्सरा होम स्टे)

० नेपालको सडक बाटोघाटोको स्थिति कस्तो छ ? नेपालको बाटोघाटो पर्यटक सुहाउने खालको छ त ?
हामी संरचना निर्माणको हिसाबले एकदमै पछाडि परेका छौैँ । विकास निर्माणका कामहरु भइरहेको छ । तर, उल्लेख्य मात्रामा विकास हुन सकेको अवस्था छैन । यसैले विकास निर्माणको हिसाबले पनि संरचना पुनर्निर्माणमा विषेश जोड दिन आवश्यक देखिन्छ । यसैगरि सडक निर्माणमा एकदमै ढिलाइ हुने गरेको पाइन्छ । अधिकांश पर्यटकीय क्षेत्रहरुमा कठिनाइ मोलेर जानु पर्ने बाध्यता रहँदै आएको छ । यस्तोमा पर्यटकहरु नेपाल आउन डराउने गर्छन् । सडक दुर्घटनाका घटनाहरु दिनहुँ वृद्धि भइरहेको पाइन्छ । यसैले सरकारले यसमा पनि ध्यान दिन आवश्यक देखिन्छ । तर, सडक र बाटोघाटो पहिलेभन्दा धेरै सुधार भएको अवस्था छ ।

० नीतिगत समस्या व्यावसायीको ठूलो गुनासो रुपमा रहँदै आएको छ । ट्राभल क्षेत्रमा त्यो समस्या छ ?
त्यस्तो नीतिगत समस्या केही छैन । सरकारी नियमहरुको पालना गर्दा अलिकति समस्याको सामना त गर्नै पर्छ । तर, ठूलो समस्याको सामना भने गर्नु परेको छैन । केही सरकारी नियमहरुले व्यवसायमा समस्या छ । यस विषयमा हामीले सरकारसँग कुरा गरेका छौँ ।

० नेपाल भ्रमण वर्ष २०२० लाई कसरी मद्दत गरिराख्नु भएको छ ?
नेपाल भ्रमण वर्ष ठूलो राष्ट्रिय अभियान नै हो । यसलाई सफल पार्न हामीले ठूलो भूमिका निभाएका छौँ र निभाउन सक्छौँ । सरकारले सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाएको थियो । यसैगरी २०११ मा पनि नेपालले भ्रमण वर्ष मनाएको छ । यसमा हामी सबै हिसाबले जोडिएका छौँ । आन्तरिक एवं बाह्य सबैखाले पर्यटकलाई हामीले सहज रुपमा सेवा प्रदान गरिरहेका छौँ । यसलाई सफल बनाउन पर्यटन व्यवसायसँग सम्बन्ध राख्ने विभिन्न संघसंस्थाहरुको उत्तिकै योगदान हुनेछ । यस विषयमा अहिले विभिन्न खाले छलफलहरु भइरहेका छन् । सबै व्यवसायीहरु आफूले गर्नुपर्ने सहयोग गर्छौँ भन्ने प्रतिबद्धतासमेत आइसकेको छ । विषेशगरि हान, होटल एसोसियसन, होम स्टे एसोसियसन र ट्रेकिङ एजेन्सी एसोसियसनहरुले विभिन्न खालका निर्णयहरु लागिरहेको देख्न पाइन्छ । सरकारले प्याकेजिङको कुरामा केही छुट गर्ने वातावरण सिर्जना गरेको खण्डमा र करको दायरा एकीकृत गरेको खण्डमा हामीलाई पर्यटन वर्ष सफल पार्न अझ सहयोग हुने थियो । यसरी हेर्दा सबै किसिमले नेपाल भ्रमण वर्षलाई सहयोग गरेको पाइन्छ । यहाँको प्रतिकूल मौसम र आकर्षक दृष्यको अवलोकन गर्नका लागि यत्तिकै पनि पर्यटकहरु आउन चाहन्छन् । एउटा मात्र समस्या हो, पूर्वाधार विकास । यो पनि चाँडै पूरा गर्न सरकारले तीव्र रुपमा काम गरिरहेका हामीले देख्न सक्छौँ ।

० अहिले पर्यटकको आकर्षण होम स्टेतर्फ बढ्दै गइरहेको छ । गाउँहरुको अवस्था हेर्दा कस्तो ?
होम स्टे आकर्षण मात्र होइन । अहिलेको आवश्यकता पनि हो । अझै पनि पर्याप्त मात्रामा होम स्टेहरु निर्माण हुन सकेका छैनन् । काठमाडौं र त्यसको नजिकै रहेका जिल्लाहरुमा होम स्टे निर्माण भइरहेको भए पनि अझै दूरदराजमा होम स्टे निर्माणले तिव्रता पाउन सकेको छैन । अहिले काठमाडौंमै पनि होम स्टेहरु सञ्चालित छन् । ठमेलकै वरिपरि थुप्रै होम स्टेहरु निर्माण गरिएको हामीले देख्न सक्छौँ । यसैले सहरका होम स्टेहरु बन्द गरिनु पर्छ । यसले स्थानीय स्तरमा निर्माण गरिएका होम स्टेप्रतिको विश्वास टुट्न सक्छ । विस्तारै पूर्वाधार निर्माण हुँदै गरेको अवस्थामा सहरमा व्यवस्थित रेस्टुरेन्टसहितहरु निर्माण गर्न आवश्यक छ ।

० नयाँ ठाउँमा विस्तारको सम्भावना कति छ ?
नेपाल भर्जिन कन्ट्रि हो । यहाँ सम्भवना धेरै छ । अझ पर्यटन क्षेत्रमा बढी नै देख्न पाइन्छ । यहाँका हरेक डाँडाकाँडाहरु पर्यटकीय गन्तव्यलाई हुन् । हरेक खोलानालालाई पर्यटकीय गन्तव्यसँग जोड्न सकिन्छ । अहिले उपल्लो मुस्ताङ पर्यटकको आकर्षण बढ्दो छ । आन्तरिक एवं बाह्य सबैखाले पर्यटकहरु त्यस क्षेत्रमा पुग्न चाहन्छन् । अझै त्यहाँ पर्यटन आकर्षण बढाउने संरचना निर्माण गर्न सकेको खण्डमा पर्यटकको रोजाइको पहिलो गन्तव्यको रुपमा त्यसलाई हामीले विकास गर्न सक्छौँ । यस्ता नेपालका धेरै ठाउँहरु छन् । जो पूर्वाधारको पर्खाइमा छन् ।

० पूर्वाधार निर्माण गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
नेपाल आउने पर्यटकहरु अधिकांश ट्रेकिङ गर्न चाहन्छन् । त्यसको सुविधा सहज बनाइदिनुपर्छ । सरकारले आयातमा भन्दा पनि सर्वसाधारणको सीप र क्षमताको आधारमा स्थानीय उत्पादनकै प्रयोगले राम्र्रा वस्तुहरु निर्माण गर्न सकिन्छ । सुरक्षामा उच्च सतर्कता राखेर काम गर्न दिनुपर्छ । यसमा दुर्घटना हुने सम्भावना पनि हुन्छ । यहाँको पर्यटन यस्तै साहसिक पर्यटकीय क्षेत्र हो । यसैले सरक्षा व्यवस्थाको ग्यारेन्टीजस्ता कुरामा ध्यान दिनुपर्छ । नेपालका सडकहरु साह्रै साँघुरा हुने भएकाले फराकिला पारिन आवश्यक छ । ट्रेकिङ जाँदा एउटा डाँडाबाट अर्कोमा पार गरेर जान सहज रुपमा घुम्दै फिर्दै घुमाउरो बाटोमा सफा खोला नाला र नदीहरु निर्माण गर्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।

० पर्यटन क्षेत्रमा पहिले र अहिलेमा के परिवर्तन पाइन्छ ?
धेरै परिवर्तन देख्न सकिन्छ । पहिले हामी हिँड्ने बाटोमा सहजै जंगली जनावर र चराचुरुंगी देख्न पाउथ्यौँ । अहिले त्यसका लागि लामो दूरीको यात्रा आवश्यक छ । घन्टौँ पैदल हिँडेर जंगल छिचोल्दा पनि जनावहरु हामीले देख्न पाउँदैनौँ । वन्यजन्तुको संरक्षणमा पनि ध्यान दिइनुपर्छ । स्थानीय संस्कृतिको जगेर्नाको आवश्यकता पनि उत्तिकै छ । अहिले त्यस्तो देख्न कहीँ पनि पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *