नेपालको राजतन्त्र र उसको सक्रिय नेतृत्वमा चलेको पञ्चायती राजनीतिक व्यवस्थाले नेपाल राष्ट्रलाई एक आत्मनिर्भर राष्ट्र बनाउनका निमित्त उद्योगहरु खोल्न र चलाउनमा ध्यान केन्द्रित गरी सोही अनुसार राष्ट्रको नीतिहरु बनाएर कार्यन्वयन गरेका थिए । त्यो बेला नाम कमाएका उद्योगहरुलाई दलहरुको सरकारले चलाउन सकेन त्यसैले केही उद्योग प्रतिष्ठानहरु बेचेर खाए भने केहीलाई अलपत्र पारी अहिलेसम्म खण्डहर बनाएर राखेका छन् । दलहरुबाट बनेको सरकारहरुले कुनै ठोस निर्णय गर्न नसक्दा पूराना उद्योगहरु न बन्द गरिएको छन् न खोलेर नै चलाउने व्यवस्था मिलाएका छन् । दलहरुका लागि नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउन सक्ने आधारभूत उद्योगहरु कुकुरलाई घ्यू नपचेकोजस्तो मात्र भएको छ । दलहरुले नयाँ उद्योगहरुको स्थापनामा कुनै चासो देखाएको छैन । उनीहरुले वैदेशिक रोजगारी र पर्यटन व्यावसाय नै उद्योगहरु भन्दा उत्तम मान्दै आएका छन् । खेतीपातीलाई पनि दलहरुले तुच्छ मानेका छन् त्यसैले राष्ट्रको खाद्य सुरक्षा र आपूर्तिका लागि विदेशबाट आयात गर्दै जाने नीति लागू गरेका छन् । नेपालको पर्यटन व्यवसायबाट नेपाललाई हुने आम्दानीभन्दा नेपाली पर्यटकहरुले विदेश भ्रमणमा गर्ने खर्च निकै बढी छ तैपनि मानवतस्करहरुको प्रभावमा परेको दलहरुको सरकारले नेपालको पर्यटन विकासलाई ठूलो महत्व दिन छाडेको छैन । अहिले चलेको कोरना कालमा नेपालले पर्यटन विकासमा गरेको लगानी सबै डुब्दै छन् । पर्यटनमा निर्भर भएको होटेलहरुदेखि लिएर हस्पिटालिटी सेवामा लागेका सबै संस्थाहरुले हावा खाएका छन् । सबैभन्दा ठूलो मार होटल व्यवसायमालागेका र हावाइ यातायात सेवा दिने संस्थाहरुलाई परेको देखिन्छ । वैदेशिक रोजगारी घटेको भए पनि बन्दै भने भइसकेको छैन । नेपालका राजनीतिक दलहरु सत्ता प्राप्त गरेपछि नेपाल राष्ट्रलाई बलियो होइन कमजोर बनाउने अभियानमा लागेका छन् । विदेशीहरुको लहैलहैमा लाग्ने र आफ्नो दिमागको प्रयोग नगर्ने वयोवृद्ध शीर्ष नेताहरु अहिले नेपालका लागि राजनीतिक समाधान निकाल्नेभन्दा पनि नेपाल राष्ट्रको समस्या बढाउन खेलमा लागेका छन् । नेपाल राष्ट्रका लागि कुन विकास चाहिन्छ र कुन अहिले जरुरी छैन भन्ने कुरासम्म पनि सत्तामा बसेका दलका नेताहरु महशुस गर्न सकिरहेको अवस्था छैन । राष्ट्रको आम्दानीका स्रोतहरु कम छन् त्यसैले पूर्वाधार विकासका लागि चाहिने लगानी राष्ट्रिय ऋण लिएर पूरा गर्नु पर्ने आर्थिक अवस्था अहिले नेपालमा विद्यमान छन् । यस्तो बेलामा राष्ट्रिय खर्च वा लगानी गर्दा मितव्ययिता अपनाउन जरुरी हुन्छ भने क्रिटिकलपाथ अनुसारको विकास पूर्वाधारमा मात्रै लगानी गर्न सके राम्रो हुन्छ । दलहरुले विकासको नाममा विदेशीको दबाबमा परी अहिले नेपालका लागि जरुरी नभएको ठूला परियोजनाहरुमा लगानी गरेका छन् जुन लगानीबाट राष्ट्रको आम्दानी बढ्नेभन्दा पनि घट्ने देखिन्छ । चाँडै उद्देश्य पूरा नहुने पूर्वाधार विकासका परियोजनाहरुबाट राष्ट्रिय आम्दानी बढ्दैन तर वित्तिय दायित्व र खर्च भने लगातार बढेर जाने गर्दछ । यस प्रकारको आर्थिक कुचक्रमा नेपाल राष्ट्रलाई अदूरदर्शी दलका नेताहरुले जाक्दै लगेका छन् । दलहरुले अहिलेसम्म जथाभावी पूर्वाधार विकासमा लगानी गरेकाले राष्ट्रको वित्तिय दायित्व र खर्च राष्ट्रको आम्दानीले धान्नै नसक्ने गरी बढेको र राष्ट्रले साधारण चालु खर्च पूरा गर्नकै लागि पनि विदेशीसित ऋण काढ्नु पर्ने भएको छ । ऋण गरी गरी घ्यू खाने बानी परेका दलका नेताहरुले लाजै नमानी राष्ट्रको नाममा भटाभट विदेशीहरुसित ऋण लगातार लिँदै गएका छन् । अर्कोतिर उनीहरुले नेपाली जनताको टाउकोमा अनेक करको भारी थप्दै लगेका छन् । दलका नेताहरुले उद्योग धन्दा खोलेर चलाउनको साटो आयात व्यापारमा ठूलो जोड लगाएका छन् । उद्योग धन्दाको विकासमा लगाउनु पर्ने राष्ट्रको महत्वपूर्ण लगानी दलहरु आफैले काँधमा बोकेका व्यापारीहरुलाई विदेशबाट सामान आयात गर्न दिएका छन् र त्यसबाट व्यापारीहरुले अकुत नाफा कमाउँदै आएका छन् । व्यापारीहरुले आयात व्यापारमा गरेको लगानी तीन महिनामा नै दोब्बर हुने हुँदा उद्योगमा लागेकाहरु पनि अहिले आयात व्यापारतिर लागेको भेटिएका छन् । आयात व्यापारमा सामानको मूल्य आफैँले तोक्ने छुट भएकाले र फर्जी कागजात पेस गरी भ्याट र भन्सार करसमेत कम गराउन सकिने सुविधा दलहरुको सरकारले व्यापारीहरुलाई दिएको हुँदा अहिले नेपाल राष्ट्र विदेशीको व्यापारिक उपनिवेशजस्तो देखिन थालेको छ । नेपालमा उद्योगमा लगानी गर्नेहरुलाई भन्दा डिपार्टमेन्टल स्टोर्सहरु खोली आयात व्यापार गर्नेहरुका लागि दलहरुको सरकारले अनेक सहुलियत दिएका छन् । यस्तो सहुलियतहरुमा कर छल्नेदेखि लिएर भ्याट छल्नेसम्म पर्दछन् र दलका नेताहरुलाई अप्ठ्यारो परेमा केहि चन्दा दिएर वा दान दिएर सजिलै व्यापारीहरु कारबाहीबाट बच्ने गरेका छन् । त्यसैले नेपाली उद्योगीहरु उद्योगमा लगानी गर्नबाट सबै हतास भएका छन् । धेरे झन्झट भएको, नाफा कम भएको, मजदुर आन्दोलन लगातार हुने, दलका नेताहरुलाई लगातार चन्दा दिनु पर्ने उद्योगहरु खोली टाउको दुखाउनुभन्दा आयात व्यापारमा लगानी गरी अकुत नाफा कमाउनेतिर नेपालका स्थापित उद्योगपतिहरुको पनि ध्यान मोडिएका छन् । नेपालमा विदेशी लगानीकर्ता उद्योग खोल्नका लागि लगानी बोकेर आउनेवाला छैन । उनीहरुलाई थाहा छ नेपालमा लगानी गर्नु भनेको पैसा डुबाउनु बराबार हो । नेपालमा चलेको भ्रष्टाचार र अपराधले गर्दा विदेशी लगानी सजिलै र सहजै नेपालमा आउँदैन । नेपालमा लगानी गर्ने भनेको उही पञ्चायतकालमा नेपाल छिरेको भारतीय मूलका नेपाली उद्योगपतिहरु नै हुन् । उनीहरु ठूलो लगानी बोकेर नेपाल पसेका होइनन् तर उनीहरुसित नेपालका भ्रष्टाचारी र अपराधी दलका नेताहरु र सरकारी अधिकारीहरुलाई रिझाउन सक्ने प्रतिभा भएको हुँदा नेपालकै बैंकहरुबाट ऋण काढेर नयाँ उद्योगहरु स्थापना गर्नका लागि लगानी जुटाउन सक्ने क्षमतावान् छन् । यस्तो अनुभवी पञ्चायतकालमा नेपाल छिरेका उद्योगीहरु पनि बिस्तारै व्यापार र राजनीतितिर लागेका छन् । केही उद्योगपतिहरु दलहरुका नेतालाई घुस खुवाएर नेपालको सांसद र मन्त्रीसम्म बन्न सफल भएको पनि देखिन्छ । वास्तवमा नेपालमा हाल खुलेका धेरै निजी बैंकहरुमा यिनै उद्योगपतिहरुको अग्रता रहेका छन् । त्यसैले यो समूहका गिनेचुनेका १० उद्योपतिहरुको नियन्त्रणमा नेपालको पूरै अर्थतन्त्र चलेको र उनीहरुले चाहेमा नेपाल राष्ट्रको अर्थतन्त्रमा छिनमै संकट ल्याउन पनि सक्छन्् । राजतन्त्र र उसको नेतृत्वमा चलेको पञ्चायत राजलाई दलहरुले नेपाली जनतालाई उठाएर फाल्न सफल भएपछि नेपाल राष्ट्रको ठोस विकास दलहरुले गर्न सकेको छैन । दलहरु कहिले विदेशीले फालेको जालमा परेका छन् भने कहिले नाफाखोर दलाल व्यापारी, बिचौलिया, दलाल माफियाहरुको जालमा परेका छन् । भ्रष्टाचार, अपराध र कमिसनको कुचक्रमा नराम्रोसित फसेका दलका नेताहरु र राजनीतिक कार्यकर्ताहरुले विकासको असली रुप नै कहिले चाल पाउन र अनुभव गर्न सकेन । कमिसनको पछाडि ताँती लागेका दलका नेताहरु र उनीहरुका राजनीतिक कार्यकर्ताहरु स्वयम् लोभलालच र अयासी जीवनको रौनकमा रमाउन थालेकाले झन् अँध्यारोमा पर्दै गए र उज्यालोतर्फ कहिले जान सकेन । फलस्वरुप दलका नेताहरु र राजनीतिक कार्यकर्ताहरुकै कारण राष्ट्रको विकास निर्माण र समृद्धिलाई भ्रष्टाचारी र अपराधीहरुले झन्झन गाँज्दै लगेका छन् । भ्रष्टाचारी र अपराधीहरुले नेपालको विकासलाई विनासमा रुपान्तरण गर्न सफल भएका छन् भने दलका नेताहरु त्यसैलाई विकास भनी प्रचार प्रसार गर्न बाध्य भएका छन् । यस्तो विकासले नेपालको विकास हुन सक्दैन र नेपाली जनतालाई समृद्ध पनि तुल्याउन सक्दैन । विकास भएको छ तर राष्ट्रको होइन, नाफाखोर दलाल व्यापारी माफियाहरुको विकास भएको छ । समृद्धि आएको छ, नेपाली जनताको होइन दलका नेताहरु र उनीहरुको राजनीतिक कार्यकर्ताहरु समृद्ध भएका छन् । राजतन्त्र र पञ्चायती व्यवस्थाको विरुद्धमा दलहरुलाई साथ दिएका नेपाली जनताको आँखा अहिले खुलेको छ । भेडाको खाल ओढेका ब्वँसा दलका नेताहरु र उनीहरुको राजनीतिक कार्यकर्ताहरुलाई नेपाली जनताले बल्ल चिन्दै छन् । राष्ट्रको उद्योग धन्दा र खेतीपातीलाई दलका नेताहरु र उनीहरुका राजनीतिक कार्यकर्ताहरुले मिलेरै सलहले रुख बिरुवा खाएझैँ खाएर ठुटा पारी दिएका छन् । नेपाली जनता यति बेला चोक्टा खान गएको बूढी झोलमा डुबेर मरी भनेजस्तो अनुभव गर्दै छन् । दलहरुले नेपालको राजकीय सत्तामा बसेको तीन दशक नाघे पनि उनीहरुले नेपालमा के विकास गरेका छन् भनी हेर्नको लागि अझ पनि सिला खोज्नु पर्ने अवस्था कायम रहेको छ । दलको नाम कम्युनिस्ट राखेर पुँजीवादी नीतिअनुसार काम गर्ने नेताहरु नेपालमा नै छन् । सत्तामा पुगेपछि कुन कम्युनिस्ट ? कुन कांग्रेस ? छुट्याउन सकिँदैन । फरक काम गरी फरक पहिचान बनाउन दलका नेताहरुले सकेको छैन । जुन जोगी आए पनि कानै चिरेका भनेझैँ जुनसुकै दलका नेताहरु पनि कोही भ्रष्टाचारी र कोही अपराधी नै छन् । दलहरुले नेपालमा गरेको विकास हावादारी छन् । उनीहरुले गरेकै विकासको कारणबाट नेपालमा खोला पहिरो र डुबानजस्ता विपत्ती आएका छन् र धेरै जनधनको क्षति राष्ट्रले पत्येक वर्ष बेहोर्नु परिरहेको हुन्छ । यो आर्थिक वर्षमा मानवीय विकासले ल्याएको निकै धेरै विपत्तिहरु नेपाली जनताले भोग्दै छन् । प्रत्येक आर्थिक वर्षको असार महिनामा गरिने दलहरुको असारे विकासले एकातिर नेपालको विनास गरेको छ भने अर्कोतिर नेपालमा भ्रष्टाचार र अर्थिक अपराध खुबै बढाएको छ । दलहरुले यसरी नै केही वर्ष नेपालको शासन व्यवस्था चलाउन पाउने हो भने नेपाल कंगाल मात्र होइन कमजोर भएर विदेशीको थिचोमिचोमा पर्न सक्ने खतारा धेरै नै बढाएको देखिन्छ । विकासको नाममा दलका नेताहरुले राष्ट्रको प्राकृतिक वातावरणमा गरेको छेडछाड र हस्तक्षेपले नेपालमा अपूर्णीय जनधनको क्षति भएका छन् । गाउँको मुखिया ने बाटो हगुवा भनेझैँ दलका शीर्ष नेताहरु नै भ्रष्टाचारीहरु र अपराधीहरुको ढाकछोप गर्नमा उताउलो भएर लागेको देखिएकाले दलहरु नै नेपालको विकास होइन विनास गर्न लागेको पुष्टी भएको छ ।