चोखा छैनन् पूर्वसचिव उपाध्यय

प्रशासन बिबिध समाचार

केही समयअघि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो । तस्बिर थियो सेतो नम्बर प्लेटको (सरकारी) बाइकमा युवायुवती सवार रहेको । र, युवतीको नाङ्गो ढाड देखिएको । बाइकमा सवार दुबै गल्छी गाउँपालिकाका कर्मचारी थिए । जो सिटरोल बनाउने सिलसिलामा गल्छीबाट निजामती किताबखानातिर उक्लँदै थिए ।
यो तस्बिर भाइरल गराइदिने व्यक्ति थिए पूर्वसचिव भीम उपाध्याय । अहिले पनि उनै सचिवको सामाजिक सञ्जाल चियाउने हो भने कुन कर्मचारीले कस्तो सवारी चढ्छन् ? कति मूल्यको सवारी हो ? यस्तै विषयबस्तु बढीभन्दा बढी पोस्ट भएको भेटिन्छ । आफूलाई सदाचारी देखाउन खोज्ने उपाध्याय पदमा हुँदा कतिसम्म सदाचारी थिए त ?
खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट ०७४ भदौ १२ मा अवकाश पाएका उपाध्याय निजामती प्रशासनका ढोँगीका रुपमा आलोचित छन् । जागिरे अवधिको अन्त्यमा खानेपानी मन्त्रालयका सचिव भएका उपाध्यायलाई नजिकबाट नाडी छामेका र सँगै काम गरेका खानेपानीकै एक कर्मचारीले भने आफू सचिव हुँदा एउटा गाडी छोरी ज्वाइँलाई दिएका थिए । तीन वटासम्म गाडी उनले प्रयोग गरेका खानेपानीका कर्मचारीहरुले भुलेका छैनन् ।
सचिवबाट ०७४ भदौ १२ गते अवकाश पाएका उपाध्यायले महिनौँसम्म आफूले प्रयोग गर्दै आएको गाडी नबुझाएका कारण नयाँ आएका सचिव कृष्णराज बिसीले अर्कै सवारीको ब्यवस्था गरेका थिए । अहिले मोटरसाइकलको पछि लागेका उपाध्याय आफू सचिवबाट रिटायर्ड भएको महिना दिनसम्म पनि मन्त्रालयको गाडी फिर्ता नगरेको चाहिँ अहिले कसरी भुल्न सक्नुभएको होला ? खानेपानी मन्त्रालयका एक उपसचिवले सुनाए ।
त्यसो त उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको एउटा प्रोजेक्ट डोलीडारको महानिर्देशक हुँदा १८ वटा सवारीसाधन दुरुपयोगमा मुछिएका थिए । उपाध्यायको जागिरको सुरुवात इन्जिनियरमा खानेपानी विभागबाट, डिई भएपछि डोलिडारको महानिर्देशक भएका हुन् । उनी आरआरआरजस्तो अर्बौँको प्रोजेक्टको प्रमुख भएका थिए । जुन बेला उनी दातृनिकायका जे जस्ता सर्त पनि मानेर विदेश भ्रमण भनेपछि हुरुक्कै हुने गर्दथे । खानेपानी मन्त्रालयको सचिव हुँदा एक आयोजनाबाट निम्तो माग्न लगाएर पत्नी ललितासहित उनी अष्ट्रेलिया सयर गरेको विषयमा राष्ट्रिय मिडियामै चर्चाको विषय बनेको थियो । थाइल्यान्डको राजधानी बैंककमा जुनियर कर्मचारीहरु जानुपर्ने कार्यक्रममा उनीहरुको नाम काटेर तत्कालीन महानिर्देशक उपाध्याय र जीवनकुमार श्रेष्ठ पुगेका जस्लाई अख्तियार दुरुपयोग भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचेत गराएको थियो । अहिले सदाचारी देखिएका भीमका यस्ता बदमासीहरु खोज्ने हो भने धेरै भेटिने कर्मचारीहरु नै सुनाउँछन् ।
मेलम्ची खानेपानीको विभिन्न आयोजनाका गाडी तत्कालीन खानेपानी मन्त्री महेन्द्र यादवदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालका आफन्तसम्मलाई गाडी दिएका थिए । उनले वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नियुक्ति हुनका लागि तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई समेत सहरी विकास मन्त्रालयअन्तर्गतको प्राडो दिएका अरुले भुले पनि कर्मचारीहरुले चाहिँ भुलेका छैनन् ।
अहिले पनि भीम सरकारबाटै पेन्सन थाप्छन् र सरकारविरुद्ध बिषवमन गर्दै छन् । तर पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीका विरुद्ध उनी केही लेख्दैनन् । कारण हो, उनलाई नेकपाका अध्यक्ष दाहालकी बुहारी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले विज्ञ सल्लाहकारमा नियुक्त गरेकी छन् । उपाध्याय दश महिनाअघि मात्र विज्ञ सल्लाहकार नियुक्त भएका हुन् । ०७६ भदौ ५ मा मन्त्रीस्तरीय निर्णय गरी विज्ञ सल्लाकार नियुक्त गरिएको थियो । पत्र भने ०७६ भदौ ८ मा दिइएको थियो । मेलम्ची खानेपानी आयोजनाको बाँकी कार्य सम्पादन गर्न उनीसहित पूर्वसचिव हरिराम कोइराला, बीरेन्द्रबहादुर देउजा, सुमन शर्मा र दीपेन्द्रनाथ शर्मालाई विज्ञ नियुक्त गरिएको थियो । तर उपाध्यायसहितको विज्ञ समूह नियुक्त गरे पनि मेलम्चीको पानी ०७४ मा काठमाडौंका घर घरमा धारामा आउँछ भने पनि ०७७ लागिसक्दा पनि अत्तोपत्तो छैन । यिनै सल्लाहकारहरुले गतिलो सल्लाह दिएको भए सायद मेलम्चीको पाइपलाइनभित्रै परेर एक जना इन्जिनियरले अकालमा ज्यान गुमाउनु पर्ने थिएन होला । तामाकोसी शन्देशस साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *