कसको कारणले बन्दै छ काठमाडौं उपत्यका कोरोना महामारीको तातो कराई ?

लेख वित्त शिक्षा/स्वास्थ समाचार

कोरोना संक्रमितबाट मर्नेको संख्या ७ सय पुग्न थालेको छ । यसैगरी कोरोना संक्रमितको संख्या पनि बढेर एक लाख २० हजार पुग्ने स्थितिमा छ । सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजारको हाराहारीमा पुग्दै छ । कोरोनाको कारण ज्यान गुमाउनेदेखि कोरोनाबाट संक्रमित हुने ६० प्रतिशतभन्दा बढी व्यक्ति राजधानी काठमाडौंका रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना महामारीको हट स्पट मात्र होइन, तातो कराई समेत बन्दै गएको छ । कोरोना महामारी चौँथो चरणमा प्रवेश गरेर समुदायमा पुगेको निष्कर्ष स्वाथ्यविद् तथा चिकित्सकहरूले निकाल्न थालेका छन् । महामारी चौँथो चरणमा प्रवेश गर्नु भनेको हरेक घर र कार्यालयमा पुगेको स्थिति हो भन्ने भनाइ स्वास्थ्यविद्हरूको रहेको छ । कोरोना महामारी समुदायमा प्रवेश गरेकै कारणले गर्दा हरेक दिन कोरोना मर्ने र संक्रमितको हुनेको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
स्वाथ्य मन्त्रालयको तर्फबाट केही समय अगाडि प्रवक्ता डा.जागेश्वर गौतमले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेपछि मुलुकको भ्यन्टिलेटर र आइसियुले थाम्न नसक्ने चेतावनी दिँदै २५ हजार सक्रिय कोरोना संक्रमितको संख्या नाघेपछि लकडाउन गर्नु पर्छ भनेर स्वाथ्य मन्त्रालयले सरकारलाई सिफारिस गरेकोसमेत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले सार्वजनिक रूपमा बताएका थिए । तर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजारको हाराहारीमा पुगेको अवस्थामा सरकारको प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीप्रति जनता संवेदनशील नभए लकडाउन गर्ने चेतावनी दिएका छन् । सरकारका प्रवक्ता ज्ञवालीले लकडाउनलाई त्रासको रूपमा प्रस्तुत गर्दै यस्तो चेतावनी दिएको देखिन्छ । तर, सरकारको तर्फबाट कोरोना महामारी भयावह रूपमा फैलिरहँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्नेतिर भने कुनै पहल गरेको देखिएको छैन । कोरोनाको औषधि र खोपसमेत नभएको अवस्थामा अन्य मुलुकहरूले यो महामारी नियन्त्रण गर्न अपनाएको उपाय र विधिलाई अवलम्बन गर्नुपर्ने ठाउँमा नेपाल सरकार भने जनतालाई चेतावनी दिने तथा यो महामारीबाट सरकार आफ्नो जिम्मेवारीबाट भाग्नेजस्तो संकेत आउन थालेको छ । यही कारणले गर्दा नै कोरोना महामारी भयावह रूपले फैलिरहँदा सरकारको तर्फबाट भने जनता सचेत नभएको भन्ने एकोहोरो शंख फुकेर स्थितिलाई थप भयावह बनाउने काम भइराखेको छ । यो महामारी नियन्त्रण गर्नकै लागि सरकारले कोरोना महामारी देखिएलगत्तै रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) गठन गरेको थियो । औषधि र औषधिजन्य सामग्रीहरू खरिद गर्ने मामिलामा अस्वभाविक सक्रियता देखाउने गरेको उपप्रधानमन्त्री पोखरेल नेतृत्वको सिसिएमसी भयावह रूपले कोरोना महामारी फैलिरहँदा कुम्भकर्णको निद्रामा मस्त रहेको देखिन्छ ।
काठमाडौं उपत्यकामा कोरोना महामारी भयावह रूपले फैलिनुको प्रमुख कारण बाहिरबाट निर्वाध रूपमा कोरोना संक्रमित मानिसहरूको प्रवेश नै हो । छिमेकी मुलुक भारतमा कोरोना महामारीले व्यापक रूप लिइराखेको अवस्थामा निर्वाध रूपमा तराईबाट निरन्तर ठूलो संख्यामा मानिसहरू काठमाडौं आउने क्रम अगाडि बढेपछि कोरोना महामारी काठमाडौं उपत्यकामा भयावह रूपले फैलिन थालेको हो । खासगरेर, काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासकहरूले तीन साता लामो कफ्र्यु लगाउँदा पनि उपत्यका प्रवेशका सबै नाकाबाट मानिसहरूको प्रवेश गर्नु भने निर्वाध रूपमा भएको थियो । अति आवश्यक कामबाहेकका मानिसलाई उपत्यकामा प्रवेश गर्न र जान नदिने भने पनि खास गरेर तराईबाट निर्वाध रूपमा काठमाडौं प्रवेश गर्ने व्यक्तिहरूलाई नाकामा तैनाथ भएका सुरक्षाकर्मीहरूले नियन्त्रण नगरेकै कारणले गर्दा अहिले राजधानीमा कोरोना महामारी तातो कराईको रूपमा रूपान्तरण हुन थालेको हो ।
मोफसलबाट कोरोना भाइरस बोकेर निर्वाध रूपमा व्यक्तिहरू प्रवेश गरेकै कारणले गर्दा काठमाडौं उपत्यकामा कोरोना महामारीले भयावह रूप लिएको हो । अब काठमाडौं उपत्यकामा भयावह रूप लिएको यो महामारी देशव्यापी हुने खतरा बढेर गएको छ । संघारमा आइपुगेको दसैँ मान्न भनेर घर जाने मानिसहरूले यो महामारीलाई देशव्यापी बनाउने छन् । जबकि अहिलेसम्म पहाडी क्षेत्रमा कोरोना महामारी सामान्य अवस्थामा देखिएको भए पनि हिमाली क्षेत्रमा भने कोरोना संक्रमणको अवस्था लगभग शून्य नै रहेको छ । तर अब दसैँ मान्न काठमाडौैंबाट जाने व्यक्तिहरूले निश्चित रूपमा यो महामारीको भाइरसलाई पहाड र हिमाली क्षेत्रमा समेत पु¥याउने छन् । यस सम्बन्धमा नेपाल सरकार तथा यो महामारी नियन्त्रण गर्नका लागि गठन गरिएको सिसिएमसीले अहिलेसम्म कुनै सोचसमेत बनाएको देखिएको छैन । जबकि दसैँ मान्न काठमाडौंबाट जाने व्यक्तिहरूले कोरोना महामारी देशव्यापी रूपमा फैल्याउने खतरा भएको स्थितिलाई सरकार र सिसिएमसीले नबुझेको छैन होला । तर, बुझेर पनि त्यो स्थिति कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा सरकार र सिसिएमसीले अहिलेसम्म कुनै योजना बनाएको देखिएको छैन । कोरोना महामारी फैलिरहँदा सरकार भने आफ्नो जिम्मेवारीबाट विभिन्न वहना बनाएर पन्छिन थालेको स्थितिमा अब जनता आफैँ नै आफ्नो स्वास्थका लागि सचेत र जिम्मेवार हुनुपर्ने अवस्था आउन थालेको देखिन्छ । र, सरकारको तर्फबाट भने काठमाडौं उपत्यकाका सबै अस्पताललाई कोरोना अस्पतालको रूपमा रूपान्तरण गर्नुलाई नै आफ्नो कर्तव्य पूरा भएको रूपमा बुझेकोजस्तो देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *