बिमा कम्पनीहरुको ठगी धन्दाप्रति सरकार किन मौन ?

सम्पादकीय

गत वर्षको चैत महिना लागेसँगै कोरोना महामारी मुलुकमा फैलिन थालेपछि सरकारको तर्फबाट यो महामारी नियन्त्रण गर्न भनेर गत वर्षको चैत ११ गतेबाट कडा लकडाउन लगाइएको थियो । कोरोना महामारीबाट बच्नका लागि औषधि र खोप नभएको अवस्थामा मानिसहरुलाई घरबाट ननिस्कनु नै कोरोना महामारी नियन्त्रण गर्ने प्रमुख उपाय भएको कारण सरकारको तर्फबाट गत वर्षको चैत ११ गतेबाट लकडाउन लगाउने काम भएको थियो । कोरोना संक्रमणबाट पीडित भएपछि ठोस उपचारको विधि नभएको र उपचार पनि अत्यन्त खर्चिलो हुने भएको कारण विभिन्न बिमा कम्पनीहरुले सर्वसाधारण जनताका लागि ६ सय रुपैयाँको प्रिमियर भर्दा एक लाख रुपैयाँ कोरोना उपचारका लागि प्राप्त गर्ने आकर्षक योजना सार्वजनिक गरेका थिए । र, यसका लागि सर्वसाधारण जनताले ६ सय रुपैयाँको प्रिमियर भरेपछि कोरोना संंक्रमण भएको पुष्टि हुने प्रमाण पेस गरेलगत्तै कोरोना संक्रमणको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने बिमा कम्पनीहरुको योजनाप्रति सर्वसाधारण जनता स्वभाविक रुपले आकर्षित भएका थिए ।
तर बिमा कम्पनीहरुले भने सर्तअनुसार ६ सय रुपैयाँको प्रिमियर भरेका कोरोना संक्रमणबाट पीडित भएका सर्वसाधारण जनतालाई एक लाख रुपैयाँ उपलब्ध गराउन नै विभिन्न वहानाबाजी गरिराखेका छन् । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले विभिन्न बिमा कम्पनीहरुका पदाधिकारीहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर तत्काल भुक्तानीका लागि कडा चेतावनी दिँदा पनि उनीहरुले अर्थमन्त्री पौडेलको उक्त चेतावनीलाई एउटा कानले सुनेर अर्को कानले उडाउने गर्दै आएका छन् । अन्यमा जस्तै कोरोना संक्रमणको बिमाका सम्बन्धमा पनि आमजनता र बिमा कम्पनीका बीचमा सम्झौता भएको थियो । दुई पक्षका बीचमा भएको सम्झौतालाई एउटा पक्षले मनलागी ढंगले थपघट गर्न पाउँदैन । तर कोरोना संक्रमणको बिमाका सम्बन्धमा भने बिमा कम्पनीहरुले पीडितलाई रकम नदिने खराब नियत राखेर दुई पक्षबीचको सम्झौतालाई मनपरी ढंगले एक्लैले संशोधन गरेका छन् र एक्लौटी ढंगले गरेको उक्त सम्झौताअनुसार मात्र बिमाको रकम उपलब्ध गराउने ठगी बाटो अहिले बिमा कम्पनीहरुले लिइराखेका छन् ।
ठोस उपचारका लागि औषधि र खोप उपलब्ध नभएको कोरोना संक्रमणका लागि उपचार खर्च पनि ठूलो परिणाममा हुने निश्चित देखिएको थियो । यही कारणले गर्दा नै सर्वसाधारण जनताले ६ सय रुपैयाँको प्रिमियर भरेर एक लाख रुपैयाँ संक्रमणको उपचारबापत प्राप्त गर्नेमा सर्वसाधारण जनता ढुक्क थिए । तर बिमा कम्पनीहरुले नै कोरोना संक्रमणको रकम उपलब्ध गराउन विभिन्न बाहनाबाजी र ठगी धन्दा गरेपछि सर्वसाधारण जनता निरास र पीडित हुन पुगेका छन् । यो अवस्थामा सरकारको तर्फबाट ठगी धन्दामा लागेका बिमा कम्पनीहरुलाई चेतावनी दिने काम मात्र नगरेर उनीहरुमाथि ठगीको मुद्दासमेत चलाउनु पर्ने अवस्था आएको छ किनभने कसैले पनि कुनै पनि बाहनामा सर्वसाधारणलाई ठगी गर्ने अधिकार प्राप्त गर्न सक्दैन । त्यस कारण जतिसुकै बलियो र ठूलो पहुँच भए पनि कोरोना संक्रमणको बिमाको भन्दा संचालन गरेका बिमा कम्पनीहरुमाथि सरकारको तर्फबाट थप चेतावनी दिने काम छाडेर तत्काल ठगी मुद्दा चलाउन आवश्यक भएको छ ।
कोरोना संक्रमितलाई एक लाख रुपैयाँको बिमा गरेका बिमा कम्पनीहरुले सहज रुपमा रकम भुक्तानी नगरेमा त्यसको असर सम्पूर्ण बिमा जगत्मा नै पर्न सक्छ भन्ने वास्तविकतालाई समेत बिमा कम्पनीहरुले मनन् गर्नु पर्दछ । र, एकपटक कोरोना संक्रमितलाई कुनै पनि बाहनामा ठगी गर्दा त्यसको असर बिमा कम्पनीको भाबी व्यवसायीमा पर्न जान्छ भन्ने पनि यो व्यवसायमा लागेका सबैले बुझ्नु पर्दछ । बिमा कम्पनीहरुले पनि आफ्नो व्यवसायिक हितका लागि यस्तो ठगी धन्दा संचालन गर्नबाट सबै बिमा कम्पनीहरुलाई रोक्न पहल गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *