नेकपा गैरवैचारिक राजनीतिक दल मात्रै

लेख

पूर्वएमाले र पूर्वमाओवादीहरुको एकतावाट बनेको नेकपा दल अहिले फुटको संघारमा पुगेको छ । झापा आन्दोलनबाट सुरु भएको एमाले बहुदलीय जनवादको सिद्धान्त अपनाउँदै नेपालको दलीय राजनीतिको मूलधारमा समाहित भएका थिए । कम्युनिस्ट नामकै कारण एमालेले आफूलाई कम्युनिस्ट भने पनि बहुदलीय प्रतिस्पर्धामा लागेको हुँदा व्यवहारमा संसारमा चलेको पुँजीवादी राजनीतिक पार्टीसरह नै भएको थियो । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीको खुबै चर्चा÷परिचर्चा चलेको छ । उनी राजनीतिकर्मी हो कि एक खुनी अपराधी हो ? भन्नेबारे पनि पक्ष विपक्षमा खुबै लेखिएका छन् । सामाजिक सञ्जालमा लेखिएको अनुसार प्रधानमन्त्री ओली २२ वर्षको उमेरमा नै झापाका जमिनदार धर्मनाथ ढकाल र उनको पत्नीको हत्यामा संलग्न भएको खुलासा भएको छ । उक्त हत्यापछि सरकारको कानुनी कारबाहीबाट बच्नका लागि उनी भारत छिरेकामा त्यहाँ केही कतै काम नपाएकाले नेपालको रौतहट जिल्ला सुटुक्क छिरी आश्रय लिएका थिए । त्यहाँ एमालेका राजनीतिक कार्यकर्ता झापा कै मोहनचन्द्र अधिकारीसित भेट भएको र उनकै सहायताले प्रधानमन्त्री ओलीको संलग्नतामा भएको झापाको जघन्य हत्यालाई राजनीतिक रुप दिने काम गरिएको थियो । यसो गर्दा प्रधानमन्त्री ओलीको बचाउ पनि सरल र सहज हुने र तत्कालिन एमाले पार्टीले किसान आन्दोलन गरेको पनि ठहरिने भएकाले रातारात प्रधानमन्त्री ओलीलाई क्रान्तिकारीको चोला पहिराउने काम फटाफट भयो । त्यहि गल्तीको परिणाम आज नेपाल राष्ट्रले व्यहोर्नु परेको सत्यतथ्यलाई सामाजिक सञ्जालका लेखहरुले उजागर तुल्याएका छन् । प्रधानमन्त्री ओलीले अपराध जगत्मा प्रवेश गर्दाको बखत नेपालमा राजाले सक्रिय नेतृत्व गरेको पञ्चायती राजनीतिक व्यवस्था चलेको थियो । त्यतिबेला नेपालको कानुनी राज र न्यायपालिका अहिलेको जस्तो कमजोर थिएन त्यसैले मोहनचन्द्र अधिकारी र हालको प्रधानमन्त्री दुवैलाई राज्यले पक्राउ गरी कनुनी कठघरामा उभ्याउने काम भयो । उनीहरु दुवैलाई जघन्य अपराधीसरह पुष्टी गरी अदालतले १४ वर्षको कठोर काराबास सजाय दिएका थिए । सानै उमेरमा जघन्य अपराधीको सजाय पाएका प्रधानमन्त्री ओलीले कुनै स्कुल कलेजको औपचारिक शिक्षा लिन पाएका थिएनन् । स्कुलको औपचारिक शिक्षा नपाएको हुँदा उनले जेलभित्रैबाट पनि लिन सकिने उच्च शिक्षाबाट पनि वञ्चित हुन पुग्यो । तैपनि आफ्नै प्रयासले जेलभित्र उपलब्ध भएका शिक्षाका साधन स्रोतहरुको उपयोग गरी उनले नेपाली र अंग्रेजी विषयमा लेख्न, पढ्न र बोल्न सिकेका थिए । भनिन्छ, उनले १४ वर्ष जेलभित्र बस्दा अंग्रेजीको अक्स्फोर्ड डिक्सनरी कन्ठस्त पारेका थिए । राजनीतिक विषयमा भने पढ्न लेख्न जेलभित्र सुविधा हुने कुरै भएन । तत्कालिन सरकारले कैदीबन्दीहरुको मानसिकता बदल्ने खालका केही पठनपाठनका शैक्षिक सामग्रीहरु मात्रै जेलभित्र उपलव्ध गराउने गरिएकामा तिनै शैक्षिक सामग्रीहरु पनि समय कटाउनका लागि राजनीतिक कैदीबन्दीहरुले रटेर पढ्ने गरेका थिए । हालका प्रधानमन्त्री ओलीले पनि महेन्द्रमालाजस्ता पुस्तकहरु खुबै रटेका थिए भन्ने कुराहरुको सामाजिक सञ्जालमा उल्लेख गरिएका छन् । जेलभित्र माक्र्सवाद वा लेलिनवाद सम्बन्धी पत्रपत्रिका वा पुस्तकहरु कुनै उपलव्ध थिएन । त्यसैले कैदीबन्दीहरुले त्यो विषयमा जेलभित्र ज्ञान पाउन सक्ने कुरै भएन । राजतन्त्र र पञ्चायती राजनीतिक व्यवस्थाबारे बढाइचढाइ लेखिएका पत्रपत्रिका र पुस्तकहरु पढेकै कारण आजका प्रधानमन्त्री ओलीको मनभित्र गैरकम्युनिस्ट राजनीतिक सोच उत्पन्न भएको कुरा सामाजिक सञ्जालमा छापिएका छन् । सामाजिक सञ्जालमा छापिएका यिनै कुराहरुलाई उनीसितै जेलमा बसेका राजनीतिकर्मी मोहनचन्द्र अधिकारीले छापेका केही लेखहरुबाट पनि पुष्टि भएका छन् । एमालेको स्थापना निश्चित वैचारिक सोच भएको कम्युनिस्ट राजनीतिक दलको रुपमा भएको थियो । तापनि यो विस्तारै नेतृत्वमा आएको विचलनले गर्दा कम्युनिस्ट वैचारिक सोच त्याग्दै गयो तर कम्युनिस्ट राजनीति अपनाउने काम जारी राख्यो । एमालेको नेतृत्व प्रधानमन्त्री ओलीले लिएपछि एमालेको कम्युनिस्ट वैचारिक सोच शून्य नै भयो तर कम्युनिस्टको नाममा राजनीति गर्ने क्रमले जोड पक्रियो । यसै बीचमा १० वर्षे जनयुद्धको नेतृत्व गरी खारिएको माओवादीहरु शान्ति सम्झौतामार्फत नेपालको राजनीतिक मूलधारमा आएपछि बृहत कम्युनिस्ट पार्टी बनाउने प्रतिबद्धताका साथ एमाले र माओवादी केन्द्रको बीच चुनावी गठबन्धन तयार भयो । यहि चुनावी गठबन्धनले आमचुनावमा दुईतिहाई बहुमत ल्याउन पनि सफल भए । प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालको इतिहास नै बदल्ने खालको बलियो कम्युनिस्ट सरकार उल्लेखित एकाताकै परिणाम स्वरुप बन्यो तर पार्टी एकताको प्रक्रिया भने पूरा हुन पाएन । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपश्चात नेकपाका नेताहरु पूरै दुई खेमामा विभक्त भएका छन् । कम्युनिस्ट वैचारिक सोच भएकाहरु एकातर्फ भएका छन् भने कम्युनिस्ट राजनीति मात्रै गर्नेहरु अर्कातर्फ भएका छन् । नेपाली जनताले कम्युनिस्टहरुलाई मन पराउने हुँदा कम्युनिस्टको नाममा राजनीति गर्ने तर चुनाव जितेपछि व्यवहारिक रुपमा पुँजीवादीहरुको भरिया बनेर काम गर्ने गर्दा नेपाली जनताको विश्वासमाथि घोर खेलबाड हुँदै आएको देखिन्छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नेकपा सरकारले पनि कम्युनिस्टको राजनीति गरी चुनाव जितेपछि सबै काम पश्चिमाहरुको पुँजीवादी नीतिअनुसार नै गर्ने गरेका छन् । अमेरिकी एमसिसी परियोजना त्याग्नु पर्ने, त्यसो नगरी नेकपाभित्रै त्यस विषयमा किचलो झिकी कालान्तरमा अहिले संसद विघटनको अवस्थासम्म आइपुगेको छ । कम्युनिस्ट सरकारले जसरी पनि अमेरिकी एमसिसी पारित गराउने अडान लिनु सर्वथा गलत हो । कम्युनिस्ट वैचारिक सोच नभएकाहरुले मात्रै यो विषयलाई हलुका पाराले लिएर उक्त परियोजना पारित गरिहाल्नु पर्ने जिकिर गर्दै छन् । कम्युनिस्ट वैचारिक सोच भएकाहरुले कम्युनिस्ट राजनीतिलाई चुनाव मात्रै जित्ने साधनको रुपमा कहिले उपयोग गर्दैन र कम्युनिस्ट राजनीतिको व्यापार पनि गर्दैन । प्रचण्ड–नेपाल समूह र ओली समूहको नेकपाबीच यहि ठूलो अन्तर छ । प्रचण्ड–नेपाल समूहको नेकपाले कम्युनिस्ट वैचारिकका साथसाथ कम्युनिस्ट राजनीति गर्दछन् भने ओली समूहका नेकपाले कम्युनिस्ट वैचारिक उहिले नै त्यागेको हुँदा कम्युनिस्ट राजनीति मात्रै गर्दछन् । प्रधानमन्त्री ओलीका लागि कम्युनिस्ट राजनीति नेपाली जनतालाई भ्रममा पारी चुनाव जित्ने साधन मात्रै हो भने प्रचण्ड–नेपाल समूहका लागि समाजवाद र साम्यवादतर्फको अग्रसरता हो । दुईतिहाई बहुमतसहित नेपालमा सत्तारोहण गर्न सफल नेकपाले नेपाली जनता र राष्ट्रका लागि अनेक काम गर्न सक्ने थियो तर प्रधानमन्त्री ओलीजस्ता कम्युनिस्ट राजनीति मात्र गर्ने नेतृत्वकै कारण यो सुनौला अवसर खेर गएको छ । नेकपाको शासनकालमा भ्रष्टाचार र अपराध दुवै बढेका छन् । अन्तर्राष्ट्रिय संस्थाहरुको अध्ययन अनुसन्धानबाटै नेपालमा भ्रष्टाचार र अपराध बढेको प्रमाणित भएका छन् । सत्ताको नेतृत्व गर्दै बसेका नेकपा ओली समूहको देखाउने र चपाउने दाँत बेग्लाबेग्लै भएको हुँदा आफँैले नेपाली जनतासित गर्जेर गरेका प्रतिबद्धताहरु पूरा गर्न सकेको छैन । उनीहरुले प्रतिबद्धता जनाएजस्तो नेपालमा भ्रष्टाचार पनि कम भएको छैन र अपराध पनि कम भएको छैन । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले काम गर्न नसक्नुको दोष नेकपा प्रचण्ड–नेपाल समूहको नेकपालाई लगाउँदै बदलाको कारबाही स्वरुप आफ्नै दुईतिहाई बहुमत भएको संसदलाई बिघटन गरेका छन् । संसदमा नेकपा सरकारको बहुमत हुँदाहुँदै विश्वासको मत लिनको साटो उल्टै संसद नै विघटन गरेकाले प्रधानमन्त्री ओलीको वैचारिक धरातल एकदमै कमजोर रहेको पुष्टि हुन्छ । वैचारिक धरातल कमजोर भएकै कारण उनले नेपाल राष्ट्र र नेपाली जनताका लागि कुनै ठोस काम गर्न सकेनन् । कम्युनिस्ट राजनीति गरी चुनाव जित्न सफल भएका प्रधानमन्त्री ओलीले कम्युनिस्ट वैचारिक सोचअनुसार काम गर्न नसक्दा नेपाल राष्ट्रको दुर्गति बढाएका छन् भने स्वयं असफल प्रधानमन्त्री भएका छन् । कम्युनिस्ट वैचारिक सोच नभएका जो कोही पनि नेकपाका सदस्य बन्न सक्ने भएकाले घरजग्गाका दलालहरु, नाफाखोर व्यापारीहरु, कालोधनका व्यवसायीहरु नेकपाका सक्रिय सदस्य भएका छन् । नेकपाका सदस्यहरुको मूल्यांकन उनीहरुले दिने चन्दा र लेभीबाट गरिने चलन नेताहरु बसाएका छन् । नेकपाका सदस्यहरुले कम्युनिस्ट राजनीति गरे पुग्ने तर कम्युनिस्ट सिद्धान्त अपनाएर कम्युनिस्ट नै बन्नु नपर्ने भएपछि ल्हार्केल लामादेखि गोल्छासम्म नेकपाका बफादार सदस्य भएका छन् । वास्तावमा घरजग्गाको दलालहरु सबै नेकपा भएका छन् । माओवादीको नेतृत्वमा कम्युनिस्ट सरकार बन्नेबित्तिकै नेपालमा घरजग्गाको बजार भाउ एकदमै आकासिएको थियो । माओवादी कम्युनिस्ट सरकारले तिनै घरजग्गाका दलालहरुलाई १० प्रतिशत कर बुझाएपछि आफूसित भएको जतिसुकै कालोधनलाई पनि मुद्रानिर्मलीकरण गरी वैध बनाउन सकिने अवसर दियो । फलस्वरुप जनयुद्ध कालमा बैंकहरुबाट लुटिएका नगद, सुन र चाँदीहरुलाई वैध बनाउने काम भयो । तिनै घरजग्गाका दलालहरु र पेटीठेकेदारहरु अहिले नेकपामा सिक्का जमाएर बसेका छन् भने केही मन्त्रीसमेत भएका छन् । नेकपा अहिले दुई खेमामा विभक्त हुँदा तिनै कम्युनिस्ट राजनीति गर्ने तर कम्युनिस्ट सिद्धान्त नमान्नेहरु नेकपा ओली समूहमा लागेका छन् । यस्ता कम्युनिस्ट राजनीति गर्ने तर कम्युनिस्ट सिद्धान्त नअपनाउने गैरकम्युनिस्ट सोच भएकाहरुकै कारण प्रधानमन्त्री ओली कलंकित भएका छन् । बालुवाटारदेखि नेपालै भरिका सरकारी घरजग्गाहरु गैरकम्युनिस्ट सोच भएका तर कम्युनिस्ट राजनीति गर्ने घरजग्गाका दलालहरुले चट्काएको देख्दा नेकपा सरकार कलंकित मात्र होइन, लाचार पनि छ भन्न पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *