नियुक्तिले सरकारको नै बद्नाम

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रेस सल्लाहकारमा रत्नराज्य कलेजका प्राध्यापकसमेत रहेका डा.कुन्दन अर्याललाई अपर्झट हटाएर त्यहाँ सूर्य थापालाई नियुक्त गरे । अहिले त्यही प्रतिशोध हुनुपर्दछ डा.कुन्दनहरु प्रधानमन्त्री पक्षधरले आयोजना गरेको कुनै कार्यक्रममा सरिक छैनन् । तिनै डा.कुन्दनलाई गलहत्याएर सिंहदरबार छिरेका सूर्यहरुको चक्चकी यस्तो छ, कतिपय नियुक्तिमा उनै हाबी हुँदा प्रधानमन्त्रीसमेत बद्नाम हुनुपरेको छ । जस्तो हालै मात्र पर्यटन बोर्डको सदस्यमा चन्द्र रिजाल नियुक्त भए । चन्द्र विवादित पात्र हुन् । उनी टानमा हुँदा टिम्स घोटला काण्डमा डामिएका हुन् । पर्यटन बोर्ड सञ्चालक सदस्यमा सिफारिस समितिले चन्द्र रिजाल, सिएन पाण्डे, हरिभक्त श्रेष्ठ, नवाङ निमा शेर्पा र कृष्ण शाहको नाम सिफारिस गरेकोमा सूर्यहरुकै दबदबामा चन्द्र, कृष्ण र नवाङ निमाहरु नियुक्त भए । सल्लाहकार हुनुपूर्व सूर्य एमालेको पर्यटन फाँट हेर्दथे । हालै पर्यटन बोर्डमा नियुक्ति पड्काएका चन्द्रमाथि लागेको चार्ज छ कि उनी टानको अध्यक्ष हुँदा ४ करोडभन्दा बढी घोटलामा मुछिएको भन्दै अहिले आधादर्जन सरकारी निकायले उनीविरुद्ध अनुसन्धानको सुइ घुमाइरहेका छन् । उनी ५ वर्षअघि टानको अध्यक्ष थिए । त्यही समयमा हो टिम्स ‘पदयात्री सूचना व्यवस्थापन प्रणालीको’ नाममा करोडौँ हिनामिनामा डामिएका । उनको कार्यकालमा पर्यटन बोर्डबाट निकासा हुने करोडौँ रकम हिनामिना गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी प¥यो । सो उजुरीउपर अहिले पनि अनुसन्धान चल्दै छ । महालेखा आयोगको ५७औँ प्रतिवेदनले समेत टानले बुझाउनु पर्ने ४६ करोड ८३ लाख १४ हजारको टिम्स कार्ड बिक्री गरे पनि राज्यलाई बुझाउनुपर्ने रु. ५ करोड ३८ लाख ७७ हजार रुपैयाँ राज्यलाई नबुझाएको उल्लेख गरेको छ । सोही अनुसन्धान चलिरहेकै समयमा रिजाल पर्यटन बोर्ड सञ्चालक सदस्य बन्न सफल भएका छन् । उसो त सरकारका हरेक नियुक्तीहरु विवादित बन्दै छ । जस्तो हालै प्रेमकुमार राईलाई अख्तियारको प्रमुख बनाइयो । उनीविरुद्ध अख्तियारमै उजुरी छ कि आयल निगमको जग्गामा हिनामिना गरेको । जो विरुद्ध अख्तियारमा उजुरी छ सोही मान्छे अहिले अख्तियारमा पुगेको छन् । आयुक्त जयबहादुर चन्दविरुद्ध समेत लागुऔषधसम्बन्धी मुद्दा परिरहेको छ । यस्तै यसअघि सरकारले विवादस्पद् छविका सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनायो । त्यसअघि उनी राष्ट्रिय योजना आयोग थिए । उनी जलविद्युत् माफियाको रुपमा बद्नाम छन् । यस्तै चिनियाँ कम्पनी कचौपासँग व्यावसायिक सम्बन्ध भएका कारण विवादित पात्र हुन् । उनको नियुिक्तसँगै अदालतमा मुद्धा प¥यो यद्यपि उनी त्यहाँको प्रमुख बन्न सफल भए । यस्तै प्रचण्ड, माधव नेपाल, भीम रावलहरुलाई फेसबुक र ट्वीटरमा खुइल्याउनेभन्दा बढी योगदान नभएका गुरु भट्टराई नेपाल रेलवे कम्पनीको महाप्रबन्धक बनाइए । युवा स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त भएका कल्याण रोकाको शैक्षिक योग्यतामाथि प्रश्न उठ्यो । वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने व्यक्ति पुस्कर खाती समाज कल्याण परिषद्को सचिवमा बने भने व्यक्तिगत चालचलनमाथि प्रश्न उठ्दै आएका लोकनाथ सुवेदी त्यहीँको कोषाध्यक्ष नियुक्ति पड्काए । राजस्व बोर्डमा लगिएका पूर्वसचिव महेश दाहालदेखि नेपाल वायुसेवा निगममा नियुक्त फुर्वा ग्याल्जेन शेर्पा र डिमप्रकाश पौडेलका कारण अहिले त्यहाँ विवाद चर्केको छ । फुर्वा यति एयरलायन्सको मान्छे । यति एयरलायन्सकै मान्छे सीताराम सापकोटालाई नेपाल ट्रस्ट लगियो । यस्तै नियुक्तिका कारण सरकार बद्नामी कमाउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *