नेपाली जनताको प्राथमिकता शान्ति र सुरक्षा

लेख

नेपाली जनताको पहिलो प्राथमिकतामा शान्ति र सुरक्षा नै पर्दछ । नेपाल राष्ट्रमा शान्ति अमन चयन कायम होस्् भन्ने कुरालाई नेपाली जनताले सधैँ ध्यान दिएका छन् । त्यसैगरी राष्ट्रको सुरक्षा र आमजनताको सुरक्षालाई पनि नेपाली जनताले अत्याधिक ध्यान दिने गरेको देखिन्छ । राष्ट्रको सुरक्षा, जनताको सुरक्षा र मुलुकको शान्ति एक अर्कासित घनिष्ट रुपमा गाँसिएका विषयहरु हुन् । नेपाली जनताले राष्ट्रमा शान्ति होस् भन्दै विगतदेखि नै ठूलो बलिदानी दिँदै आएका छन् । नेपाली कांग्रेस जसले राणा शासनदेखि स्वर्गीय राजा महेन्द्रका पञ्चायती राजविरुद्ध हतियार उठाएका थिए । तिनलाई पनि नेपाली जनताले भोट हाली चुनाव जिताएर नेपालको राजनीतिक मूलधारमा समाहित तुल्याएका थिए । त्यसपछि पञ्चायत राजकै विरुद्ध हतियार उठाएका एमालेलाई पनि चुनावमा जिताएर नेपालको राजनीतिक मूलधारमा ल्याएका थिए । सबैभन्दा पछिल्लो समयमा दश वर्षसम्म जनयुद्ध गर्दै बसेका माओवादीहरुलाई पनि चुनावमा भोट हालेर राष्ट्रको राजनीतिक मूलधारमा ल्याएका थिए । यसरी राजनीतिको नाममा अपराध चर्काउँदै बसेकाहरुलाई नेपाली जनताले चुनावमा भोट हाली जिताउनुको पछाडि मुख्य कारण शान्तिको चाहना नै हो । यसबाट के प्रष्ट हुन्छ भने नेपाली जनता शान्तिका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छन् । राष्ट्रमा शान्ति अमन चयन ल्याउनका लागि नेपाली जनताले अपराधीहरुलाई पनि स्वीकार गर्दै उनीहरुले विगतमा गरेका सबै अपराधहरुलाई क्षमादान दिने गरेका छन् । यस्ता महान् नेपली जनता अहिले दलका नेताहरुको चालामाला देखी आश्चर्यमा परेका छन् । राष्ट्रमा शान्ति कायम गर्नमा होइन, अशान्ति फैलाउनमा दलका नेताहरु सक्रिय छन् । आपसमा एकता छैन त्यसैले एक अर्काको खुट्टा तान्ने र आरोपप्रत्यारोप गर्ने घिनलाग्दो राजनीतिक चलखेलमा लागेका छन् । परिणामस्वरुप नेकपाको आफ्नै दुईतिहाई बहुमत रहेको संसद विघटन भएको छ भने प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको नेकपा सरकार चुनावी काम चलाउ सरकारमा परिणत भएको छ । आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरी नेकपाका शीर्ष नेताहरुले जोरीपारीलाई हँसाउने काम गरेका छन् । संसद विघटनको कुरालाई लिएर सर्वोच्चमा मुद्दा चलिरहेको भए पनि संसद पुनस्र्थापना हुन्छ वा हुँदैन भन्ने कुरा कुनै निश्चित छैन किनकि जानकारहरु भन्दै छन् कि प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाका बीच समझदारी भएरै संसद विघटन गरिएको हो । कुरोको चुरो जेसुकै भए पनि दलका नेताहरुदेखि लिएर नेपाली जनतासम्म सर्वोच्चको निर्णयलाई कुर्दै बसेका छन् । यदि सर्वोच्चले संसद पुनस्र्थापना नगरेमा सडक आन्दोलनबाटै संसद पुनस्र्थापना गरी छाड्ने कसम आन्दोलन गर्दै बसेका शीर्ष नेताहरुले खाएका छन् । बेमौसमी संसद विघटनले गर्दा नेपाल राष्ट्रमा राजनीतिक अस्थिरता सुरु भएकाले नेपाली जनतामा नैराश्यता फैलिएको छ भने नेपालमा विदेशी लगानीकर्ता र नेपाली उद्योगी व्यवसायीहरुमा अन्योलता बढेको छ । नेपालको अर्थतन्त्र कोरोनाको दुष्प्रभावले थला परेको यो बेलामा चुनाव गराउनका लागि थप खर्च जुटाउन सजिलो छैन । चुनाव गराउनका लागि चाहिने भय त्रासरहितको वातावरण सरकारले बनाउन सक्ने कुरामा पनि ठूलै शंका छ । चुनाव गराउन अनुपयुक्त यो बेलामा दुईवर्षे कार्यकाल बाँकी भएको संसदलाई विघटन गरी त्यसैको चुनाव गर्ने मूर्ख काम प्रधानमन्त्री ओलीको नेतृत्वको नेकपा सरकारले किन गरे ? कसैको पनि चित्त बुझेको छैन । नेपाली जनता शान्ति चाहन्छन्् चुनाव होइन । नेपाली जनताले नेपाल सरकारबाट सधैँ नेपाल राष्ट्र र नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति चाहेका छन् । शान्तिका लागि नेपाली जनताले विगतदेखि नै सम्झौता गर्दै आएका छन् । अपराधमा लिप्त भएको राजनीतिक दलहरुलाई राष्ट्रमा शान्ति बहाली हुने आसामा आमचुनावमा भोट दिएर जिताएका उदाहरण धेरै छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी सबैलाई उनीहरुले गरेको पाप कर्महरुको सूची लामै भए पनि आमचुनावमा उनीहरुले सम्हाल्नै नसक्ने गरी बहुमत नेपाली जनताले नै दिएका थिए । पछिल्लो चोटी नेकपालाई दुईतिहाई बहुमत नेपाली जनताले दिएकोमा त्यो नेकपाले सम्हाल्न सकेन त्यसैले हुँदोखाँदोको संसद नै विघटन गरी राष्ट्रलाई दुर्गतितिर उन्मुख तुल्याएका छन् । नेपालमा हाल सक्रिय राजनीतिक दलहरु सबैले आफ्नो सुरुवात अपराधबाटै गरेको देखिन्छ । सत्तामा पुगेपछि दलका नेताहरुले अपराधको बाटो त्यागेर सतमार्गमा लाग्नु पर्नेमा नेपालका कम्युनिस्ट नेताहरुले त्यसो गर्न सकिरहेको छैन । फलस्वरुप सत्तामा बसेर पनि अपराधीहरुसितको आफ्नो पुरानो सम्बन्ध र सहयोगलाई कायमै राखेको होकी भन्ने शंका बढेको छ । त्यति मात्र कहाँ हो र ! नेकपाका नेताहरु वैचारिक कम्युनिस्टको मार्गलाई त्यगी भोटका लागि मात्रै कम्युनिस्ट राजनीति गर्ने भएका छन् । साथै पहिले अपराधमा लिप्त थिए भने अहिले सात्ताको भोग गर्न थालेपछि भ्रष्टाचारमा पनि लिप्त भएका छन् । तिनै गैरवैचारिक कम्युनिस्टहरु प्रधानमन्त्री ओलीको पछि लागेर सत्ताको भोग गर्दै चुनाव जित्नका लागि मात्रै कम्युनिस्ट राजनीतिको उपयोग गर्न तयार भएर लागेका छन् । भ्रष्टाचारी पूर्वएमाले र अपराधी पूर्वमाओवादीहरुको गठजोडबाट तयार पारिएको नेकपा कहिले कम्पाउन्ड बन्न सकेन र मिश्रण कै रुपमा अब अलग हुने भएका छन् । उनीहरुले पार्टीको एकता गर्न नसके पनि एकीकृत पार्टीबाट भएको राजनीतिक लाभ भने राम्रैसित ग्रहण गरेका छन् । निजी स्वार्थ पूरा गर्नका लागि पार्टी एकता गरेका थिए त्यसैले सो पूरा भएपछि नेकपा पार्टीलाई खण्डीकरण गर्नेतिर शीर्ष नेताहरु भिडेकाभिडेकै छन् । उनीहरुको ध्यान नेपाली जनताले खोजेको शान्ति कायम गर्नेतिर केन्द्रित भएको छैन । नेपाली जनता र नेपाल राष्ट्रको सुरक्षा गर्नेतिर पनि उनीहरुको ध्यान गएको छैन । त्यसैले नेपालभरी अनेक अपराधका घटनाहरु भएका छन् तर अपराधीहरुलाई समातेर कठघरामा लाने काम भएको छैन । परिणाम स्वरुप नेपालमा अपराधीहरुको मनोबल उच्च भएको छ । कलिला बालिकाहरुको बलात्कार र हत्या लगातार भएका छन् तर अपराधीहरुलाई समाएर कारबाही गर्न नेकपा सरकारले सकेको छैन । यसरी नै हत्य गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याराको अहिलेसम्म पत्तो लागेको छैन । समान किसिमको बलात्कार र हत्या अहिले सोही भेगमा भएको हुँदा बलात्कारी हत्याराहरु पल्केको कुरा प्रष्ट भएको छ । सहरको के कुरा अब गाउँघरमा नै यस्तो अपराध हुन थालेपछि नेपालीहरुको सुरक्षा नेकपा सरकारले गर्न सकेको छैन भन्ने कुरा ऐनाजस्तै छर्लंगै भएको छ । यस्तो लापरबाही भएको नेकपा सरकारले राष्ट्रको सुरक्षाको जिम्मेवारी पनि पूरा गर्न सक्दैन भन्ने कुरा नेपाली जनताले बुझ्नु पर्छ । यस्ता अपराधका घटनाहरु लगातार एकपछि अर्को हुने गरेको र उक्त घटनाहरुमा संलग्न अपराधीहरु कहिले पक्राउ नहुने भएकाले नेपाली जनताको मनमा त्रास फैलिएको छ । धेरै निरास भएका छन् भने धेरैको मनमा अन्योलता बढाएको छ । यहि बेलामा कोरोना माहामरीको पिरोलोले गर्दा नेपाली जनता के गरी खाने कसो गरी खाने भन्ने अन्योलताको भूमरीमा परेका छन् । कोरोनाको प्रकोपबाट नेपाली जनतालाई छुटकारा दिनका लागि नेकपा सरकारले कुनै आर्थिक सहायता वा राहतको कार्यक्रम ल्याउन सकेको छैन । नेपाली जनता कडा आर्थिक संकटमा परेको बेलामा नेकपा सरकार भने चुनाव गराउनका लागि तम्सेर अगाडि बढेको बढेकै छ । आर्थिक संकटमा परेको नेपाली जनतालाई आर्थिक सहायता गर्न पैसा छैन भन्ने नेकपा सरकारले चुनावका लागि अर्बौँ खर्च जुटाउने भएको छ भने आपसमा चलेको झगडालाई नेपाली जनताको बीचमा लानका लागि करोडौँ खर्च गरी अनेक सभा समारोह गर्दै छन् । बेमौसमी चुनावले नेपाली जनताको संकट झनै बढाएको छ र चुनावमा हुन सक्ने द्वन्द्वले नेपाली जनताको सुरक्षा थप जटिल बन्दै गएको छ । अहिलेसम्म सार्वजनिक भएको जानकारीअनुसार ३,३४७ बलात्कारका घटनाहरु नेकपाको शासन कालमा नेपालमा भएका छन्, जसमध्ये १७ वटा घटनाहरुमा बलात्कारपछि पीडितको हत्या गरेका छन् । यसबाट नेकपाको शासन काल अराजक भएको र नेपाली जनतालाई सुरक्षा दिन नेकपा सरकार असफल भएको प्रामाणित हुन्छ । नेकपा सरकारले केही घटनाहरुको दोषीलाई बाहेक राष्ट्र नै हल्लाउने अपराध भएको कञ्चनपुरको घटनालगायत दोषीहरुलाई पाmाउ गरी कारबाही गर्न सकेको छैन । अहिले भएको बैतडीकी भागिरथी भट्ट बलात्कार र हत्याको घटनाले झनै राष्ट्रलाई जोडले हल्लाइदिएको छ तर संलग्न अपराधीहरु पक्राउको सम्भावना भने छैन । नेकपा सरकार शान्ति र सुरक्षाको मामलामा नराम्ररोसित असफल भएको कुरा दिनदिनै भएका यस्तै अपराधिक घटनाहरुले प्रामाणित गरेको छ । नेपालको कानुन नै संसोधन गरी भ्रष्टाचार गर्ने खेलाडीहरुले नेकपा सरकारको नेतृत्व गरेका छन् । नेपालमा अरु कुरा महँगो भए पनि भ्रष्टाचार र अपराध गर्नलाई भने सबै स्वतन्त्र छन् । भ्रष्टाचारी र अपराधी कसैलाई पनि अहिलेसम्म नेकपाले कारबाही गर्न सकेको छैन । त्यसैले नेपालमा भ्रष्टाचारीहरु र अपराधीहरुको मनोबल अति उच्च भएको छ र उनीहरुले नेकपा सरकारलाई आफ्नै सरकार ठानी मनोमानी गर्दै नेपालको सहर र गाउँमा अशान्ति फैलाउँदै डुल्ने गरेको भेटिएकाले नेपाली जनताको सुरक्षा नराम्रोसित खलबलिएको छ । समाजका कमजोर वर्ग महिला र बालबालिकाहरु अति असुरक्षित भएका छन् । परिणामस्वरुप नेपालमा अशान्ति फैलिएको छ । नेकपा सरकारले सेटिङमा सबै काम गर्न थालेको हुनाले परानो सरकारहरुले लामो समय खर्चेर बसालेका प्रणलीहरु ध्वस्त भएका छन् । त्यहि भएको हुनाले नेपालमा भ्रष्टाचारीहरु र अपराधीहरु दुबो मौलाएझैँ मौलाएका छन् र नेपालभर अशान्ति फैलाएर नेपाली जनताको शान्ति सुरक्षा नष्ट पारिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *