कम्युनिष्टका बीचमा उत्पन्न भएको सत्ता विवादले राजनीतिमा ल्याएको तरंग

लेख

पछिल्ला समयमा विकास भएको राजनीतिक घटना क्रमले सबै ठूला दल भित्र विवाद चर्काइदिएको छ । सत्ता भागबण्डालाई लिएर उत्पन्न भएको विवादले निकास पाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसले मुलुकको राजनीतिलाई थप विवादमा पार्ने सँगै राजनीतिलाई गर्माउने काम पनि गरेको छ । प्रधानमन्त्रीले गरेको सिफारिस अनुसार विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना भएर अहिलेसम्म चार पटक बैठक बसिसकेको भएपनि प्रतिनिधिसभा विघटनको पराकम्पनको गम्भीर झट्कालाई नेपालको राजनीतिले अहिले पनि महसुस गरी राखेको छ । सत्ता भागबण्डालाई लिएर पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेको विवाद अहिले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तथा प्रधानमन्त्री ओलीलाई हटाउने कसरतमा पुगेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको गठन कानुन विपरीत भएको ठहर गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई अलग भएर पुरानै अवस्थामा आउन निर्देशन दिएपछि एकातिर वर्तमान सरकार एकल पार्टीको नभएर नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्न पुगेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको अस्तित्वलाई स्वीकार गर्न अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई २०७५ साल जेठ ३ गते भन्दा पहिलेकै अवस्थामा आउन निर्देशन दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त सरकार गठन गर्ने कसरतमा लागेका छन् ।
सत्ता भागबण्डालाई लिएर अध्यक्ष प्रचण्डले चर्काएको विवाद प्रति असन्तुष्ट भएर अहिले नेकपा माओवादी केन्द्रका ६ जना सांसद सहित गरेर २३ जना नेकपा एमालेमा प्रवेश गर्दै केन्द्रीय सदस्यमा मनोनित समेत भएका छन् । अध्यक्ष प्रचण्डले सत्ता भागबण्डालाई लिएर चर्काएको विवाद प्रति असन्तुष्ट भएर प्रभावशाली नेताहरुले पार्टी नै परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् भने प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने मामिलामा अहिले निर्णायक हैसियतमा पुगेको जनता समाजवादी पार्टीको केन्द्रीय तह पनि गम्भीर विवादबाट गुज्रिराखेको छ । यही विवादको कारण गत चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यकाणीको बैठक समेत जनता समाजवादीले होली भन्दा पछि गर्ने भनेर सारेको छ । जनता समाजवादीका दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारलाई अपदस्थ गरेर अर्को सरकार गठन गर्नै पर्ने अडानमा छन् भने अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो यही सरकारलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छन् । यो विवादले निकास पाउन नसकेपछि जनता समाजवादीले यस सम्बन्धमा निक्र्यौल केन्द्रीय कार्यकाणी समितिले गर्ने निर्णय गरेर गत चैत्र ७ गतेका लागि केन्द्रीय कार्यकाणीको बैठक बोलाएको थियो । तर गत ७ गतेको बैठकमा केन्द्रीय कार्यकाणीले पनि विवादरहीत निर्णय गर्न नसक्ने र पार्टी विभाजित हुन सक्ने खतरा देखेर कार्यकाणीको बैठकलाई होली पछि मात्र गर्ने गरी सारिएको छ । अर्थात् सरकारको सम्बन्धमा उत्पन्न भएको विवादले जनता समाजवादीमा पनि गम्भीर मतभेद उत्पन्न गरिदिएको छ । यसैगरी संसदमा ६१ स्थान भएको नेपाली कांग्रेसले पनि यो मामिलामा स्पष्ट निर्णय गर्न सकेको छैन । र, सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीचमा ओली सरकार विघटन गरेर गठन हुने नयाँ सरकारमा सामेल हुने सम्बन्धमा गम्भीर मतभेद कायम रहेको छ । सभापति देउवाको रुची ओली सरकारलाई विघटन गरेर बन्ने संयुक्त सरकारमा समावेश हुने भन्दा निर्वाचनमा जाने रहेको छ । तर काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले भने केपी ओलीलाई सत्ताबाट हटाएर तत्काल कांग्रेस सहितको संयुक्त सरकार गठन हुनुपर्छ भन्ने अडानमा देखिएका छन् र यो मामिलामा संसदमा दोस्रो हैसियतमा रहेको नेपाली कांग्रेसमा स्पष्ट रुपमा विवाद उत्पन्न भएको अवस्था छ । यही विवादको कारण नेपाली कांग्रेसले निर्णय गर्न नसक्दा सरकारका सम्बन्धमा पनि ठोस गृहकार्य अगाडि बढ्न सकेको छैन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न भएको विवादले मुलुकका सबै प्रमुख राजनीतिक दललाई आफ्नो चपेटामा लिएको छ भने यही विवादले स्थिरताबाट गुज्रिराखेको मुलुकको राजनीतिलाई अस्थिरताको चरणमा प्रवेश गराई दिएको छ । मुलुकमा विकास भएको राजनीतिक घटना क्रमले केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले. निरन्तरता पाउँछ की पाउँदैन भन्ने प्रश्न एकातिर जन्मिएको छ र यो प्रश्न जन्मिएसँगै मुलुकको राजनीति पनि अस्थिरताको सुरुङमा फस्न थालेको छ । जबकी २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनको परिणामलाई आधार मानेर मुलुक राजनीतिक अस्थिरताको चरण पार गरेर स्थिरतातिर प्रस्थान गरेको विश्लेषण गरिएको थियो । जुन विश्लेषण सत्तारुढ पार्टीमा उत्पन्न भएको सत्ता भागबण्डाको विवादले गलत सावित गरिदिएको छ । र, यो विवादले मुलुकमा राजनीतिक अस्थिरता मात्र उत्पन्न गरेको छैन की नेपालमा कम्युनिष्ट प्रतिको जनधारणामा समेत नकारात्मक असर पार्ने खतरा उत्पन्न भएको छ । यो खतरालाई प्रतिश्पर्धी रहेको नेपाली कांग्रेसले कम्युनिष्टमा उत्पन्न भएको विवादसँगै प्राप्त गरेको राजनीतिक हैसियत र महत्वले पनि स्पष्ट पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *