ठूलो हवाइजहाज र रेल चढ्दा

लेख

पहिलोपटक ठूलो विमान चढ्ने मौका वि.सं. २०६१ सालमा मिलेको थियो । फेकोफनको जागिरे थिएँ । फेकोफनबाट नै जडिबुटीसम्बन्धी तालिममा सहभागी हुनका लागि भारतको भोपाल गएको थिएँ । यहि सन्दर्भमा ठूलो विमान र रेल पहिलोपटक चढ्ने मौका मिलेको थियो । यस स्मरणमा पहिलोपटक विमान र रेल चढ्दाको अनुभूति, त्यसैगरी भोपालमा भएकोे तालिमका केही सन्दर्भहरु सम्झने र लिपिबद्ध गर्ने कोसिस गरेको छु ।
भ्रमणको चाँजोपाँजो
फेकोफनसँग सहकार्य गर्ने नयाँ दिल्लीमा कार्यालय रहेको क्यानाडियन एक संस्थाले फेकोफनलाई भोपालमा हुने तालिममा एक जना पठाउन सक्ने मौका दिएछ । फेकोफनले मलाई मनोनयन गरेर पठाएको थियो । जाने, आउने, खाने, बस्ने सबै प्रबन्ध सोही संस्थाका दिल्लीस्थित कार्यालयवाट नै मिलाएको थियो ।
काठमाडौंको विमानस्थल त पहिला पनि छिरेको थिएँ तर आन्तरिक टर्मिनलतिर मात्रै । ट्याक्सीमा विमानस्थल जाँदा मुख्य प्रवेशद्वारवाट छिर्ना साथ हरेकपटक सोध्ने एकै प्रश्न हुन्थ्यो ‘डोमेस्टिक की इन्टरनेसनल ।’ कहिले पनि इन्टरनेसनल भन्न पाएको थिइनँ । योपटक पनि सोध्यो मैले फूर्तिले भने ‘इन्टरनेसनल टर्मिनल ।’
ट्याक्सीले सिसैसिसा भएको गेटको छेउमा लगेर छाडिदियो । मैले झोला बोकेर कताबाट छिर्ने होला भन्दै एक्कै क्षण गम खाएँ । कौतुहलता र कता जाने ? के गर्ने ? भन्ने अन्योलता पनि थियो । अरुलाई हेरेँ, उनीहरु जता जान्छन्, म पनि त्यतै लागेँ । सुरक्षाकर्मीले मेरो टिकट हेरे । भित्र जान दिए । मेरो टिकटमा भएको विमानको नाम लेखेको काउन्टरतिर लागेँ । म ३ घन्टाअगाडि नै पुगेको हुनाले लाइन लामो थिएन ।
काउन्टरमा टिकट देखाएँ । सामान धेरै थिएन । हातैमा बोक्न मिल्ने नै थियो । काउन्टरबाट बोर्डिङ पास दिए । स्टिकर पनि झोलामा झुन्ड्याइदिए । म अगाडि बढेँ । फारम पनि भर्नुुपर्दो रहेछ । अरुले जे गर्छन्, मैले पनि त्यसै गरिरहेँ । मैले एक बुद्धि लगाएको थिएँ । एयरलाइन्सको टिकट जाँच गर्ने काउन्टरमा म भन्दा अगाडि र पछाडिको मान्छेको अनुहार याद गरेको थिएँ । उनीहरु जता जान्थे, म त्यतै लान्थ्थेँ । म ढुक्क थिएँ, उनीहरु र मेरो विमान एउटै हो भनेर । उनीहरुलाई पछ्याउँदा मेरो प्लेन छुट्दैन भन्ने लागेको थियो ।
विभिन्न चरणको जाँच गर्दै विश्राम स्थलमा पुगेछु । म भन्दा अघि र पछिका मान्छे पनि त्यहीँ थिए । उनीहरुसँग मेरो कुनै चिनजान थिएन । तैपनि उनीहरुलाई देखेपछि ढुक्क हुन्थ्थेँ । मनमा विमान छुटेर फर्कनु पर्ने हो की भने जस्तो पनि लागिरहन्थ्यो । यदि त्यसो भएमा साथीहरुको अगाडि कति लाज होला भनेर मन अमिलो हुन्थ्यो ।
ठूलो विमान चढ्दा
कुन विमान कति बजे उड्ने हो यी यस्ता सूचना पाटीमा हेर्न पाइन्थ्यो । बेला–बेलामा टुङ–टुङ गर्दै विभिन्न सूचना बजिरहेका हुन्थे । विमानको पालो आएपछि बोलाइन्थ्यो पनि । अरुको देखेर मैले पनि जानी सकेको थिएँ । हाम्रो पनि पालो एयरलाइन्सको नाम लिएर दिल्ली भन्यो म लागेँ, त्यतै ।
फेरि सुरक्षा जाँच भयो । विमानमा बसेँ । सिट नम्बरअनुसार नै बस्न पाइने रहेछ । त्यो बेलामा आन्तरिक जहाजहरुमा सिट नम्बरअनुसार बस्ने चलन थिएन । सुरुमा जो जान्छन्, उसले चाहेको ठाउँमा बस्न पाइन्थ्यो तर यो पटक त्यस्तो भएन ।
विमान अजंगको ठूलो थियो । चढ्ने मान्छे पनि छिचिमिराजस्ता धेरै थिए । त्यो भन्दा ठूला र धेरै मान्छे अट्ने विमान पनि हुँदा रहेछन् तर त्यो बेलामा अरु कुनै देखेको थिइन । अन्तर्राष्ट्रिय यात्राको पहिलो अनुभव भएकोले चारैतिर चनाखो भएर हेरिराखेको थिएँ । गजब लागिरहेको थियो । खुसी पनि असाध्यै थिएँ । सानो जहाज चढ्दा ट्र्याक्टर चढेकोजस्तो हल्लाउँथ्यो तर यो विमानमा त हल्लेको महसुस नै भएन ।
अन्तर्राष्ट्रिय उडानमा खाना पनि दिन्छन् भन्ने सुनेको थिएँ । नभन्दै उडेको केही समयमा खानाको प्याकेट बाँड्न थाले । करिब एक घन्टाको यात्रा भएकाले खाना खाँदा खाँदै पुगेजस्तो लाग्यो ।
दिल्ली विमानस्थलमा पुग्यौँ । बाहिर हेर्दा त छक्क परेँ । कति फराकिलो एयरपोर्ट । विमान पनि ठूला ठूला अनि धेरै पनि थिए । विमानबाट झर्नलाई एउटा डुँडजस्तो बोकेर मोटर आयो । त्यहीभित्र छिरेर घरभित्रै निस्कियौँ । त्यहाँ केही फारमहरु भरेर विमानस्थल बाहिर निस्केँ । त्यो पनि बाटो थाहा हुने कुरो भएन । अरुको पछि लागेर निस्कन सफल भएँ ।
काठमाडौं हुँदा नै डा.निर्मल भट्टराईले मलाई धेरै जानकारी दिनु भएको थियो । त्यो जानकारी असाध्यै काम लाग्यो । उहाँले दिल्ली एयरपोर्टबाट निस्कनेबित्तिकै प्रिपेड ट््याक्सी लिनु भनेर सल्लाह दिनु भएको थियो । यस्तोले चाहिँ ठग्दैन भन्नु भएको थियो । उहाँले नै मेरो सबै खर्चपर्च व्यहोर्ने क्यानाडेली संस्था र त्यसका प्रमुख डा. माधव कार्कीका बारेमा बताउनु भएको थियो । मैले त्यसै गरेँ । तर ट््याक्सीवालाले तिमीले ठाउँ नचिनेर धेरैतिर घुमाएँ भनेर सय रुपैयाँ थप लगिछाड्यो । कार्यालयमा पुगी डा.माधव कार्कीसँग भेट गरी भोपालसम्मको रेलको टिकट लिएँ । उहाँले जाने तरिका सबै बताइदिनु भयो ।
पहिलोपटक रेल चढ्दा
म रेल चढ्न रेल प्लेटफर्मतिर जानु पर्ने थियो । एक गार्डलाई सोधेँ, कति टाढा छ भनेर । त्यति धेरै टाढा छ जस्तो लागेन । मसँग प्रशस्तै समय थियो । विस्तारै हिँडे । मेरो झोला पनि बोझिलो थिएन । ट््याक्सी लिँदा ठगिएको ताजै अनुभव छँदै थियो । साँझको रेल थियो । विस्तारै घुम्दै हिँडे । चाँदनी चोक गएँ । भटौरा खाएँ । अनी रेल स्टेसन गएँ । सो को बाहिर पुगेछु । त्यही रेल आउँछ भन्ने लागेछ । बाहिरतिर घुमिरहेको थिएँ । भित्र मान्छे आउजाउ गरेको देखेँ । के रहेछ भनी विस्तारै भित्र पसेँ । भित्र त अर्कै संसार पो देखेँ । छक्कै परेँँ । घरजस्तो देखिएको त गेट पो रहेछ । रेल त त्यसभित्र पो हुँदा रहेछन् । त्यहाँका सूचना हेर्दै अगाडि बढेँ । त्यहाँ भित्र धेरै गेट हुँदा रहेछन् । मेरो कुनमा रहेछ हेरेँ । विस्तारै हेर्दै खोज्दै गरेँ । रेलको एक डिब्बाको ढोकामा लिस्ट टाँसेको रहेछ । त्यसमा मेरो नाम नै पाएँ । म छक्क परेँ । यतिखेर पो डर लाग्यो । स्टेसन बाहिर नै बसिरहेको भए के हुन्थ्यो होला भनेर ।
निर्धारित समयभन्दा केही अगाडि नै रेलमा चढेँ । सिट खोज्दै गएँ । कस्तो सिट हुन्छ भन्ने थाहा थिएन । बसकै जस्तौ हुन्छ होला भन्ने लागेको थियो । भित्र हेर्छु त पूरै बेन्चजस्तो देख्छु । कता बस्ने थाहा भएन । पर्दा पनि छ । वाताअनुकूल कोठामा जस्तो लाग्यो । के हो के हो पत्तै भएन । म उभिइरहेँ । एकजनाले मेरो टिकट हेरे । यता बस भनेर देखाए । २ तले बस्ने ठाउँ रहेछ । खाना पनि त्यही ल्याइदिँदो रहेछ । मजाले खाएँ । सुतेँ । सबै रेलमा यस्तै सुविधा हुन्छ होला भन्ने लागेको थियो (यस बारेमा प्रष्ट हुन मलाइ धेरै वर्ष लाग्यो ) ।
मलाई भोपाल कति खेर आइपुग्छ म कसरी ओर्लने भन्ने चिन्ता मात्र थियो । नजिक रहेकालाई सोधिरहन्थ्ये । भोलि पल्ट बिहान मात्र पुगिन्छ भनेकाले आनन्दले सुतेँ । भोपाल रेल स्टेसन आएपछि मलाई जानकारी दिए । म ओर्लिएँ ।
तालिम आयोजकलाई फोन गरेँ । मलाई लिन गाडी आयो । भोपालमा रहेको वन क्याम्पसमा तालिम हुँदै थियो । त्यहाँ पुगेँ । खाना खाएँ । बस्ने राम्रो सुविधा थियो । तालिम सञ्चालन भयो । सायद ५ दिने तालिम थियो । रमाइलोसँग लिइयो । भाषामा खासै कठिनाइ भएन । हिन्दी र अंग्रेजी दुवै भाषा प्रयोग हुन्थ्यो ।
तालिममा जडिवुटी खेतीसम्वन्धी छलफल र अवलोकन धेरै भयो । त्यही गएर थाहा पाएँ, गड्यौला पनि पालिन्छ भनेर । भारत सरकारले जडिबुटीलाई प्रवद्र्धन गर्न खेतीमा अनुदान दिने, उत्पादन खरिद गर्नेजस्ता काममा सहयोग निरन्तर गरिरहेको पाइयो ।
दिल्लीमा गाडी चढ्न र ओर्लन नै मुस्किल
दिल्लीबाट भोपाल जाँदा चिनेका साथी कोही थिएनन् तर फर्कँदा थिए । उत्तराखण्डतिरका २ जना तालिममा सहभागी थिए । उनीहरु पनि दिल्ली हुँदै फर्कने भएकाले सजिलो भयो । उनीहरुले हरेक ठाउँमा सहयोग गरे, सिकाए । दिल्लीमा रेलबाट उत्रेर गाडी चढ्न थालेको मैले सकिनँ । काठमाडौंमा बस आएपछि स्टेसनमा धेरै बेर रोकिने हुनाले आरामले उक्लने ओर्लने गरिन्थ्यो । दिल्लीमा हिँड्दा हिँड्दै चढ्ने र ओर्लनु पर्दो रहेछ । मेरो साथी चढिहाल्यो म त हेरेको हे¥यैं भए । अर्को स्टेसनमा पुगेर फर्केर आएर मलाइ लिएर गयो । ती साथीहरुले दिल्ली घुमाइदिए । खाना खाजा खुवाए । मलाई जाँदा अलमल भएको मेरो खर्चपर्चको प्रबन्ध गर्ने संस्थाको कार्यालयमा पु¥याए ।
राजाको कु को कारणले झण्डै दिल्ली नै बस्नु परेको
भोपालमा हाम्रो तालिम चलिरहँदा नै नेपालमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन आफैँले लिएको घोषणा गरे । बाह्य देशवाट आउने प्लेनहरु बन्द गरिएको थियो । फोनहरु पनि बन्द थिए । मेरो दिल्लीबाट काठमाडौं आउने टिकट पनि अन्योलमा प¥यो । म रेलमै भोपालबाट दिल्ली फर्केँ । मेरो टिकट भएको एयरलाइन्सले तत्कालिन शाही नेपाल वायु सेवा निगमको विमानमा टिकट सारी दिएर काठमाडौं आउन सकेँ । दिल्लीमा अड्केर बस्नु परेन । त्यो बेलामा मेरो कोठामा भारतीय कम्पनी युटिएलको टेलिफोन थियो । त्यो पनि बन्द भएकाले सम्पर्कविहीन थिएँ । इमेल इन्टरनेट त थाहा पनि थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *