बद्नामीहरुको थलो बन्दै स्वास्थ्य मन्त्रालय

समाचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायका बिसंगती र बद्नामीहरु अन्य मन्त्रालय वा विभागको भन्दा कम छैनन् । त्यस्ता अड्डामा काम गर्ने पात्र पनि कम अटेरी हुँदैनन् । बरु काग कराउँदै गर्दछ पिना सुक्दै जान्छ भन्ने शैलीमा ती काम गर्दछन् ।
बबरमहलमा रहेको औषधि व्यवस्था विभागका महानिर्देशक रहिसकेका पात्र हुन् नारायण ढकाल । अहिले आफ्नै अटेरीपनाका कारण उनी काम न काजका भएका छन् । घरबाट हरेक दिन कार्यलय जान्छन्, रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा छिर्छन् पनि तर त्यहाँ उनका लागि न त बस्नका लागि कार्यकक्ष छ,न त कुर्सी नै । आफ्नै अटेरीपनाका कारण उनी यस्तो स्थितिमा पुगेका हुन् । महिनौँ दिन भयो अरु साथीभाइको कोठा चहार्दै हिँड्ने बानी परेको । अरुको कोठा चहार्दै उनी पीडा पोख्छन् र भन्छन्, ‘न्याय पाइनँ ।’ उनले के खोजी हिँडेको मन्त्रालयका कर्मचारी नै बुझ्दैनन् । उनको पीडा पोखे न बुझ्ने हो अरुले । सह सचिव ढकालकै बदमासीका कारण औषधि व्यवस्था विभागबाट उनलाई खुमलटारमा रहेको राष्ट्रिय प्रयोगशालामा धपाइएको थियो तत्कालीन मन्त्री भानुभक्त ढकालले ।
उनीमाथि चार्ज थियो, कोरोनाका औषधिलगायत सामग्रीमा अनुमति दिन हिचकिचाहट गरेको एवं वालुवाटारसँग नजिक रहेका एक जना व्यक्तिले चलाएका आर्युेवेद हस्पिटल (पाथिभरा आयुर्वेदिक अस्पताल)को अनुगमन ग¥यो । त्यस्का मालिक ताप्लेजुंगका डिपी तिमिल्सिना । डिपीले वालुवाटारको कान फुकेपछि उनलाई बबरमहलबाट खुमलटारतिर धपाइएको थियो । अहिले त्यहाँ भरत भट्टराई डिजी छन् । यो बीचमा नारायण अदालत गए । मुद्धा जिते पनि,अदालतले मन्त्रालयमा जिम्मेवारी दिन आदेश दियो । मन्त्रालयले डिजी बनाएर पठायो खुमलटार । उता पनि जाने चासो देखाएनन् । बरु दैनिक मन्त्रालय आउँछन्, साथीभाइको कोठा कोठा चहार्छन् । पीडा पोख्छन्, ‘मैले न्याय पाइनँ ।’
उता ६४ हजार थान मास्क किनेको र स्यानिटाइजमा अनियमितता गरेको चार्ज लागेपछि त्यहाँका स्टोर किपर प्रेम विश्वकर्मालाई मन्त्री हृदयेश त्रिपाठीले त्यहाँबाट लखेटेर सिभिल अस्पतालमा पु¥याएका छन् । विश्वकर्माका आन्द्रा भुँडी चाल पाएका खोज पत्रकारितामा अब्बल कान्तिपुरका मकर श्रेष्ठले तपाईले यी स्टोर किपरलाई कुनै हालतमा हटाउनै सक्नुहुन्न भन्ने च्यालेञ्ज नै दिएको भोलीपल्टै उनलाई त्यहाँबाट खेदिएको हो । उता स्वास्थ्य सेवा विभागका हाकिम छन् दीपेन्द्ररमण सिंह र आपूर्ती महाशाखाका हाकिम डा.भीमसिंह तिंकरी । यी यस्ता जब्बर पात्र, दुवै ओम्नी ग्रुप निकटका । उनकै स्वार्थअनुसार काम गर्दै आएका । मन्त्री हृदयेश त्रिपाठीले बोलाएको जुन कुनै बैठकमा पनि आधा सकिए पछि छिर्ने र हरेकपटक अरु कर्मचारीकै अघि मन्त्री त्रिपाठीको गाली भेट्छन् । तर इज्जत भएकालाई नै हो बेइज्जतको डर हुने । उनीहरुलाई मन्त्रीको गाली खानु भनेको दाल भात खाएजस्तै हो भन्छन् कर्मचारीका कर्मचारीहरु चाहिँ ।
यो बीचमा स्वास्थ्य मन्त्रालयले तीन जना हाकिम परिवर्तन गरेको छ । मन्त्रालय अघिल्लो साता सहसचिवत्रय मदनकुमार उपाध्याय, राधिका थपलिया र सुनिलकुमार शर्मालाई परिवर्तन गरेका हुन् । जसअनुसार, यसअघि स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रमा बसेर चलखेल गर्दै आएका हाकिम सुनिलकुमार शर्मालाई त्यहाँबाट तानेर स्वास्थ्य सेवा विभागतिर पठाइएको छ । उनी आफू अनुकुलका पत्रिका तथा मिडियामा स्वास्थ्य सम्बन्धी प्रचारप्रसार प्रसारको बजेटमा कमिसनको खेलो गर्दै विज्ञापन दिने धन्दा गर्दै आएको थिए । उनको ठाँउमा राधिका थपलियाले जिम्मेवारी पाएकी छिन् । गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा मदनकुमार उपाध्यायको काँधमा आइलागेको छ । उनी यस अघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *