मुलुक नै भारतलाई जिम्मा दिने खेल

लेख

कमलराज राई
अहिले मुलुक नै भारतलाई जिम्मा दिने खेल भइरहेको प्रमाणित भएको छ । भारतले पनि नेपाललाई भौतिक रुपमा आक्रमण गरेर लिन चाहँदैन । यसका लािग उसले वैधानिक बाटो खोजिरहेको बेला नेपाली नेताहरुले भारतीयको खेललाई साथ दिएको देखिन्छ । दिनभर भारतलाई गाली गरेर नथाक्ने तर जसै साँझ पर्छ तव लैनचौर धाएर भारतीय अधिकारीको खुट्टा ढोगेर बिहान बेलुका हातमुख जोड्ने जोडजाम गरेको धेरै उदाहरणहरु छन् । सिक्किममा आमचुनाव हुँदा दार्जिलिङका गुन्डाहरु लगेर बुथ कब्जा गरेर लेन्डुप दोर्जेको दललाई ३२ सिटमा ३१ सिट जिताउने काम भयो । यहि खुसीयालीमा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लेन्डुपलाई नयाँ दिल्लीमा राखेर सिक्किमको मुख्यमन्त्री बनाउने काम भयो । तर, त्यसको पाँच वर्षपछि सन् १९७९ हुने आम निर्वाचनमा लेन्डुपले उम्मेदवारी दर्ता गर्न जाँदा उनको नाम मतदाता लिस्टमा नाम नभएपछि उनी झल्याँस्स भएका थिए । तर, त्यसबेला धेरै ढिला भइसकेको थियो । अहिले नेपालमा पनि पद पाउनका लागि नेताहरु भारतसँग जे जस्तो सम्झौता गर्न पनि तयार भएका छन् । उनीहरु भारतसँग बिकिरहेका छन् । उनीहरुको चाल, ढालले लेन्डुप दोर्जेको दाँजोमा पु¥याएको देखिन्छ ।
अहिलेका प्रधानमन्त्रीले कुनै बेला नागरिकता बाँड्ने कामलाई राजारानीको जन्मोत्सवको अवसरमा बाँडिने चकलेटसँग दाँजेपछि उनी राष्ट्रवादी कहलिएका थिए । तर, आज उनैले आफ्नो पद जोगाउनका लागि विदेशी बुहारीलाई भोलि नै वंशजको आधारमा नागरिकता दिने मिल्ने गरी अध्यादेश ल्याएका छन् । यत्ति मात्र होइन, नेपालीको भान्जाभान्जीलाई स्वतः वंशजको नागरिकता दिन मिल्ने गरी अध्यादेश ल्याइएकाले अब नेपाल भान्जाभान्जीहरुले नै सञ्चालन गर्ने दिन आउन बेर लाग्ने छैन । हरेक वर्ष दसौँ लाख नागरिकताविहीन छन् भनेर भनिँदै आइएको छ । यसबारे भरपर्दो छानबिन आयोग बनाउन सकिएको छैन ।
बाबुको नाम, ठेगाना पत्ता नलागेसम्म नेपालमा जन्मेका व्यक्तिले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरेर नेपाली नेताहरुले कस्लाई गुण लगाउँदै छन् ? यो मुलुकलाई फिजी बनाउने चालभन्दा अरु केही होइन । कुनै बेला व्यापारको लागि फिजी पुगेका भारतीयले आज फिजीमा शासन गरिरहेका छन् । फिजीको अन्तरिम कालमा भारतीयको चालबाजीका कारण खासगरी व्यापारी भारतीयले फिजीका नेताहरुलाई खर्च दिएपछि त्यसै गुण तिर्दा आज फिजीका आदिवासीहरु अल्पमतमा परेका छन । भारतीय व्यापारीहरुले फिजीको नेताहरुलाई खरिद गरेर उनीहरुले नागरिकता पाउन सजिलो हुने गरी संविधान बनाए । त्यसपछि त्यहाँ सबै भारतीयले फिजीको नागरिकता लिए । कालान्तरमा उनीहरुको बहुमत भयो र फिजीको शासन सत्तामा अहिले भारतीय मुलको हालीमुहाली देखिन्छ । नेपाली नेताहरुको पछिल्लो कदमले अब नेपाल पनि फिजी बन्ने संकेत देखिएको छ ।
नेपालमा लाखौँ भारतीय छन् । जो व्यापारदेखि साधारण कुल्ली कामसम्म गर्दै आएका छन् । अबको नागरिकता ऐनले अब ती सबै व्यापारीदेखि कुल्ली काम गर्नेले सम्म नेपाली नागरिकता लिने छन्, त्यो पनि वंशजको । त्यसपछि उनीहरु चुनावमा उम्मेदवार हुन्छन्, किनभने उनीहरु व्यापारी हुन् । उनीहरुसँग प्रशस्त पैसा छ, त्यहि पैसाले सोझासादा नेपाली खरिद गरेर चुनावमा जित्छन् र उनीहरु आफू अनुकूल कानुन निर्माण गर्ने देखिन्छ । नेपाली नागरिकता त्यो पनि वंशजको नागरिकता पाउने भएपछि बाबुको खोजबिन गर्नु आवश्यक छैन । नेपालमा जन्मेपछि वंशजको नागरिकता पाउने कानुनले नेपालीलाई अल्पमतमा पारेर नेपाललाई सिक्किमजस्तै बनाउने दाउमा भारत देखिएको छ । तर, कतिपय नेपाली पत्रकारहरु पनि भारतबाट खर्च आउने भएपछि उनीहरु भारतविरुद्ध लेख्न चाहेका छैनन् ।
सुरुमा राष्ट्रवादीको परिचय बनाएको वर्तमान सरकारले नागरिकताको अध्यादेश ल्याएपछि उसको राष्ट्रवाद छरपष्ट भएको छ । सरकारले मधेस केन्द्रित दलको मागअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि अब यो सरकारमा मधेसकेन्द्रित दलहरु सामेल हुने भएका छन् । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशमा नेपालमा जन्मेका व्यक्तिको बाबु पत्ता नलागेसम्म उनलाई वंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । यस अघिसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । सरकारले सो व्यवस्थालाई संशोधन गरेर अध्यादेश जारी गरेपछि अब नेपालमा व्यापार गर्न आएका भारतीय र नेपालमा कुल्ली काम गर्न आएकाहरुले नेपाली नागकिता लिएर नेपालीलाई नै अल्पमतमा पार्ने देखिएको छ । हिजो भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध उफ्रेर राष्ट्रवादी बनेको यहि सरकारले भारतीयलाई नेपाली नागरिकता दिएर भारतलाई गुण लगाएको देखिन्छ । हरेक मुलुकले आफ्नो देशको नागरिकता वितरण गर्दा अत्यन्तै चनाखो हुने गर्दछ । यत्ति मात्र होइन, कि अरुले नागरिकता नपाऊन् भनेर सरकार सधैँ सचेत हुन्छ ।
तर, नेपाली शासकहरु भने सधैँ भारतलाई खुसी पार्न अघि सरेको पाइन्छ । देश रहोस् या नरहोस् तर आफू चाहिँ सत्तामा बस्नुपर्ने शासकहरुको गलत सोचाइका कारण नेताहरुले देश नै बेच्ने सम्भावना बढेर गएको छ । नेताहरुले सधैँ सत्ता पाउने हो भने नेपाललाई सिक्किमीकरण गर्न तयार देखिन्छन् । भारतले सधैँ नेपालमाथि हाबी हुँदै आएको छ । नेपाली शासकहरुले भारतीयलाई नागरिकता बाँडेर नेपालमा भारतीयहरुको बहुमत बनाउन चाहिरहेको छ । सरकारले आफू सत्तामा टिकिरहनका लागि भारतको आशिर्वाद लिन चाहेको देखिन्छ । यहि क्रममा उसले भारतीयले सजिलै नागरिकता पाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशमा विदेशीहरुले सजिलै नेपाली नागरिकता पाउने देखिएको छ । राष्ट्रवादको कुरा गरेर नथाक्नेले आज विदशीलाई नागरिकता दिने गरी अघि बढ्नु देशद्रोही कामभन्दा अरु केही होइन । अहिलेको प्रावधानबाट धेरै भारतीयले नेपाली नागरिकता पाउने र उनीहरुबाट नेपाली शासित हुने आशंका उब्जिएको छ । अहिलेको प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन नेपाली नागरिकता वितरण गर्नु कुनै पनि कोणबाट उचित छैन ।
यत्ति मात्र होइन, यो अध्यादेश नेपाल विदेशीबाट शासन गर्ने, नेपाल कब्जा गर्ने र नेपाललाई फिजीकरण गर्ने षड्यन्त्र भएको बुझ्न सकिन्छ । नेपालको संविधानले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित नहोउन् भनेको हो तर विदेशीबाट नेपाली शासित होऊन् भनेर संविधानले भनेको छैन । तर, यहि धारामा टेकेर सरकारले ल्याएको अध्यादेशले भने भारतीयहरुलाई घुमाउरो हिसाबले नागरिकता वितरण गर्ने चाल देखिन्छ । यहि क्रम जारी हुने हो भने विदेशीबाट शासित हुने व्यवस्थाको सुनिश्चित गरेको छ । नेपालमा जन्मिएको आधारमा वंशजको नागरिकता पाउने हो भने नेपालमा लाखौँ भारतीय छन्, उनीहरुले नागरिकता पाएपछि उनीहरु नेपालमाथि शासन गर्न अघि बढ्ने छन् । त्यस्तै, नेपालमा जन्मेको तर बाबुको पहिचान नभएको भनिएको छ, नेपाली नागरिकता पाउने भएपछि बाबुको पहिचान खोज्नु आवश्यक छैन । यसबाट नेपालीको भान्जाभान्जीले नागरिकता पाउने र त्यसैका आधारमा उनीहरु शासन वर्गसम्म पुग्ने हैसियत राखेकाले अब नेताहरुले मुलुक बेच्ने तयारी गरेको बुझ्नुपर्छ ।
तर, नेपाली नेताहरु जीवनभर सत्तामा रहने हो भने उनीहरुले देश नै बेच्ने काम गर्न बेर छैनन् । तर, भारतको चालबाजी बुझ्नका लागि धेरै टाढा फिजी जानै पर्दैन, यसका लागि सिक्किको चार दशकअघिको इतिहास हेरे पुग्छ । भारतले सिक्किमका तत्कालीन प्रधानमन्त्री लेन्डुप दोर्जेलाई आजीवन मुख्यमन्त्री बनाउने सर्तमा हस्ताक्षर गरेर सिक्किमलाई भारतमा बिलय गराइयो । तर, पछि उनैलाई चुनाव लड्न दिइएन । सुरुमा लेन्डुपलाई आजीवन मुख्यमन्त्री बनाउने भनिएको भए पनि सिक्किममा भारतीय संविधान लागू भएपछि त्यहाँ चुनाव गराउनै पर्ने भयो । त्यसबेला लेन्डुपलाई नै अनागरिक बनाउने काम भयो । तर, कालान्तरमा उनी यत्ति बिजोग भए कि उनले जीवनका उत्तराद्र्धमा आफ्नो गुमनाम जीवनलाई दार्जिलिङको गुमपहाडको कुनै बेनामी स्थानमा बिसाउनु पुगेका थिए । सिक्किमको प्रधानमन्त्रीसमेत बनेका व्यक्तिले जीवनमा एक जोर मोजा पनि खरिद गर्न नसकेर च्यातिएको मोजासँगै इहलिमा समाप्त गरे । एक पूर्वप्रधानमन्त्रीले साँच्चै दुःख नै पाएको भए, जनताले आफू नखाएर खुवाउँथे, आफू नांगै बसेर पनि आङ ढाक्न दिन्थे होलान्, तर सिक्किम देश र जनताप्रति गद्दार गर्दा उनले जीवनको उत्तराद्र्ध गुमनाम हुनु सामान्य कुरा होइन । यसबाट नेताले पनि धेरै कुरा सिक्नु जरुरी छ । नेपालीलाई अल्पमतमा पारेर भारतीयको चल्खेल बढाउने काम भएको छ, यसले कालान्तरमा नेपालीलाई नै आफ्नै देशमा दयाको भीख माग्न बाध्य बनाउने नै छ । यसबेला नेपाली नेताहरुको अवस्था पनि लेन्डुपको भन्दा कम हुने छैन । त्यसैले खोक्रो राष्ट्रवाद नदेखाऊ र कुर्सी जोगाउनका लागि भारतीयलाई पूज्ने काम नगर । नेपालीको चित्त बुझाउन सक्यौ भने कोही कसैले कुर्सीबाट हटाउन सक्दैन । कुर्सी दिने काम भारतले होइन, नेपाली जनताले हो, चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *