खोप सर्वसुर्लभ बनाउनु आवश्यक

लेख

कमलराज राई
वास्तवमा नेपाली जनताको अत्यन्तै ठूला माग कहिल्यै हुँदैन किनभने अधिकांश नेपालीहरुमा आ–आफ्नै पौरखमा बाँच्ने संस्कार छ । अरुको भरमा बाँच्नै कला नेपालीले सिकेकै छनन् भन्दा हुन्छ तर पछिल्लो समय नेताहरुको सिको जनताले पनि गर्न थालेका छन् । जनताले माग्ने संस्कार सिक्न थाल्नु नेपालीका लागि सुहाउँदो संस्कार हुँदै होइन । अहिले सरकार प्रमुख वा मन्त्रीले विदेश गएपछि उसले के र कति सहयोग ल्याउन सफल भए ? यसको चर्चा हुन थालेको छ । यो मगन्त संस्कारले नेपालीको शीर निहुराएको छ । झन् गैरसरकारी संस्थाहरुको त काम नै माग्ने भएको छ । मागेर ल्याएर अभियान चलाउने र त्यहि अभियानकै सेरोफेरोमा सम्पन्न हुने सपना तिनै गैरसरकारी संस्थाकर्मीहरुले देखिरहेका छन् ।
आफूले कति प्रगति गर्न सक्यो भनेर सरकारले कहिल्यै मूल्यांकन गर्दैन वा खोज्दैन, बरु उस्ले त आफ्नो कालमा कति सहयोग ल्याइयो ? यसको फेहरिस्ता बनाएर बसेको देखिन्छ । हो, यहि मगन्ते प्रवृत्तिले नेपाललाई पछाडि पारेको छ । नेपालीले तिरेको राजस्वको सही सदुपयोग हुने हो भने यहि बजेटले विकासको मुल फुटाउन सहयोग पर्खनै पर्दैन । कोरोना खोप पनि कस्ले कति माग्न सक्यो ? यसको हिसाब किताब हुन थालेको छ । त्यहि मागेर ल्याएको खोप पनि प्रशस्त भएको छैन । मागेर नल्याएको भए हुन्थ्यो । मागेर आफू पुग्दो पाइँदैन तै पनि त्यहि खोपमा दाताहरुले राजनीति गरेर बसिरहेका छन् । भ,न् पछिल्लो कोरोनाविरुद्धको खोपको फेसन नै बढेको देखिन्छ । जब कोरोनाको खोप विकास भयो, तब यो खोपको माग अत्यन्तै बढेको छ । नेपालमा पनि भेरोसिल, कोभ्याक्सजस्ता खोपलाई मान्यता दिइएपछि दुईपटक लगाउनु पर्ने यी खोप लगाउन थालिएको छ । यसैबीच, अमेरिकाले एकपटक लगाउँदा पनि पुग्ने जोन्सन एन्ड जोन्सन खोप बनाएपछि यसको माग नेपालमा बढेको छ । त्यसो त नेपाल वैदेशिक रोजगारको भरमा चलेको छ । नेपाली श्रमिकहरुको गन्तव्य मुलुकहरुले जोन्सन एन्ड जोन्सनलाई मान्यता दिएकाले उक्त खोप लगाउन श्रमिकहरुले मरिहत्ते गर्दा पनि पाउन नसकेको समाचार बाहिर आएको छ । मुलुक सञ्चालन गर्नका लागि अहं भूमिका रहेको वैदेशिक रोजगारमा जाने युवाहरुलाई बिनासर्त खोप उपलब्ध गराउनका लागि कम्तीमा पनि सरकारले ठोस निर्णय गर्नुपर्छ । रेमिट्यान्सले चलेको मुलुकले रेमिट्यान्स ल्याउने वर्ग नै आज उपेक्षित हुनु लाजमर्दो कुरा हो तर सरकारले बुझेर पनि बुझ् पचाएको देखिन्छ ।
सरकारले जोन्सन एन्ड जोन्सनको खोप वितरण गर्न थालेको छ । यो खोप ५० वर्षदेखि ५४ वर्षसम्मका नागरिकहरु, स्वाथ्यकर्मी, सफाइकर्मी र वैदेशिक रोजगारका लािगि जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरुमा जाने व्यक्तिहरुलाई दिइने घोषणा गरिएको छ । खोप लगाउनेहरुको भीड बढ्दै गएपछि अस्पतालले खोप दिन नसक्ने भन्नेबित्तिकै परिस्थिति असहज हुन गएको छ । वैदेशिक रोजगारमा जानेहरुलाई कुनै पनि हालतमा खोप उपलब्ध गराउनतिर सरकार लाग्नु पर्छ । कतिपयको भिसा अवधि सकिन लागेको छ । उनीहरुलाई प्राथमिकतामा राखिनुको सट्टा खोपमा पनि राजनीति हुनु दुर्भाग्यपूर्ण मान्नुपर्छ । यो देश सञ्चालनमा भूमिका खेल्ने उनीहरुलाई यो वा त्यो को नाममा अल्मलाउन मिल्दैन । विदेश जानेहरुको हकमा सम्पूर्ण कागजात भएको खण्डमा उनीहरुलाई खोप दिने व्यवस्था सरकारले गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रमा जाने व्यक्तिहरुलाई सोही खोप प्रदान गरिने जनाएको थियो । तर, खोप लगाउन खोप केन्द्र जाँदा आवश्यक कागजात (पासपोर्ट र भिसा) सँगै लिएर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरे पनि उनीहरुले खोप नपाएकाले उनीहरु निरास भएर फर्कनु परेको छ ।
सरकार भर्खरै निर्माण भएको छ । मन्त्रीहरु सबै अनुभवी छन् । उनीहरुले यसअघि नै विभिन्न मन्त्रालय सञ्चालन गरिसकेको हुनाले नीतिगत निर्णय गर्न उनीहरुलाई कुनै अप्ठ्यारो हुने देखिँदैन । संसदमा ६१ सिट भएको कांग्रेसले विश्वासको मत पाउनु आफैँ अचम्मको कुरा हो । यसबाट सांसदहरु मुलुकमा संसदको अवधि पूरै पाँच वर्ष हुनुपर्छ भन्ने देखिन्छ । यत्ति मात्र होइन, दोस्रो ठूलो दलको नेतृत्व स्विकार्नु भनेको जनताले यो सरकारबाट ठूलो आसा राखेको छ । तर, अबको १७ महिनापछि चुनाव सम्पन्न गर्नुपर्ने भएकाले यो सरकारले जनताले गरेको आसालाई साकार बनाउने समय त छैन तर यसका लागि थालनी त गर्न सक्छ । आसा गरिएको भन्दा फरक तरिकाले नयाँ सरकार बनेको छ । यसबाट आमजनताले फरक किसिमले आसा गरेका छन् । जनतालाई अहिलेका लागि खोपको मात्रा पुग्ने गरी व्यवस्था मिलाउने हो भने जनताको पहिलो आसा पूरा हुने हुनाले सरकारबाट यो अभियानलाई पूरा गर्नु आवश्यक छ ।
तर, आसा गरिएको फरक तरिकाले बनेको सरकारले जितको उन्माद् नदेखाउनु भने हुँदैन । निवर्तमान सरकार जुन रफ्तारमा अघि बढेको थियो, त्यहि अनुरुपको गति कायम गर्न नसक्दा आज आफैँ थेचारिएको छ । एमाले र माओवादी केन्द्रबीच संयुक्त प्यानलमा चुनाव लडेपछि दुई तिहाइनजिकको परिणाम ल्याएका दुई ठूला कम्युनिस्ट पार्टीका नेताहरुमा जितको उन्माद देखियो । यहि उन्माद्ले आज दुई तिहाइ बहुमतको नजिकको पार्टीले सत्ता नै छाड्नु परेको छ । यो घटना नेपाली कम्युनिस्ट पार्टीको इतिहासमा अत्यन्तै शर्मनाक अवस्था हो । एक निर्वाचनमा बहुमत ल्याउँदा युग नै पल्टिएको र अब सत्ता कहिल्यै छाड्नु नपर्ने भन्ने सोचाइबाट अघि बढेको कम्युनिस्ट आफ्नै दम्भका कारण ठूलो दल भएर पनि आज सत्ताबाट हात धुनु परेको छ । आफ्नै पार्टीका नेताहरुलाई मिलाउन नसक्ने व्यक्तित्व पार्टीको नेतृत्वमा रहँदा हुने यस्तै हो ।
कम्युनिस्टको दम्भले आज सत्ता कांग्रेसको हातमा गएको छ । हुन त कांग्रेसको पनि इतिहास त्यत्ति चित्तबुझ्दो भने छैन । यसअघि स्पष्ट बहुमत ल्याएको कांग्रेसले पार्टीलाई दुई चिरा बनाएर सत्तामा ढलिमली गर्ने गरेको सबैले देखेकै हो । आफू दोस्रो ठूलो पार्टी भए पनि आज सत्तामा पुग्न सफल कांग्रेसले जितमा शालिनता देखाउन सक्नुपर्छ । हारलाई पनि शान साथ स्विकारेको कांग्रेसले यो जितलाई पनि शालिनताका साथ लिन सक्यो भने आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि निक्कै सहयोगी सिद्ध हुने देखिन्छ । पुनस्र्थापित प्रतिनिधि सभाको बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेको छ । अब आगामी निर्वाचन यहि सरकारले गराउने निश्चितजस्तै भएको हो । अहिले नै कांग्रेसलाई जनताले सत्तामा बसाउन चाहेकै होइनन्, यो त कम्युनिस्ट सरकारको दम्भका कारण बाध्यताले कांग्रेस सत्तामा आउनु परेको हो । कोरोना महामारीका बीचमा आफ्नै घमण्डका संसदमा विश्वासको मत माग्दा जनताले अस्विकृत हुनु परेको थियो ।
जनताले कोरोनाको उपचार नपाएर प्याकप्याक भएर लडिरहेका बेला सरकारले भने विश्वासको मत मागेर महामारीमा संसद किनबेचजस्तो फोहोरी खेल खेलेपछि जनताले सजाय दिएकै हो । अब मुलुकको शासन सत्ता कांग्रेसको हातमा आएको छ । निवर्तमान सरकारले आफूसँग दुई तिहाइ छ, जे गरे पनि हुन्छ भन्ने सोच्दा आज सडकमा जानु परेको छ । जनादेशलाई खेलाँची ठानेको सरकारले आज सत्ताबाट हात धुनु पर्दा ठूलो बेइज्जती सहनु परेको छ । पदीय मर्यादा बिर्सेर काम गर्नेलाई नेपालको संविधानले दण्डित गराएको हो । अब कांग्रेसले सबैलाई साथ लिएर अघि बढ्न सक्नुपर्छ । अघिल्लो सरकारले गरेको मनपरीलाई सुधार गरेर कानुनी शासनको स्थापनामा कांग्रेस रत्तिभर चुक्नु हुँदैन । अघिल्लो सरकारले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेकै हो । सिमित घेरामा रहँदै उखान र टुक्कामा हँसाएर संसार जितेको भान गर्ने शासकबाट जनताले मुक्ति पाएका छन् । तर, अबको सरकारले महामारीबाट जनतालाई जोगाउनका लागि सर्वस्वीकार्य बाटो अवलम्बन गरेन भने यसबाट जनता झन् निरास हुने सम्भावना बढेर गएको छ । निवर्तमान सरकारले गफबाट जनतालाई वाक्क पारेको कसैले बिर्सन सकेको छैन । तर, अबको सरकारले भने जनताको न्यूनतम् आवश्यकता पूरा गर्न सक्यो भने जनताबाट वाह्वाही कमाउने देखिन्छ । तर, कांग्रेसको पनि विगत त्यत्ति आसलाग्दो नभएकाले यसै भन्न नसकिने भए पनि बिग्रेको छवि सुधार्नका लागि यो समय पर्याप्त हुने हुनाले यतातिर ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *