पदको भागबण्डामा ओली र नेपालबीच सहमति हुँदै

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधव नेपालका बीचमा उत्पन्न भएको विवाद अब भागबण्डाको चरणमा प्रवेश गरेको छ । र, भागबण्डामा सहमति हुनासाथ विभाजनको डिलमा पुगेको एमालेको नेतृत्व तहमा चर्किएको विवादको निकास हुने भएको छ । यो विवाद समाधान गर्नका लागि अहिले विचार तथा कार्यदिशाको होइन अध्यक्ष ओली र नेता नेपालका बीचमा भागबण्डा मिलाउनु पर्ने समस्या मात्र देखिएको छ । केपी ओलीले अध्यक्ष पदबाट राजीनामा गरेर चार वर्ष अगाडि सम्पन्न भएको नवौं महाधिवेशनमा पराजित गरेका नेपालले अध्यक्ष पद पाउने वातावरण बनाउनु पर्ने अडान राख्दै आएको नेपाल पक्षले अहिले दशौँ महाधिवेशन नभएसम्म ओली र नेपाल समान हैसियतको अध्यक्ष हुनुपर्ने नयाँ प्रस्तावलाई अगाडि सारेको छ । नेपाल पक्षले अगाडि सारेको यो प्रस्तावप्रति ओली पक्ष पूर्ण सहमत नभए पनि नेपाललाई मर्यादा क्रममा दोस्रो स्थानमा रहने गरी दोस्रो अध्यक्ष बनाउन भने सकिने विचार व्यक्त गर्न थालिएको छ । तर, ओली पक्षका केही कट्टर नेताहरू भने बार्गेनिङलाई सहमतिमा रूपान्तरण गर्नकै लागि पार्टी विधानमा दुई अध्यक्षको प्रावधान नभएको अवस्थामा नेपाललाई पनि अध्यक्ष बनाउन नसक्ने अडान राख्न थालेका छन् र नेपाललाई पार्टीको अध्यक्ष हुने शौख छ भने उनले दशौँ महाधिवेशनसम्म पर्खिनुपर्ने टिप्पणी पनि गर्न थालेका छन् । अध्यक्ष ओलीले पार्टीमा उत्पन्न भएको विवाद समाधान गर्नका लािग लचकता प्रदर्शन गर्दै प्रतिष्पर्धी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदलाई क्षमादान समेत गरिसकेका छन् ।
त्यसभन्दा अगाडि देउवाको पक्षमा मतदान गर्ने सांसदलाई स्वतः अनुशासनको कारबाही गरेर पार्टीबाट निस्कासन गर्ने चेतावनीपूर्ण प्रस्ताव नेकपा एमालेको केन्द्रीय कार्य समितिले पास गरेको थियो । तर, अध्यक्ष ओली भने पार्टी एकताका लागि कारबाही होइन क्षमादानतिर गएपछि एकताको लागि केही सहज वातावरण बनेको थियो । यही कारणले गर्दा नै एमालेको केन्द्रीय कार्य समितिले सहमतिको बाटो बनाउनकै लागि १० सदस्यीय संयुक्त कार्यदलले तयार पारेको १० सूत्रीय सहमति–पत्रलाई अनुमोदन गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । तर, यस सम्बन्धमा नेपाल पक्षले अहिलेसम्म कुनै निर्णय गरेको छैन । तथापि गत सोमबार बसेको नेपाल पक्षको स्थायी समिति बैठकले पार्टी एकताका लागि काम गर्ने र नेताहरूको विपक्षमा कटु आलोचना नगर्ने प्रस्ताव पास गरेको छ ।
नेकपा एमालेकामा पद बाँडफाँट मिलाएर भए पनि सहमति कायम गर्ने प्रयास हुन थालेसँगै यो सहमति भाँड्ने कसरतसमेत अगाडि बढ्न थालेको छ । र, एमालेको अध्यक्ष ओली र नेता नेपालबीचमा सहमति हुन नदिनका लागि सबभन्दा बढी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सक्रिय भइराखेका छन् । अध्यक्ष ओली र नेता नेपालका बीचमा एकता नहोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले नेता नेपाललाई उक्साउने काम गर्दै आएका छन् । प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने पार्टीका २२ जना सांसदलाई अनुशासनको कारबाही होइन क्षमादान गर्ने निर्णय गरेका अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै नेपालले व्यक्त गरेको ‘महाराजाले आममाफि दिई बक्सियो’ भन्ने भनाइप्रति बधाई दिन भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोटेश्वरस्थित निवास पुगेर नेता नेपाललाई उक्साउने काम गरेका छन् । यदि तेस्रो पक्षको षड्यन्त्र र खुराफात सफल हुन सकेन भने भागबण्डामै सहमति भएर पनि एमाले अध्यक्ष ओली र नेता नेपालका बीचमा सहमति हुने सम्भावना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *