गत शनिबार बुद्धनगरको ए वान पार्टी

समाचार

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखेका छन् । शनिबार वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंको बुद्धनगरस्थित ए वान पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने बताए । निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ छ । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनको भनाइ छ ।
नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्यांग भएको टिप्पणी गरेका छन् । उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको आरोप लगाए । उनले भने, ‘हुँदाहुँदा अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका साथीहरू, आसा गरेर बसेका मान्छेहरू पनि छर्लंग भएका होलान्, निराश भएका होलान् । छाँगाबाट खसेको स्थितिमा पुगेका होलान् । कसैलाई पनि उहाँले गद्दार घोषणा गर्न सक्नुहुन्छ, कसैलाई पनि आम माफी दिन सक्नुहुन्छ । सर्वशक्तिशाली अध्यक्षको रूपमा विधानमा व्यवस्था गरौँ ।’ उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताए । उनले भने, ‘हामीले राम्रो सुझाव दिँदा मलाई घेराबन्दी गर्ने भन्न थाल्नुभयो । मलाई निर्देशन दिने मान्छे यस धर्तीमा जन्मेको छैन । मलाई मनमा जे आउँछ, स्वेच्छापूर्वक काम गर्नेछु । मेरो आदेश सबैले पालना गर्नुपर्छ भन्ने उहाँको मनोदृष्टि हामीले मनोगत भनेर त्यतिकै भनेका हैनौँ । तथ्य र घटनाक्रमले त्यसलाई पुष्टि गर्दै आइरहेको छ ।’ उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो ? भनेर प्रश्न गरे । केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढंगले पार्टीलाई अगाडि बढाउने बताए । ‘नियुक्त गरिएको एउटा पनि पदाधिकारी हटाएको छैन । उहाँले एकतर्फी रूपमा कदम अगाडि बढाउनुभएको छ,’ उनले भने । ओलीको नियत छर्लङ्ग भएको बताउँदै अहिलेसम्मको समस्याको कारण ओली कि हामी भन्दै प्रश्न गरे । दुई नेताको झगडाको विषय मात्रै भएको भए बामदेव गौतमले किन विधानमा त्यस्तो कुरा थप्न भनेको ? नेकपा कालमै बहुमत स्थायी समितिले किन ओलीको राजीनामा मागेको ? भन्ने प्रश्न गर्दै त्यसपछि पनि ओलीमा सुधार नभएको बताए । उनले भने, ‘ओलीमा तपाईंले कुनै सुधारको लक्षण देख्नुभएको छ ? सुधार गरेको कुनै काम देख्नुभएको छ ? उहाँ लोकतान्त्रिक बन्न खोज्नुभएको छ ? उहाँको आदेश त माधवकुमार नेपालजस्ताका लागि पार्टीमा ठाउँ छैन । उहाँले भनेका एक एक शब्द हेर्ने हो भने उहाँको स्तर बताउँछ । उहाँ कुन तहसम्म मान्छेलाई हियाउन सक्नुहुन्छ, बद्ख्याँई गर्न सक्नुहुन्छ उहाँको स्तर थाहा हुन्छ । त्यही भएर बामदेव कमरेडले विधानमा अध्यक्षले गद्दार घोषणा गर्ने व्यवस्था थप गर्न भन्नुभएको होला ।’ उनले ओलीको अत्याचार सहने अवस्था नभएको बताउँदै ओलीसमक्ष आत्मसमर्पण नगर्ने तर पार्टीलाई रूपान्तरण गरेर अघि बढ्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *