कमलराज राई
साँच्चै भन्ने हो भने नेताहरुमा नैतिकता हराएको छ । नैतिकताको खडेरीका कारण कार्यकर्तामा पनि नैतिकता हराउन थालेको छ । सत्ता भनेपछि अत्यन्तै लोभी बनिरहेका नेताहरुका कारण कार्यकर्ता पनि भ्रष्ट भएका छन् । राजनीति भन्ने वस्तुलाई व्यापार बनाउने काम भइरहेको छ । राजनीति गरेर राज्यको उपल्लो तहमा पुग्ने र त्यहाँ पुगेपछि जसरी भए पनि कमाउनु पर्ने मानसिकताले नेताहरु ग्रसित भएका छन् । यहि कारण नेपाली नेताहरूको संस्कारका कारण राजनीतिमाथि नै प्रश्न उठ्न थालेको छ । पद पाउने हो भने नेपाली नेताहरूले आमा, बाबुलाई समेत बेच्नेसम्मका हरकत देखाइरहेका छन् । यहाँ नैतिकतलाई सेलाएर स्वार्थको राजनीति गर्नेहरूको बिगबिगी चलिरहेको छ । गणतन्त्र भन्नु नै नैतिकताको राजनीति हो । तर, नेपालमा भने यस्तो हुन सकेको छैन, बरु अझै पदका लागि सिद्धान्तलाई तिलाञ्जली दिने काम भइरहेको छ । पद पाएपछि कत्तिसम्म तल गिर्न सक्छन् भन्ने कुरा पछिल्लो प्रदेशको राजनीतिबाट देखिएको छ । अहिले हिजो विरोध गरेकाले पद दिएपछि आज उनैको गुलामी गर्न अघि सर्ने गरेका छन् । आफ्नो मतलब पूरा नभएसम्म विरोध गर्ने र आफ्नो मतलब पूरा भएपछि उसैको जयजयकार गर्ने नेताहरूको प्रवृत्तिले देश र जनताले दुःख पाइरहेका छन् र अझै नेपालीले दुःख पाउने नै छन् ।
अरु त अरु, अहिले मुलुकमा सांसद किनबचेको शृंखला चल्न थालेको छ । खासगरी अहिले प्रदेशमा कार्यकर्ता, नेता तथा सांसद किनबेच चलिरहेको छ । जस्को पछिल्लो उदाहरण प्रदेश नं. १ र वागमतीमा देखिन थालेको छ । नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु हुनुले यसको संकेत गरेको छ । प्रदेश नं. १ र वागमतीमा नयाँ सरकार बनेकाले संविधानअनुसार उनीहरुले विश्वासको मत लिनुपर्ने छ । आफ्नो सरकार बचाउनका लागि सांसदहरू तानातान सुरु भएको छ । मुख्यमन्त्रीसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको अफरसमेत गर्न थालेपछि जनताको अगाडि निष्ठाको राजनीति गरेको भन्नेहरू जनताका अगाडि गिरेका छन् । आफ्नो पद जोगाउनका लागि हिजोको सहयात्रीहरूमाथि कुठाराघात गर्नेहरूबाट जनताले के बुझ्ने ? आफ्नो पद जोगाउनका लागि सांसद किनबेचमा अघि बढेका मुख्यमन्त्रीहरूबाट देश र जनताले केही पनि पाउनेवाला छैनन् । नैतिकताको पाठ नसिकेका नेताहरूबाट यो देश र जनताले आसा गर्नु पनि व्यर्थ हो । आफ्नो पद जोगाउनका लागि सांसदहरूलाई मन्त्री पदको प्रलोभन देखाएनु कत्तिसम्मको जायज हो ?
नेताहरूले मन्त्री पदको पनि बेइज्जत गरेका छन् । मन्त्री पद भनेको प्रधानमन्त्री वा मुख्यमन्त्रीको कुर्सी बचाउनका लागि गरिने बार्गेनिङ पद भएको छ । मन्त्रीले देश र जनताको सेवा गर्नुपर्ने कल्पना गरिएको हो न कि नेताहरूको पद जोगाउनका लागि । अहिले त मन्त्री पद भनेको नै कुनै न कुनै नेताको पद जोगाउनका लागि प्रयोग गर्ने बल्छी भएको छ । मन्त्री पदलाई बल्छी बनाउने हो भने योभन्दा अर्को दुर्भाग्य के नै हुन सक्छ र ? प्रधानमन्त्री वा मुख्यमन्त्रीले त अन्य मन्त्रीहरूलाई नैतिकताको पाठ सिकाउनु पर्ने हो । मुख्य व्यक्तिले नै पदको बाँडफाँडका नाममा गरेको पदीय बार्गेनिङको अन्त्य हुनु आवश्यक छ । मन्त्री पद भनेको विशुद्ध देश र जनताको पक्ष्ँमा हुुनुपर्छ न कि उनीहरूको कुर्सी बचाउनका लागि उपयोग गरिने पद । नैतिकताको राजनीतिको स्थापना नगरिएसम्म गणतन्त्रको कुनै अर्थ छैन । बरु योभन्दा त हिजो पञ्चायती व्यवस्था नै ठीक थियो जहाँ अनियमितता त कम नै हुन्थ्यो तर अहिले त मन्त्री पद पनि प्रधानमन्त्री र मुख्यमन्त्रीको पद जोगाउने रक्षकका रूपमा विकास गराउनु सरासर अनुचित कार्य भएको छ ।
नेताहरु नै इमानदार नभएकाले कार्यकर्ताहरु इमानदार हुनुपर्छ भनेर भन्ने हक नेताहरुमा छैन । अहिले नैतिकताको प्रश्नकै कारण नेकपा एमाले दुई टुक्रा भएको हो । वास्तवमा नेकपा एमालेका अध्यक्षले आफू सर्वैसर्वा भनेर घोषणा मात्र गरेनन्, सबै शक्ति हातमा लिएर पार्टीमा जंगे बन्न खोज्दा आज पार्टी दुई टुक्रामा परिणत भएको छ । मुलुकको ठूलो पार्टी दुई वटा बनिरहँदा यसबाट देशले निक्कै क्षति बेहार्नु पर्छ किनभने यसबाट मुलुक अस्थिरतातर्फ अघि बढेको छ, भलै सर्वोच्च अदालतले स्थिरताको जग भने बसालेर नेताहरूलाई संविधानमा लेखिएको व्यहोराको अक्षरशः पालना गर्न सिकाएको छ । नेताहरू साँढे भइरहेका छन्, कानुनलाई नै बदलेर भए पनि आफू सर्वैसर्वा हुने गरी अघि बढ्ने कुचेष्टा हरेक सरकारले गरिरहेका छन् । यत्ति मात्र होइन, संविधानलाई नै मिचेर बाधा अड्काउ÷फुकाउ धाराको प्रयोगसमेत गर्न नेताहरू पछि परिरहेका छैनन् ।
लोकतान्त्रिक व्यवस्थामा मुलुकको सञ्चालन नै नेताहरूबाट हुने हो, आवधिक निर्वाचनमा जनताले आफ्नो प्रतिनिधि चुन्छन् र तिनै प्रतिनिधिहरूबाट मुलुक सञ्चालन हुने हो । अझ नेपालमा गणतन्त्रको स्थापना भइसकेको अवस्था छ । झन् गणतन्त्र भनेको नैतिकताको शासन व्यवस्था हो । यहि नैतिकताका खडेरी लागेको भन्दै एमालेबाट छुट्टिएर गएकाहरूले पनि उहि संस्कार दोहो¥याइरहेका छन् । एकै व्यक्ति पार्टी अध्यक्ष, संसदीय दलको नेता बनेर एमालेभन्दा फरक पार्टी बन्न सकेको छैन । एमालेमा हुँदा एक व्यक्ति एक पदको निक्कै बद्ख्वाइँ गर्नेले नै आज दुई वटा पद लिएर चमत्कार देखाएका छन् । एमालेभन्दा फरक बन्नका लागि एक व्यक्ति एक पद र युवा पुस्तालाई पार्टीको कुनै शक्तिशाली पदमा राख्नुपथ्र्यो । यसो गर्न नसक्ने हो भने पार्टी टुक्राएको अर्थ के नै रह्यो र ? युवा पुस्तालाई पार्टी अध्यक्ष वा संसदीय दलको नेता कुनै पद दिएर एमालेलाई पाठ सिकाएको भए पार्टीमा जनताको विश्वास बढ्ने थियो । यसो हुन नसक्दा पदका लागि मात्र पार्टी टुक्राएको देखिन्छ ।
हिजो एमालेमा रहँदा बस्दा नैतिकताको दुहाइ दिएर नथाक्ने नेताले पार्टीको दुई प्रमुख पद हातमा लिएर जनतालाई कस्तो सन्देश दिनु खोजेको हो ? भोलि जनताले सोधे भने यसको उत्तर कसरी दिने ? अब नवगठित नेकपा एकीकृत समाजवादी ले निष्ठाको राजनीति सिकाउने कतिपयको आसा थियो । तर, यो पार्टीले पनि उहि पुरानो नै संस्कार नछाड्ने देखिएको छ । नयाँ दल निर्माण गर्ने र मन्त्री बन्ने मात्र योजना हो भने कोही कसैको केही लाग्दैन । तर, नयाँ पार्टीले पनि पुरानो संस्कार नै अँगालेर अघि बढ्ने हो भने पार्टी टुक्र्याउनुको कुनै अर्थ थिएन । एक व्यक्ति मात्र सर्वैसर्वा बनाइयो भने पार्टीमा अधिनायकवादको गन्ध आउने एमालेबाट देखिएकै हो । अब नवगठित पार्टीले पनि एकै व्यक्तिलाई देवत्वकरण गर्ने हो भने यसले जनताको मन जित्ने सम्भावना भने कमै रहन्छ ।
नेता इमानदार रहे मात्र मुलुक अघि बढ्नेमा दुई मत छैन । तर, अहिले एमालेका नेता तथा जनप्रतिनिधिहरुले पार्टी परिवर्तनमा रेकर्ड बसाउन थालेका छन् । सूर्य चिह्नबाट विजयी भएर पनि उनीहरु आज पार्टी छाडेर बहुदलीय व्यवस्थाको उपहास गर्ने काम गरेका छन् । दलीय राजनीतिमा यो अत्यन्तै कु–कार्य हो । तर, एमालेमा पनि वास्तवमा कुनै एक व्यक्तिलाई मात्र देवत्वकरण गरेर अघि बढ्ने काम भइरहेको छ । आफूलाई मन नपर्ने व्यक्तिलाई पल्लो छेउ पु¥याउने परिपार्टी पार्टीमा चलेकाले नै आज हुँदाखाँदाको ठूलो पार्टी चोइटिएर धुलोपिठो बन्ने देखिन्छ । नेताले गलत काम र भाषण गरिरहँदा ताली बजाएर हौसला दिने कार्यकर्ताहरुको पनि ठूलो गल्ती छ । सँगै बसेका साथीहरुलाई समेट्नुको सट्टा उनीहरुको खिसिट्याँउरी गर्ने हो भने उनीहरुको आत्मसम्मानमा आँच आउँछ । उनीहरुलाई इज्जत गर्र्न नसक्नु नेतृत्वको सबैभन्दा ठूलो भुल हो । छुट्टिएर जानेको भन्दा पनि उनीहरुलाई छुट्टिएर जान बाध्य पार्ने व्यक्तिहरु यसमा बढी दोषी छन् । नैतिकतामा बाँच्ने र बाँच्न सिकाउने नेता, नेतृत्व नै विपक्षीलाई गालीबेइज्जत गर्दा अहिले कार्यकर्ताको ताली त पाइएला तर यसबाट पुग्ने क्षति भने अनुमान गरेभन्दा बढी हुन सक्छ ।