दलमा नीतिभन्दा व्यक्ति हाबी हुँदै

राजनीति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ गतेबाट भृकुटीमण्डपमा सुरु भएको थियो । उक्त महाधिवेशनमा सातवटै प्रदेशबाट प्रतिनिधि छनोट भएर सहभागी भएका थिए । सो महाधिवेशनमा भेला भएका प्रतिनिधिहरूले विभिन्न टिकाटिप्पणी गरेका छन् । कतिपय महाधिवेशन प्रतिनिधिले त यो महाधिवेशन नेपाली कांग्रेसको जस्तो नभएर कुनै वामपन्थी पार्टीको महाधिवेशन भनेर खिल्ली उडाएका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीको नीति कार्यक्रमभन्दा पनि व्यक्ति हाबी भएको बताएका थिए । पार्टीको नीति कार्यक्रम र विधानभन्दा पनि माथि रहेर व्यक्तिवादी भएको भनाइ प्रतिनिधिहरूको थियो । नेपाली कांग्रेसमा लागेर लामो समयसम्म पार्टीमा जीवन बिताएका नेता, कार्यकर्तालाई बाइपास गरेको भन्दै गुनासो गरेका थिए । विभिन जिल्ला, प्रदेशबाट आएका प्रतिनिधिले भन्दै थिए, ‘नेपाली कांग्रेसमा विधि र पद्दति सबै हरायो । पार्टीमा विधि पद्दतिभन्दा पनि पैसा र व्यक्ति हाबी भएको छ ।’
पार्टीले एउटा योजना र नीति बनाउन नसक्दा व्यक्ति हाबी भएको, नियमविपरीत काम गरेको, सधैँ एकै व्यक्ति पदमा रहने परम्परा बसेको भनी कार्यकर्ताले गुनासो गरेका छन् । महाधिवेशनमा पार्टीको नीति नियमभन्दा पनि व्यक्तिको प्रचार–प्रसार बढी भएको र पार्टीको नाराभन्दा व्यक्तिवादी नारा घन्किएको थियो । बाजागाजासहित व्यक्तिगत हुटिङ चलिरहेको थियो । कतिपय कार्यकर्ताले खान बस्न नपाएको भन्दै होटल रेस्टुरेन्ट धाएका थिए । कार्यकर्ताले पार्टीमा चन्दा र लेबी तिरेको पैसाको दुरूपयोग भएको भन्दै गुनासो गरेका थिए ।
राजनीतिक पार्टीले सिद्धान्त बिर्सिएको भन्दै स्वयं कार्यकर्ताहरू नै गुनासो गर्छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भेला भएका कतिपय कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले गुनासो गरेको अवस्था थियो । महाधिवेशन प्रतिनिधिले भरिभराउ भृकुटीमण्डपमा कुनै राजनीतिक पार्टीको महाधिवेशन नभएर कुनै एउटा कुम्भ मेला भएको भान आम नेपाली जनतालाई भएको थियो । यसरी एउटा राजनीतिक पार्टीले महाधिवेशन गर्दा कतिपय नेपाली जनताले दुःख भोग्नुपरेको अवस्था छ । जताततै गाडी जाम भएको थियो, गाडी जाम भएका कारण बिरामी बोकेका एम्बुलेन्सलाई समस्या परेको अवस्था थियो । महाधिवेशन काठमाडौंमा नभएर अन्य जिल्लामा पनि गर्न सकिन्थ्यो भन्दै आम नेपालीले गुनासो गरेका थिए । यस्तै नेपाली कांग्रेसको महाधिवेशनमा प्रचार–प्रसार गर्ने पाइँदैन भन्दै गर्दा सो महाधिवेशनमा प्रचार–प्रसार व्यापक रूपमा भएको थियो । ठूला–ठूला ब्यानर लगाइएको थियो । भिजिटिङ कार्डहरू बाँडिएको थियो । नेपाली कांग्रेसको महाधिवेशनमा व्यक्तिवादी प्रचार–प्रसार बढी भएका थिए । हुनतः नेपालमा राजनीतिक पार्टीको नीति सिद्धान्त नभएपछि कार्यकर्ताले व्यक्ति छान्न लागेको हुन् कि भन्ने आभास हुन थालेको छ । एमालेको १०औँ महाधिवेशनमा पनि पार्टीको नीति निर्माणभन्दा पनि एमालेमा केपी ओली नै हाबी भएका थिए । यस्तै नेपाली कांग्रेसमा शेरबहादुर देउवा हाबी भएका छन् । माओवादीमा पनि पार्टीको नीति निर्माणभन्दा पनि प्रचण्ड हाबी भएको देखिन्छ । यसरी समग्रमा नेपाली राजनीतिक पार्टीभित्र व्यक्तिवादी व्यवहारले गर्दा नेपालका राजनीतिक पार्टी सुधारोन्मुख होलान् जस्तो देखिँदैन । व्यक्ति हाबी भएपछि समग्र रूपमा नेपालीले विकासको आसा मारेको अवस्था छ ।
राजनीतिक पार्टीभित्र पुराना अनुभव, योग्य, क्षमता भएका व्यक्ति पाखा लगाउँदै गएको अवस्था छ । चाहे त्यो नेपाली कांग्रेसमा होस् या नेकपा एमालेमा । पार्टीमा केवल हावा बोल्ने, हुलदंगा मच्चाउने, गुण्डागर्दी, तस्करी गर्ने, ठेक्कापट्टा गर्ने व्यक्तिको लर्काे लागेको अवस्था छ । अनि पुराना ७० वर्ष उमेर हद नाघेका व्यक्तिले देशको बागडोर सम्हालेका छन् । कम उमेरका, पार्टीमा तिखारिएका, भिजेका कार्यकर्ता पाखा लाग्दै गएका छन् । यस्तै राजनीतिक पार्टीमा आवद्ध भएसँगै संघ संस्थामा समेत एउटै व्यक्ति पटक–पटक सभापति भइरहनुपर्ने, चाकडी चाप्लुसी गर्ने व्यक्तिलाई च्याप्ने, संगठनको नाम भजाएर अथवा पद भजाएर खाने व्यक्ति हाबी भएका छन् । संगठनमा काम गर्नु नपर्ने खाली व्यक्तिको चाकडी गर्ने मानिसले नेपालका संघसंस्था, राजनीतिक दलभित्र हाबी भएको देखिन्छ । यसरी समग्रमा हेर्ने हो भने नेपालको राजनीतिमा व्यक्ति हाबी भएर राजनीतिक दलको हैसियत हराउँदै जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *