पराजित उम्मेदवार पुगे निर्णायक हैसियतमा सभापतिका लागि देउवा र कोइरालाका बीचमा भिडन्त

राजनीति

नेपाली कांग्रेसको भावी सभापति चयनका लागि हिजो दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । गत सोमबार पहिलो चरणमा सभापतिका लागि भएको निर्वाचनमा बहालवाला सभापति शेरबहादुर देउवासँगै डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिष्पर्धामा उत्रिएका थिए । तर, नेपाली कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको कारण सबभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा दोस्रो चरणमा निर्वाचन हुनु पर्ने प्रावधानअनुसार अस्ति सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा २२५८ मत ल्याएका शेरबहादुर देउवा र १७२९ मत ल्याएका शेखर कोइरालका बीचमा हिजो दोस्रो चरणको निर्वाचन भएको छ । गत सोमबार सभापतिका लागि सम्पन्न भएको निर्वाचनमा सभापतिका अन्य उम्मेदवार प्रकाशमान सिंहले ३३१, विमलेन्द्र निधि २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए । पार्टी विधानअनुसार पचास प्रतिशत नगाएर सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवा ८२ मतबाट पछाडि परेका थिए ।
कुनै पनि उम्मेदवारले पचास प्रतिशत मत नगाउन नसकेपछि पार्टी विधानअनुसार देउवा र शेखरका बीचमा दोस्रो चरणको निर्वाचन हुने निश्चित भएसँगै नेपाली कांग्रेसका नेताहरूले नयाँ चलखेललाई अगाडि बढाएका थिए । निर्वाचन समितिले पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले पचास प्रतिशत मत नगाउन नसकेको घोषणा गरेसँगै गृहमन्त्री बालकृष्ण खाँड देउवाको पक्षमा प्रकाशमान सिंहलाई तान्न चाक्सिबारी पुगेका थिए । प्रकाशमान सिंहले भने पहिलो चरणको निर्वाचन सम्पन्न हुनु अगाडि नै यदि कुनै पनि उम्मेदवारले पचास प्रतिशत मत नगाउन नसकेर दोस्रो चरणको निर्वाचन हुने स्थिति आएका देउवालाई नेतृत्वबाट हटाउनका लागि उनीसँग प्रतिष्पर्धा गर्ने उम्मेदवारलाई पहिलो चरणबाट बाहिरिएका उम्मेदवारले समर्थन गर्ने भनाइ सार्वजनिक रूपमा राखेका थिए । यसैगरी निर्वाचन परिणाम औपचारिक रूपमा घोषणा भएसँगै पहिलो चरणमा सम्पन्न भएको निर्वाचनमा सम्पन्न भएको निर्वाचनमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह र चौथो स्थानमा रहेका विमलेन्द्र निधिले औपचारिक रूपमा नै हिजो बिहान दोस्रो चरणको निर्वाचनमा आफ्नो पक्षको समर्थन शेखर कोइरालालाई हुने बताएका छन् । तथापि, दोस्रो चरणमा पहिलो स्थानमा आएर सभापतिमा निर्वाचन हुनका लागि शेरबहादुर देउवाले सामदाम लगायतका सबै उपाय गरी राखेको बताइन्छ ।
२०७२ सालमा शुशील कोइरालाको निधन भएसँगै नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारबाट बाहिरिएको थियो । तत्कालीन उपसभापति रामचन्द्र पौडेलले १३औँ महाधिवेशन नहुँदासम्म कार्यवाहक सभापति भएर नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । र, १३औँ महधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवामा पुगेको थियो । पार्टीको १४औँ महाधिवेशन नजिक आउन थालेपछि शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाले पटकपटक भेटवार्ता र छलफल गरेर कांग्रेसको नेतृत्व कोइराला परिवारमा नै ल्याउनु पर्ने अठोट गरेका थिए । तर, महाधिवेशन संघारमै आइपुग्दा नेपाली कांग्रेसका यी तीन नेता तीनतिर फर्किने स्थितिमा पुगे । वर्तमान सरकारमा मन्त्रीको आकांक्षी रहेकी सुजाता कोइराला, प्रकाशनमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवार हुन पुगिन् भने निवर्तमान महामन्त्री डा.शशांक कोइराला पनि शेखर कोइरालाको पक्षमा खुलेर लागेनन् । यसैगरी १३औँ महाधिवेशन सम्पन्न भएदेखि नै संस्थापना इतर पक्षको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल नयाँ नेतृत्वको लागि निर्वाचन हुनै लाग्दा संस्थापना इतर पक्षमा सहमति गरेर सभापतिका लागि एकल उम्मेदवार तय गर्न शीर्ष नेताहरू सहमत नभएको भन्दै रुष्ट भएर मतदान प्रक्रिया बहिस्कार गर्न पुगेका थिए । र, नेता पौडेलले नयाँ नेतृत्वको लागि पहिलो चरणमा भएको निर्वाचन बहिस्कार गर्दा त्यसको फाइदा शेरबहादुर देउवालाई पुगेको थियो । समाचार सूत्रका अनुसार गत सोमबार पौडेल निवासमा नै पुगेर प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेललाई विभिन्न प्रलोभन दिएका थिए । यही प्रलोभनका कारण संस्थापना इतर पक्षबाट एकल उम्मेदवार तय नभएकोमा रुष्ट भएर मतदानमा नगएको बहाना बनाउन पौडेललाई सजिलो भएको हो भनिन्छ ।
पहिलो चरणमा पार्टी विधानअनुसार कुनै उम्मेदवारले पचास प्रतिशत मत नगाउन नसकेर हिजो सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन भएको भएपनि महामन्त्रीमा भने शेखर पक्षका गगन थापा र डा. मिनेन्द्र रिजालले सहज विजय प्राप्त गर्ने अवस्था सभापतिको निर्वाचन परिणामले देखाएको बताइन्छ । किनभने महामन्त्रीमा देउवा प्यानलले प्रकाश शरण महत र प्रदीप पौडेललाई अगाडि सारेको स्थिति भए पनि देउवा प्यानलका महामन्त्रीका यी दुई उम्मेदवारसँगै विमलेन्द्र निधिले महामन्त्रीमा अगाडि सारेका विश्वप्रकाश शर्माको स्थिति पनि कमजोर हुने सभापतिको निर्वाचन परिणामको स्थिति देखाएको छ ।
हिजो दिउँसो १२ बजेबाट सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन अगाडि बढेसँगै खास गरेर बालुवाटार दरबार र बूढानीलकण्ठ दरबार शेरबहादुर देउवालाई विजय गराउनका लागि विशेष रूपमा सक्रिय रहेको थियो । यो मामिलामा बालुवाटार दरबारको तर्फबाट बहालवाला मन्त्रीहरूले प्रभावशाली कांग्रेसी नेताहरूलाई समेत आफ्नो प्रलोभन र प्रभावमा पार्ने प्र्रयास गरेका थिए भनिन्छ । यो मामिलामा गत सोमबार बिहान बोहोराटारस्थित निवासमा नै पुगेर प्रधानमन्त्री देउवाले नेता रामचन्द्र पौडेललाई सक्रिय राजनीतिबाट अलग नहुन सुझाव दिएसँगै उनलाई भावी राष्ट्रपतिको लोभसमेत देखाएको बताइन्छ । यही लोभमा परेर रामचन्द्र पौडेल नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा आफू सहभागी भएको र आफूनिकटका लगभग साठी जना मतदातालाई पनि मतदान गर्नबाट रोकेका हुन् भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *