काठमाडौं । यो मुलुकमा सबैभन्दा बलिया र शक्तिशाली व्यक्ति को हुन ? मन्त्री,सांसद, नेता वा ठेकेदार ? यस्तै सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुनेछ । कारण नेपालका कर्मचारी कतिसम्म जब्बर र बलिया छन् भन्ने पछिल्लो एउटा उदाहरण हेरौ हैं त
निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइसकेको छ । गत चैत्र १३ मा स्थानीय तह निर्वाचनको लागि तोकिएका ६७६ निर्वाचन अधिकृत तोकेको हो । प्रमुख निर्वाचन अधिकृतका रुपमा जिल्ला न्यायधीशलाई खटाउने र निर्वाचन अधिकृत उपसचिव तहका कर्मचारीलाई खटाइएकोमा हालसम्म १०६ जनाको सूची हेरफेर भइसकेको पाइएको छ । निर्वाचनमा खटाइएकामध्ये ८७ जना उपसचिवले खटाएको ठाउँमा गएनन् भने बाँकी १२ जना उपसचिवले अन्यन्त्र (संशोधन) गराए । जबकी निर्वाचनमा खटिने कर्मचारीलाई शत प्रतिशत थप तलबका साथैं अन्य भत्ता समेत पाउने व्यवस्था छ । स्थानीय तहको निर्वाचनको क्रममा खटिने आयुक्त, कर्मचारी र सुरक्षाकर्मीदखि निर्वाचन आयोगको सचिवालय, निर्वाचन कार्यलयमा कार्यरत स्वीकृत दरबन्दी, स्थायी, करार वा काजमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र निर्वाचन सुविधा, खाना र खाजा,सञ्चारको खर्च पाउने व्यवस्था छ । यस्तो सेवा र सुविधा हुँदा समेत सयौंको संख्यामा उपसचिवहरु खटाएको ठाउँमा गएनन । त्यही कारण आयोगले यस अघि सार्वजनिक गरेको सुची पटक पटक गरी ६ पटक संशोधन गरिसकेको छ । आयोगले सूची सार्वजनिक गरेको दश दिन पछि एकै पटक ८७ जनाको सूची संशोधन भएकोमा सातादिनपछि १२ जना (मुख्य निर्वाचन अधिकृतसहित) हेरफेर गर्न भ्याएको छ । यो क्रम हिजो मंगलबार जारी रह्यो ।
आयोगले निकै चासो र चर्चाका साथ हेरिएको भरतपुरको मुख्य निर्वाचन अधिकृत नै फेरिदिएको छ । जहाँबाट माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल नै उठ्ने चर्चा छ । सो स्थानमा पहिला खटाइएका हेमन्त रावललाई हटाएर उनको स्थानमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै यस्मा गडबडीको आंशका गर्न थालिएको छ । यस अघि निर्वाचन आयोगले ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । यस्तै १६ जनाको संशोधन गरेको थियो । त्यसपछि पनि यो सिलसिला अस्ति २ गतेसम्म जारी रह्यो । आयोगले अस्ति शुक्रबारमात्र बैतडी र सप्तरीका दुई गाउँपालिकामा नयाँ अधिकृत नियुक्त गरेको थियो । आयोगले बैतडीको डिलासैनी गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा खटाइएका लोकबहादुर लोपचनलाई हटाएर उनको ठाउँमा विष्णुदत्त भट्टलाई खटाएको थियो । यस्तै सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका प्रकाशप्रसाद पोखरेललाई हटाएर उनको ठाउँमा यादवप्रसाद न्यौपानेलाई पठाएको थियो । यस्तै गत २९ चैत्रमा मात्र आयोगले यस अघि खटाएका १० जना निर्वाचन अधिकृतलाई पदबाट हटाएर उनीहरुको स्थानमा १० जना नयाँ निर्वाचन अधिकृतलाई खटाएको थियो भने आयोगले उपसचिव लक्ष्मीदेवी होमागाईलाई यस अघि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खटाएकोमा संशोधन गर्दै अब धनकुटाको महालक्ष्मी नगरपालिकामा खटाएको थियो । यस्तै हिजो मंगलबारमात्र आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत हेरफेर गर्न भ्याएको छ । आयोगका अनुसार मंगलसेन नगरपािलकामा पहिला खटाइएको मुख्य निर्वाचन अधिकृत नवीन कुमार जोशीलाई हटाएर उनको स्थानमा मनोज श्रेष्ठ खटाइएको छ भने नेत्रावति गाउँपालिकाको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तको ठाँउमा श्रीकला पौडेललाई खटाएको छ । यो समेत गरी आयोगले पहिला खटाएकोमध्ये ८७ जना निर्वाचन अधिकृतलाई हटाएर तीनका ठाउँमा नयाँ निर्वाचन अधिकृत खटाएको छ भने २ जना मुख्य निर्वाचन अधिकृत हटाएर नयाँ खटाएको छ । यस्तै १७ जनाको संशोधन गरेको छ । यसबाटै बुझिन्छ नेपालका कर्मचारी कति जब्बर छन् भन्ने कुरा ।
