नेताका श्रीमतीदेखि छोराछोरीसम्मलाई यस्तो अवसर

समाचार

काठमाडौं । सत्तामा रहेका पाँच दल नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले यही ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार तय गर्न सहज होस् भनेर मापदण्ड बनाएका थिए । तर नेताका आफन्ताको मामिलामा भने गठबन्धनका शीर्ष नेताहरुले नै त्यो मापदण्डलाई धोती लगाउँदै आफू निकटका नातेदारलाई चुनावी मैदानमा उतारेका छन् । गत मंसीरमा भएको १४ औं महाधिवेशनमा नेतृत्वको लागि पहिलो चरणमा प्रतिश्पर्धा गरेका र दोस्रो चरणको निर्वाचनमा बाहिरिएपछि अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका कांग्रेस नेता प्रकाशमान सिंहले त्यो समर्थनको प्रतिफल प्राप्त गरेका छन् । यही कारणले गर्दा पार्टीका कतिपय त्यागी र संघर्षशील नेताहरुलाई पन्छाउँदै सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाको मेयरमा प्रकाशमान सिंह प्रति सृजना सिंहलाई कांग्रेसको तर्फबाट उम्मेदवार खडा गरेका छन् । कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुने अवसर पाएकी सृजना सिंहले कांग्रेसलाई क्षेत्रपाटी स्थित सिंह निवासमा प्रकाशमान सिंह र त्यस भन्दा अगाडि स्व. गणेशमान सिंहलाई भेट्न आउने कार्यकर्तालाई चिया खुवाएर योगदान पु¥याएकी थिइन् । यति भएर पनि अन्य त्यागी र वरिष्ठ कांग्रेसका नेतालाई पन्छाउँदै काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न उनी सफल भएकी छन् ।
यसैगरी रेणु दाहालले पनि दोहो¥याएर भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार हुने अवसर पाएकी छन् । नेपाली कांग्रेसका चितवन कार्यकर्ताले कडा आपत्ति र गरेको विरोधलाई पन्छाउँदै कांग्रेस सभापति देउवा संयोजक रहेको सत्तारुढ गठबन्धनले रेणु दाहाललाई माओवादी केन्द्र अध्यक्ष प्रचण्डकै छोरी भएकै कारणले गर्दा दोहो¥याएर भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको हो । विराटनगर महानगरपालिकामा पनि यसैगरी केन्द्रीय नेताका आफन्तलाई अगाडि बढाउन गठबन्धनले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका छोरा प्रमरेश यादवलाई उपमेयरको उम्मेदवार बनाएको छ । यसरी वंश परम्परा र नेतृत्वको आफन्तलाई अवसर उपलब्ध गराउने परम्परालाई सुरुवात गठबन्धनले गरेको छ । उता, मधेश प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले श्रीमतीलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार बनाएका छन् । सत्तारुढ गठबन्धनले नेताका छोराछोरी र श्रीमती भएकै कारण महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार हुने अवसर पाएका यी नेता पत्नी तथा छोराछोरीलाई स्थानीय मतदाताले भने कस्तो व्यवहार गर्छन् भन्ने यही ३० गते हुने निर्वाचन परिणामले देखाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *