गठबन्धनको कारण एमालेले गुमायो सिट कांग्रेस माथि विश्वासघात गरेको आरोप

समाचार

काठमाडौं । गत वैशाख ३० गते ७५३ वटा स्थानीय तहमा एक साथ सम्पन्न भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म आएको निर्वाचनको परिणाम र मतदानको स्थिति हेर्दा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको पहिलो हैसियत यो निर्वाचनमा गुमाउने स्थिति देखिएको छ । र, सरकार र गठबन्धनको नेतृत्व गरी राखेको नेपाली कांग्रेसले नेकपा एमालेलाई किनारा लगाउँदै स्थानीय तहको निर्वाचनको विजयका सन्दर्भमा पहिलो स्थान कायम गर्ने स्पष्ट संकेत देखिएको छ । अहिलेसम्म आएको चुनाव परिणामलाई हेर्दा २०७४ सालमा विजय प्राप्त गरेको मध्येका लगभग सय स्थानीय तह नेकपा एमालेले गुमाउनु पर्ने स्थिति बनेको अवस्था छ । नेकपा एमालेले सयको हाराहारीमा स्थानीय तह गुमाउनु परेपनि उसको पक्षमा आएको मत संख्यामा भने खासै कमी आउने छैन । पाँच दलको गठबन्धनसँग एक्लै भिडेको नेकपा एमालेले २०७४ सालमा विजय प्राप्त गरेको कतिपय स्थानीय तह गुमाउनु परेपनि सबैजसो स्थानीय तहको सन्दर्भमा विजय हाँसिल गर्न नसकेको स्थानमा नेकपा एमालेले दोस्रो स्थान बनाएको अवस्था छ । पाँच दलको गठबन्धनको कारण २०७४ सालको चुनावको साख गुमाउनु परेको भएपनि एमालेले जनमत भने खासै गुमाएको स्थिति देखिएको छैन । सरकारमा रहेका पाँच दलले गठबन्धन गरेर चुनावमा गएपछि नेकपा एमाले पराजित भएको विश्लेषण गर्ने अवस्था देखिएको छ ।
विभिन्न गाउँपालिका सँगै नगरपालिकाको चुनाव परिणाम आई रहँदा सबै राजनीतिक दलसँगै आम जनताको चासो भने भरतपुर महानगरपालिकाको र काठमाडौं महानगरपालिकाको मेयरको चुनाव परिणामलाई लिएर कायम रहेको छ । यी दुई महानगरपालिकाको मेयरको परिणाम जसको पक्षमा जान्छ उसले सम्पूर्ण स्थानीय तह जितेको र यी दुई महानगरपालिकको मेयर गुमाउनु परेको अवस्थामा ठूलो संख्यामा स्थानीय तहमा विजय प्राप्त गरेपनि हारेको मूल्यांकन जनताले गर्ने अवस्था रहेको छ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नी छोरीलाई दोहो¥याएर उम्मेदवार बनाएको र यो निर्णयको नेपाली कांग्रेसको स्थानीय तहमा चर्को विरोध भएका कारण भरतपुर महानगरपालिकाको मेयरको परिणाम प्रति राजनीतिक क्षेत्रसँगै आम जनताको समेत गम्भीर चासो रहेको छ । गत शनिबारबाट नै मत गन्ती सुरु भएको भएपनि अहिलेसम्म भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदी मध्ये कसले जित्छ र नेपाली कांग्रेसमा विद्रोह गरेर उम्मेदवार भएका जगन्नाथ पौडेलले कति मत ल्याउँछन् भन्ने जिज्ञासा व्यापक रुपमा कायम रहेको छ । अहिलेसम्मको भरतपुर महानगरको मत गन्तीको स्थितिमा गठबन्धनकी उम्मेदवार रेणुले त कहिले एमालेका उम्मेदवार विजय सुवेदीले केही मतले उछिन्ने गरेका छन् । मतदानको प्रक्रिया हेर्दा भरतपुर महानगरपालिकाको निर्वाचनलाई थप कौतुहलपूर्ण बनाएको छ ।
यता गठबन्धन र नेकपा एमालेले राजनीतिक रुपले ठूलो प्रतिष्ठा मानेको काठमाडौं महानगरपालिकाको मेयरमा भने मत गन्ती सुरु भएदेखि नै स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनका उम्मेदवार सृजना सिंह लगायतका अन्य पार्टीका उम्मेदवारलाई धेरै पछाडि पारी राखेको अवस्था छ । राजनीतिक दलहरुप्रति काठमाडौंबासीमा उत्पन्न भएको नकारात्मक धारणाको कारण नै अहिले महानगरको मेयरको निर्वाचनमा मतदाताले राजनीतिका दलका उम्मेदवारलाई रद्दीको टोकरीमा थन्क्याएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पक्षमा मतदान गरेको विश्लेषण राजनीतिक क्षेत्रले गरेको छ । यो स्थितिलाई बालेन शाहले मत गन्तीको अन्तिम चरणसम्म कायम राख्न नसकेपनि राजनीतिक दलहरुले भने यो स्थितिबाट ठूलो शिक्षा लिनु पर्ने आवश्यकता भएको छ र राजनीतिक विश्लेषकहरुको भनाई पनि रहेको छ ।
यो निर्वाचन परिणामबाट गठबन्धन दलका नेताहरु उत्साहित देखिएका छन् । नेकपा एमालेले लगभग सय स्थानीय तह गुमायो भनेर होइन, आफूहरुले सम्मानजनक हैसियत कायम गर्न सकेकोमा गठबन्धनका दलहरु उत्साहित भएका हुन् । तर यो उत्साह आगामी आम निर्वाचनसम्म टिक्न सक्ने भने देखिँदैन । किनभने एमालेले स्थानीय तह गुमाएपनि जनताको समर्थन भने खासै गुमाएको छैन । गठबन्धनका नेताहरु प्रतिनिधिसभा दुई पटक विघटन भएको सजाय स्वरुप एमालेले यो पराजय भोग्नु परेको भनिराखेका छन् । तर कांग्रेस माओवादी केन्द्र लगायतका पाँच दलको गठबन्धनको कारणले नेकपा एमालेले २०७४ सालमा विजय प्राप्त गरेका कतिपय स्थानीय तह गुमाउनु परेको छ । यो निर्वाचन परिणामबाट उत्साहित भएर गठबन्धनका दलहरुका नेताहरुले आम निर्वाचनसम्म सहकार्य गर्ने अठोट गर्ने र आम निर्वाचनमा पनि सहकार्य गर्ने सम्भावना बढेर गएको छ । तर आम निर्वाचनमा नेपाली कांगे्रेसले यो निर्वाचनमा भरतपुरमा भोगेको तनावलाई भोग्न पर्दैन भन्ने स्थिति छैन । त्यस कारण अहिलेको चुनाव परिणामलाई आम निर्वाचनसम्म कायम राख्नका लागि गठबन्धनले अर्को रणनीति नै अपनाउनु पर्ने देखिन्छ । गठबन्धनको पक्षमा यो निर्वाचन परिणाम उत्साहजनक देखिएको भएपनि कतिपय स्थानमा नेपाली कांग्रेसले गठबन्धनका अन्य उम्मेदवारको पक्षमा मतदान नगरेको आरोप पनि लाग्न थालेको छ । विवादको कारण भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट अपेक्षा गरेको मतदान गठबन्धनकी उम्मेदवार रेणुको पक्षमा नआएको टिप्पणी भई रहँदा विराटनगर महानगरपालिकामा पनि नेपाली कांग्रेसले मेयरका आफ्ना उम्मेदवार नागेश कोइरालाको पक्षमा जसरी मतदान ग¥यो त्यो अनुपातमा गठबन्धनका उपमेयर उम्मेदवार जनता समाजवादीका नेता अमरेन्द्र यादवको पक्षमा मतदान नगरेको आरोप गठबन्धनका कतिपय नेताले कांग्रेस माथि लगाएका छन् । यसैगरी नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकामा पनि गठबन्धनका मेयर उम्मेदवारको पक्षमा मतदान नगरी कांग्रेसबाट विद्रोह गरेर मेयरको उम्मेदवार बनेका मनोज कुमार साहको पक्षमा मतदान गरेको र यसका लागि नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि सक्रिय रहेको आरोप पनि गठबन्धनका नेताहरुले लगाएका छन् । अर्थात् सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो स्वार्थ मात्र हेरेको गठबन्धनको धर्म निर्वाह नगरेको आरोप लगाउने गरेका छन् । विवादको बीचमा यतिखेर गठबन्धनका शीर्ष नेताहरुले भरतपुर र काठमाडौं महानगरपालिकाको मेयरको परिणामलाई पर्खिराखेका छन् । तर यी दुबै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले विजय प्राप्त गर्ने सम्भावना भने न्यून रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *