पूर्व सञ्चारमन्त्री बाँस्कोटासहित ८१ जनप्रतिनिधि पत्रकारको सदस्यता खारेज

राजनीति समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्ना सदस्य रहेका तीन वटै तहका जनप्रतिनिधिहरूको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि भइसकेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको हो।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल पत्रकार महासंघमा सदस्य भएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित भएको पनि महासंघले जनाएको छ। महासंघको यो निर्णयपछि संघीय सांसद रहेका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटादेखि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी निर्वाचित भएका ८१ जनाको सदस्यता खारेज भएको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न÷गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै स्थानीय तह निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत् प्रक्रिया थाल्ने निर्णय गरिएको महासंघका महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *