यो बर्ष पनि माल नपाएसम्म मल नआउने

राजनीति समाचार

काठमाडौं । समयभन्दा पहिले नै मनसुनी बर्षा सुरु भएसँगै किसानहरु धान रोप्नमा व्यस्त हुन थालेका छन् । तर अहिले सम्म धान रोपाइसँगै आवश्यक पर्ने रासायनिक मल भने किसानले प्राप्त गर्न सकेका छैनन । रासायनिक मल प्राप्त गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव अहिले दिल्लीमा पलेटी मारेर बसिरहेका छन् ।

धान खेती प्रारम्भ भइसँगै तत्कालका लागि ३ लाख टन रासायनिक मल आवश्यकता पर्दछ । तर साल्ट ट्रेनिङ करपोरेसन र कृषि सामग्री कम्पनीको कुरामा गोदाममा अहिले १ बोरा पनि रासायनिक मल छैन । विगतका बर्षहरुमा पनि धान रोपाइ सुरु भएसँगै यो मुलुकमा रासायनिक मलको ठुलो हाहाकार हुने गर्दथ्यो ।

रासायनिक मल आपूर्ति गर्ने सरकारको सम्बन्धी निकायका उच्च अधिकारीहरु रासायनिक मल ल्याउनेमा भन्दा कौशल खाने चकरमा लाग्दा विगतमा कहिले पनि यो मुलुकमा समयमा रासायनिक मल आउन सकेन र किसानले धान बारी लगाए सँगै रासायनिक मल पाउँन सकेनन् ।

विगतको यो तितो अनुभवबाट किसानलाई मुत्त पार्नका लाथि गत चैत्रमा नेपाल सरकार र भारत सरकारका बीचमा आगामी ५ वर्ष सम्मका लागि रासायनिक मल बिक्रि गर्ने तथा खरिद सम्झौता भएको थियो । तर दुइ देशका बीचमा सम्झौता भएपनि अहिले सम्म नेपालमा भारतबाट रासायनिक मल भित्रिन सकेको छैन ।

भारत सरकारले बिक्रि गर्ने रासायनिक मल नेपालसम्म ढुवानी गर्ने सम्झौता तीनवटा अन्तराष्ट्रिय कम्पनीले गरेका थिए । तर पछिल्लो दिनमा पेट्रोलियम पदार्थ लगायत अन्य सबै वस्तुको भाउ अन्तराष्ट्रिय स्तरमा बढेको उल्लेख गर्दै कबुल सर्त र रकममा मल ढुवानी गर्न नसक्ने भन्दै कम्पनीहरुले गरेको सम्झौताबाट पछाडी हटेपछि नेपालमा यो बर्षपनि रासायनिक मलको संकट उत्पन्न भएको हो ।

यस सम्बन्धमा आफ्नो जिम्मेवारीबाट पन्छिदै कृषि सामग्री कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र बहादुर कार्की र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवत्ता प्रकाश कुमार संजेलले मल खरिद सम्बन्धी ठोस कानून नभएकाले सहज रुपमा मल ल्याउन नसकिएको भनेर आफ्नो जिम्मेवारीबाट पन्छिने काम गरेका छन् ।

यस सम्बन्धमा रासायनिक मलको कारोबार गर्ने साल्ट टेनिङ करपोरेसनका प्रवक्ता कुमार राज भण्डारीले रासायनिक मल नेपाल आउन १ महिना बढि समय लाग्ने भनि रहँदा कृषि मन्त्री महेन्द्र राय यादवले भने अबको १० दिनमा रासायनिक मल नेपाल आउने भनेर अर्का भ्रमको स्थिति उत्पन्न गर्ने काम उच्च तहको जिम्मेवारीमा रहेका व्यक्तिहरुबाट नै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *