राजतन्त्र पनि जान्नेलाई सांस्कृतिक धरोहर नै हो

समाचार

नेपालको राजनीतिको जग भनेको राजतन्त्र नै हो । त्यहि जगमा टेकेर नेपालमा बिभिन्न राजनीतिक वादहरु स्थापित भएका छन । नेपाल राष्ट्रको स्थापना गर्नेकाम राजतन्त्र कै नेतृत्वमा भएको हो । बिभिन्न भुरे टाकुरे राज्यहरुमा बिभाजित नेपाललाई साम, दाम, दण्ड र भेदको नीति अपनाएर बल र छलले संगठित गरी एकढिक्का बनाएर राष्ट्रको रुप दिने काम राजतन्त्र कै नेतृत्व वा अगुवाईमा भएका हुन । आज नेपालीलाई गर्वले हामी नेपाली हौं भन्ने आधार राजतन्त्रले नै तयार पारेको हो । त्यसैले नेपाली जनताले राजतन्त्रको कुनै पनि योगदैन छैन भनी कुनैपनि हालतमा नकार्न सक्दैन ।
एक प्रकारले राजतन्त्र नै नेपालको राजनीतिको कुल पनि हो त्यसैले आफ्नो कुल प्रति नेपालका सबै राजनीतिक दलहरुले राजतन्त्रलाई धन्यवाद भन्दै कृतज्ञता व्यक्त गर्नै पर्छ । नेपालमा अहिले सक्रिय रहेको सबै राजनीतिक वादहरुको प्रस्थान विन्दू राजतन्त्र नै भएकाले नेपालको राजनीतिको उद्गम स्थल यसैलाई मानेर चल्नु पर्ने हुन्छ । नेपालका राजनीतिक दलहरुले नेपालको राजनीतिक सत्ता पाउनका लागि अनेक आन्दोलनहरु, त्याग र बलिदान गरेका होलान तर राजतन्त्रले पनि नेपाललाई एक राष्ट्रको रुपमा बिकास गर्नको लागि अनेक युद्धहरु, त्याग र वलिदानी गरेका छन जसलाई कम आँक्न मिल्दैन । त्यसैले नेपालको राजनीतिको आधार सिविर भनेको राजतन्त्र नै हो ।
यहि शिविरबाट समाजवादीहरु र साम्यबादीहरु एकसाथ अगाडि बढेका छन तर अहिले सम्म तिनीहरु राजनीतिको चुचुरामा पाईला टेक्न पुगेको छैनन् । दलहरु आआफ्नो राजनीतिक लक्ष अनुसारको चुचुरामा पुग्नु भन्दा पहिले नै पुँजीवाद र संसदवादको चपेटामा परेका छन । यसलाई राजनीतिको दोस्रो आधार सिविर मानेमा पनि कुनै फरक पर्दैन किनकि राजतन्त्रवादीहरु पनि बिस्तारै अग्रगमन गर्दै नेपालको उक्त दोस्रो राजनीतिक आधार सिविरमा आफ्नो अधिकार खोज्न पुगीसकेका छन । दलहरुले नेपालको संविधान २०७२ बनाउदा गरेको वेवास्ता र दिएको धोकालाई पिउँदै राजतन्त्रवादीहरुले हालै सम्पन्न स्थानिय चुनावमा कुनै दरो संगठन बिनाको पूर्वतयारीबाट पनि गतिलो टक्कर दिन सफल भएका छन । अब आगामी मार्ग महिनामा हुन लागेको प्रदेश र केन्द्रको संसदिय चुनावमा दलहरुको लागि यो राजनीतिक चुनौती बढेरनै जाने लक्षण प्रष्ट सित देखिएको छ र कुनैपनि हालतमा घटेर जाने छैन ।
दलहरु अहिले पुँजीवाद र संसदवादको सेरोफेरोमा चक्कर लगाउँदै बसेका छन । यो विश्वभूमण्डलीकरणको कारण र नेपालको आफ्नै भौगोलिक स्थितिले उव्जाएको राजनीतिक समस्या हो । बिदेशीले नेपालको विकास र राजनीति दुबैमा न्वारान देखिको बल निकालेर हस्तक्षेप गर्दै आएका छन । परिणाम स्वरुप नेपालको बिकास पनि हुनसकेको छैन र राजनीतिक अग्रगमन पनि रोकिएको छ । राजनीतिक दलहरुबाट नेपाली जनता ठगीएको महशुस गर्दैछन किनकि दलहरुले भनेको जस्तो नेपालमा सम्यवादको के कुरा समाजवाद पनि आएको छैन । नेपाली जनतालाई नेपालका राजनीतिक दलहरुले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रयास गरेको अनुभूति हुन थालेको छ । त्यसैले राजतन्त्र पनि राजनीतिक अग्रगमन गरी पुँजीवाद र संसदवादको चौतारोमा बिसाउन आईसकेको हुँदा नेपाली जनताको मनमा तुलनात्मक रुपमा राजतन्त्र नेपालको लागि उपयुक्त भएको महशुस हुन थालेको छ ।
राष्ट्रवादको सवालमा राजतन्त्रलाई खोट लगाउन सक्ने ठाउँ छैन भने दलहरुमा खोटैखोट देखिन्छ । दलहरु राष्ट्रवादको सवालमा कमजोर देखिएका छन भने दलका नेतृत्व गर्ने शीर्ष नेताहरु बिदेशीका दलाल भएकाले तिनीहरु माथि राष्ट्रको सुरक्षाको लगि भर पर्न नसकिने नेपाली जनताले ठानेका छन । नेपालको बिकास गर्ने सवालमा पनि दलहरु कमजोर देखिएका छन । नेपाललाई आत्मनिर्भर मुलुक बानउन सक्ने खालको एउटा पनि उद्योग खोल्न दलहरुले तीन दशकको अवधीमा पनि सकेन । उल्टै दलहरुले राजतन्त्र कालमा खोलिएको बिभिन्न उधोग धन्दाहरुलाई बेचेर खाने र बन्द गरीदिने काम गरेका छन । नेपाललाई आत्मनिर्भर मुलुक बनाउने उद्देश्यले राजतन्त्र कालमा खोलिएका सबै उद्योगहरु हिनामिना गरी नेपाललाई परनिर्भर गैरस्वाबलम्बी राष्ट्रमा रुपान्तरण गरी सकेका छन । दलहरुले नेपालमा अहिले लागु गरेका पुँजीवादी आर्थिक नीतिले गर्दा नै नेपालका महत्वपूर्ण जनशक्तिलाई बिदेशीले उपयोग गर्दैछन भने नेपालको जल, जमिन र जंगल पनि नाफाखोर बिदेशीका दलालहरुको हातमा गएका छन । दलहरुले वास्तवमा नेपाली जनतालाइ माछामाछा भ्यागुता तुल्याईसकेका छन ।
परनिर्भर बनीसकेको मुलुक नेपाललाई अब कसरी आत्मनिरर्भर स्वाबलम्बी मुलुक बनाउन सकिएला भन्ने गम्भिर सोचमा नेपाली जनता परेका छन । बिदेशीको दलाल बनीसकेका दलहरुबाट यस्तो पौरख हुनेमा नेपाली जनतालाई बिश्वास लागेको छैन त्यसैले नेपाली जनता “ राजा आउ दलहरुबाट नेपाल राष्ट्रलाई बचाउ“ भन्न थालेका छन । भारतको रोहवरमा दोस्रो दिल्ली सम्झौता हुँदा सत्ता पक्ष राजतन्त्र थियो तर सत्तामा भएको पक्ष सित वार्ता नगरी दलहरु आपसमा वार्ता गरी १२ बुँदे शान्ति सम्झौता हस्ताक्षर गरेका थिए । राजतन्त्रको तर्फबाट उक्त शान्ति सम्झौतामा हष्ताक्षेर गर्नको लागि कसैको उपस्थिति त्यहाँ रहेको थिएन । जे जस्तो सम्झौता भयो त्यो दलहरुको बिच मात्रै भयो र भारतले त्यसैलाई मान्यता दिएकाले नेपालको संबिधान २०७२ बनाउदा पनि राजतन्त्रवादीहरुको उपेक्षा गरियो र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय गरी नेपालको मौलिकतालाई नै मेटाउने खालको प्रयासहरु भए । त्यसैबेला देखि नै दलहरुले भागबण्डाको राजनीतिलाई महत्व दिएको पाईन्छ र शन्तिसम्झौतालाई मूर्तरुप दिने क्रममा पनि अनेक भागबण्डा भएको भेटिन्छ ।
दलहरुको आग्रहमा पूर्वराजा ज्ञानेद्रले जनभावना र राजतन्त्रको परम्परा अनुसार भन्दै बिना प्रतिरोध सत्ता हस्तान्तरण गरी नागार्जुन दर्वारमा बस्न जानु भयो । यो नेपालको इतिहासमा राजतन्त्रको परम्परा र जनभावना अनुसार चल्ने राजाबाट गरेको सबै भन्दा महत्वपूर्ण त्यागको रुपमा अंकित भएको छ । नेपालको राजतन्त्रले जहिले पनि राष्ट्रको सुरक्षा र नेपाली जनताको शान्तिपूर्ण जीवनको लागि महत्व दिएको पाइन्छ । दलहरुको नेतृत्वमा चलेको आन्दोलनहरुमा अत्याधिक नेपाली जनता मारिएपछि र नेपालको आन्तरिक मामलामा बिदेशीको हस्तक्षेप बढाएपछि त्यसबाट राष्ट्रलाई सुरक्षित तुल्याउन र नेपाली जनताको जीवनमा सुखशान्ति ल्याउनकै निमिक्त नेपालको राजतन्त्रले सरल र सहज ढंगले सत्ता त्यागेको हो । त्यसको विपरित दलहरुले नेपालको सुरक्षा र नेपाली जनताको सुख शान्तिको लागि कुनै महत्व दिएको देखिन्न । दलहरु उल्टै बिदेशीका दलाल बनेका छन र बिदेशीलाई नेपालको राजनीति र बिकासमा हस्तक्षेप गर्ने वतावरण बनाईदिएका छन । नेपालको बिकास गरी शक्तिसाली मुलुक बनाएमा मात्रै नेपालको सुरक्षा हुन्छ र नेपाली जनता सुखी हुने छन भन्ने सोच दलका नेतृत्व गर्ने नेताहररुको मनमा कहिले आएन । त्यसकारण राष्ट्रको सुरक्षा गर्ने विषयमा नेपालका राजनीतिक दलहरु नराम्रो सित चुकिसकेका छन ।
विदेशीको ध्यान नेपाललाई सपार्नको लागि होइन बिगार्न तिर केन्द्रित भएको छ । विदेशीको हस्तक्षेपले नेपालमा धार्मिक भेदभाव बढाएको छ र युगौं देखि मिलेर बसेको नेपाली समाजमा बिभाजन ल्याएको छ । बिदेशीले दान, अनुदान र ऋणमा दिएको पैसाले नेपालको बिकास भएको छैन र नेपाललाई झनझन ऋणमा डुबएर कंगाल मुलुक बनाउने काम गरेको छ । नेपाल गैरस्वाबलम्बी परनिर्भर मुलुकमा रुपान्तरण भएर निकै अगाडि पुगीसकेको छ । बिदेशीले दलका शीर्ष नेताहरुलाई आफ्नो दलाल बनाएर नेपालको शासन प्रसासनमा हस्तक्षेप गरी नेपालको भूमिलाई क्षिमेकी चीनको बिरुद्ध प्रयोग गरी चीनलाई घेर्ने आफ्नो रणनीति कार्यान्वयनमा जोड दिएका छन ।
नेपालको राजतन्त्रले यस्तो खुला छुट कुनै पनि बिदेशी मुलुकलाई दिएको थिएन र त्यो बेला बिदेशीलाई पनि नेपालकै राजनीतिक दृष्टिकोण र बिकासको योजना अनुसार चल्न बाध्य पारिएको थियो । दलहरुको राजमा अहिले त्यस्तो छैन किनकि दलहरुले नेपाललाई बिदेशीको योजना र रणनीति अनुसार चल्ने मुलुकमा रुपान्तरण गरीसकेका छन । स्वार्गिय राजा वीरेन्द्रले नेपालको सुरक्षा गर्न र नेपाली जनताको स्वाभिमान बढाउनको निमिक्त महाशक्ति राष्ट्र अमेरिका सित टक्कर लिएका थिए । आफ्नो र परिवारको प्राण समेत वली चढाए तर बिदेशीको सामु कहिले पनि शीर झुकाउनु भएन र राष्ट्रको सुरक्षालाई कहिले खण्डित हुन दिएनन् । त्यसबाट नेपालको सुरक्षा बढेको हुँदा स्वाभिमान नेपाली जनताको शीर गर्बले उच्चा भएको बनाएको थियो । नेपालका राजनीतिक दलहरु अहिले माग्दै हिडेका छन र आफ्नो कुत्सित स्वार्थ पुरा गर्नको लागि जस्तो सुकै बिदेशीको सर्तहरु पनि मान्दै आएका छन । त्यसैले आम नेपाली जनताको मनमा दलहरुबाट राष्ट्रको सुरक्षा नहुने र नेपाल चाँडै अशान्त मुलुक बन्ने महशुस गरी राजतन्त्रलाई पुनस्थापित गरीहाल्नु पर्ने निष्कर्समा पुगेका छन् ।
विदेशीले नेपालमा चलाएको धार्मिक हस्तक्षेपलाई निस्तेज पार्न नेपाललाई पुनः हिन्दूराष्ट्र नै बनाउनु पर्ने र दलहरुले मनोमानी ढंगले ल्याएको धर्मनिरपेक्षता खारेज गर्नु पर्ने भन्दैछन । नेपालका साम्यवादी र समाजवादी दलहरुको राजनीतिक यात्रा हाललाई बिदेशीकै हस्तक्षेपको कारणले पुँजीवाद र संसदवादको घनचक्करमा परी रोकिएका छन । नेपाली जनताले नेपालको बिकास गर्छ र नेपाली जनतालाई सुखी बनाउँछ भनेर नै साम्यवादी र समाजवादी दलहरुलाई दुईतिहाई बहुमतका साथ सत्ता सुम्पेका थिए । तर उक्त दलहरुले नेपाली जनताको मतको वेवास्ता गर्दै पुँजीवाद र संसदबादको घेरा भित्रै बसी आफ्नो निहित स्वार्थहरु पुरा गर्दै अलमलिएका छन । त्यसैले साम्यवादको के कुरा समाजवादको चुचुरा सम्मको अनुभव पनि नेपाली जनताले गर्न पाएको छैन ।
साम्यवाद र समाजवादको चुचुराहरुबाट के कस्तो दृश्यहरु देखिन्छ भन्ने कुरा त त्यहाँ चढेर पुगेकाहरुले मात्रै महशुस गर्न सक्छन । त्यहाँ सम्म पुग्न मुस्किल छ तर असंभव भने छैन । चढाई गर्न कठिन भएपनि पसिना बगाउँदै माथि चुचुरामा पुगेपछि मात्रै संसारलाई हरी आनन्द महशुस गर्न सकिन्छ । समान राजनीतिक बिचारधारा र लक्ष भएका दलहरुले आपसमा एकता गरी ठुलो दलको स्वरुप ग्रहण गर्दै अग्रगमन राजनीतिको मार्गमा अगाडि बढ्ने प्रतिक्षामा नेपाली जनता धर्यधारण गरी पर्खेर बसेका छन । नेपालको सुरक्षा र नेपाली जनताको शान्तिको लागि दलहरुले नेपालको बिकास गर्नु पर्ने हुन्छ । नेपालको बिकासको लागि ठुलो जनपक्षिय राजनीतिक दलको अधिनायकत्व नेपालमा स्थापित हुन जरुरी भएको छ । नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा सोच्ने र काम गर्ने त्यस्तो शक्तिसाली जनपक्षिय राजनीतिक दलले मात्रै नेपाललाई समद्ध र नेपाली जनतालाई सुखी बनाउन सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *