प्रधानमन्त्री हुने यस्तो प्रचण्डको योजना गठबन्धन भित्रै अर्को गठबन्धनको खेल

समाचार

काठमाडौं । सरकारमा रहेका पाँच दलले अहिले पनि प्रतिगमनको खतरा कायम नै रहेकाले आगामी आम निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने भनाई राख्दै आएका छन् । तर गठबन्धनको खतराको कारणले होइन आफ्नो स्वार्थको कारणले गर्दा पाँच दलको यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म कायम राख्ने पक्षमा उनीहरु देखिएका छन् । गठबन्धन मार्फत् आगामी आम निर्वाचनमा आफ्नो दलिय स्वार्थ पूरा गर्नका लागि गठबन्धनलाई निरन्तरता दिने पक्षमा यी दलहरु रहेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी पनि गठबन्धनलाई कायम राख्ने र गठबन्धन भत्किएको अवस्थामा माओवादी केन्द्र र नेकपा एमालेका बीचमा चुनावी तालमेल हुन सक्ने आशंका गर्दै त्यो अवस्थामा नेपाली कांग्रेसले २०७४ सालकै आम निर्वाचनको परिणाम भोग्नु पर्ने विश्लेषण गरेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई निरन्तरता दिने माओवादी केन्द्रसँग चुनावी सहकार्य गर्ने योजना बनाएका छन् । गठबन्धन मार्फत् आम निर्वाचन लडेपछि आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउने योजना पनि प्रधानमन्त्री देउवाको रहेको छ । उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आम निर्वाचनपछि प्रधानमन्त्री हुने योजना सार्वजनिक गरेका छन् । यसैगरी माओवादी अध्यक्ष प्रचण्डले आगामी आम निर्वाचनमा आफूले नेतृत्व गरेको माओवादी केन्द्रलाई सबभन्दा ठूलो कम्युनिष्ट पार्टी बनाउने योजना पनि अगाडि सारेका छन् । यो योजना सफल पार्नका लागि माओवादी अध्यक्ष प्रचण्डले पाँच दलिय गठबन्धनको नेतृत्व गरी राखेको नेपाली कांग्रेस बहेको अर्को गठबन्धन बनाउने योजनामा समेत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर गृहकार्य र छलफल गरी राखेका छन् ।

माओवादीका तर्फबाट अहिलेदेखि नै नेपाली कांग्रेसलाई दवावमा राख्ने रणनीति लिएको देखिन्छ । यही कारणले गर्दा आगामी आम निर्वाचनको प्रत्यक्ष तर्फ आफ्नो पार्टीले साठी स्थानमा उम्मेदवारी दिन पाउनु पर्ने दाबी माओवादी अध्यक्ष प्रचण्डले अनौपचारिक रुपमा गरी सकेका छन् । यसैगरी माओवादीका प्रभावशाली नेता वर्षमान पुनले नेपाली कांग्रेसलाई घमण्ड गरे साइजमा ल्याउने चेतावनी दिएका छन् । माओवादी नेता पुनको यो अभिव्यक्ति पनि नेपाली कांग्रेसलाई दवावमा राख्नकै लागि आएको हो । यसैगरी गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीको तर्फबाट पनि आगामी आम निर्वाचनमा प्रत्यक्ष तर्फको १६५ सिट मध्ये आफूले चालिस सिट पाउनु पर्ने दाबी गरिएको छ । माओवादी केन्द्रले ६० र एकीकृत समाजवादीले चालिस सिटको दाबी गरेपछि जनता समाजवादीलाई पनि यस आधारमा कम्तीमा ३० सिट दिनुपर्ने हुन्छ । यो अवस्थामा नेपाली कांग्रेसको भागमा जम्मा ३५ सिट बाँकी रहने देखिन्छ । यसबाट पनि गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चालाई पनि भाग छुट्याउनु पर्ने हुन्छ । यसरी प्रत्यक्ष तर्फको १६५ सिट मध्ये १३० भन्दा बढी सिट गठबन्धनका अन्य दललाई दिएर नेपाली कांग्रेस कसरी गठबन्धनमा रहन्छ । र, गठबन्धन मार्फत् चुनाव लड्छ भन्ने प्रश्नको जवाफ आउन सक्ने स्थिति छैन ।

यस बाहेक पाँच दलको गठबन्धन रहेका माओवादी केन्द्र एकीकृत समाजवादी र जनता समाजवादीले अर्को उपगुट बनाउने कसरत गरी राखेका छन् । पाँच दलिय गठबन्धनमा आफूले प्राप्त गरेको बाहेकका सिटहरुमा मिलेर चुनाव लड्नका लागि तीन दलले अर्को उपगठबन्धन बनाउने कसरत गरेका हुन् । यो स्थितिमा पाँच दलिय गठबन्धनले नेकपा एमालेलाई प्रमुख प्रतिश्पर्धी मानेर चुनावी मैदानमा जाने देखिएको छ भने पाँच दल भित्रको तीन दलको अर्को गठबन्धन भने एमालेसँगै नेपाली कांग्रेससँग समेत प्रतिश्पर्धा गरेर थप परिणाम आफूहरुको पक्षमा ल्याउने सोच अनुसार यो योजना बन्न थालेको देखिन्छ । यही योजना र उपगठबन्धन मार्फत् माओवादी अध्यक्ष प्रचण्डले आम निर्वाचनपछि सरकारको नेतृत्वका लागि कांग्रेस सभापति देउवासँग मोलमोलाई र दाबी गर्ने स्थिति बनाउने रणनीतिको तानाबाना बुन्न थालेको देखिएको छ । अर्थात् आगामी आम निर्वाचनमा पाँच दलिय गठबन्धनमा रहेका तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी, गठबन्धन भित्रै रहेर नेपाली कांग्रेसलाई समेत चुनौती दिने योजनामा रहेको देखिएको छ । पाँच दलिय गठबन्धन भित्रैबाट आफूलाई समेत चुनौती दिने गरी गठबन्धनकै तीन दलले अर्को मोर्चाबन्दी बनाउन थालेको घटना प्रति कांग्रेस सभापति देउवाले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् । तथापि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आम निर्वाचनपछि आलोपालो सरकारको नेतृत्व गर्न र आफूले आम निर्वाचन लगत्तै सरकारको नेतृत्व गर्न पाउने वातावरण कांग्रेस सभापति देउवा माथि दवाव बढाउनका लागि यो रणनीति बनाएको विश्लेषण पनि राजनीतिक क्षेत्रले गरेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने गठबन्धन भने आफ्नो पार्टीलाई पहिलो स्थानमा पु¥याउने र गठबन्धनको समर्थनबाट प्रधानमन्त्री योजनामा छन् । गठबन्धन माध्ये पनि माओवादी केन्द्रको सहकार्य कांग्रेसलाई अवाश्यक रहेको विश्लेषण प्रधानमन्त्री देउवाको रहेको छ । प्रधानमन्त्री देउवाको यो कमजोरी समातेर माओवादी अध्यक्ष प्रचण्डले देउवा माथि दवाव बढाउनका लागि आम निर्वाचनपछि आफू प्रधानमन्त्री हुने दाबी गर्ने लगायत पाँच दलिय गठबन्धन भित्र नै कांग्रेसको समेत प्रतिश्पर्धा गर्ने गरी तीन दलको गठबन्धनको चर्चालाई अगाडि ल्याएका हुन् भनिन्छ । यतिखेर गठबन्धनमा रहेका तीन प्रमुख दल एक अर्कालाई दवाव दिएर आफूले बढी राजनीतिक फाईदा लिने गरी राजनीति संचालन गरी राखेका छन् । यो विषयमा नेपाली कांग्रेसको रणनीति भने स्पष्ट देखिएको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी आम निर्वाचनमा गठबन्धन मार्फत् मैदानमा जाने र स्थानीय निर्वाचनमा भन्दा सहज हुने टिप्पणी गरेका भएपनि प्रत्यक्ष तर्फको १६५ सिटको भागबण्डा पाँच दलको गठबन्धनलाई ठूलो समस्या हुने देखिएको छ । यतिखेर प्रधानमन्त्री लगायत गठबन्धनका सबै नेताहरु आम निर्वाचनको मिति तय गर्ने भन्दा पनि रणनीति बनाउनेमा लागि परिराखेका छन् । आम निर्वाचनको मिति घोषणा भएपछि पाँच दलिय गठबन्धनको चुनावी परिदृष्य परिर्वतन पनि हुन सक्ने स्थिति देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *