बितेको आर्थिक वर्ष पनि निराशाजनक नै रह्यो

समाचार

सम्पादकीय

आर्थिक बर्ष २०७८÷०७९ विदा भएको छ । तर मुलुकको आर्थिक अबस्था र विकास निर्माणको दृष्टिले यो बर्षलाई पनि निराशा जनक बर्ष मान्नु पर्दछ । खराब आर्थिक अबस्थाको कारण आर्थिक बर्ष सकिनै लाग्दा मुलुक श्रीलङ्का जस्तै बन्ने अनुमान र भविष्यवाणी गरिएका थिए । यी भविष्यवाणी हावाका भरमा गरिएका थिएनन् । नेपालको खराब आर्थिक अवस्थाको विश्लेषण कै आधारमा गरिएको थियो । किनभने नेपाल र श्रीलङ्काको आर्थिक अवस्थामा धेरै समानता थियो । तर हाम्रो भाग्य नेपाल श्रीलङ्का जस्तो टाट पल्टिने अवस्थामा पुगेको छैन । तर मुलुक टाट पील्टएको छैन भनेर खुसी मनाउने होईन सतर्क हुने अवस्था छ । किनभने मुलुक टाट नपल्टिएको भए पनि आर्थिक अबस्था संकटापन्न अबस्थामा नै छ र यो आर्थिक दुराबस्थाको अर्थतन्त्र केही बस्तुको आयतमा कडाई गरेर अथवा रोक लगाएर मात्रै सुधार हुने कुनै सम्भावना छैन । अत्यन्त खराब अबस्थामा पुगेको मुलुकको अर्थतन्त्रको सुधारका लागि सिटामोल खुवाएर होईन चिरफार नै गर्नु पर्ने आवश्यकता देखिएको छ ।
कुनै पनि मुलुकको अर्थतन्त्र त्यतिखेर खराब हुन्छ, जब त्यो राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सन्चिती घटेर पिधमा पुग्दछ र विदेशी मुद्राको सन्चिती त्यतीखेरबाट घटन थाल्दछ जब निर्यात घटेर आयत बढन थाल्छ । केही बर्ष यताबाट जुन पार्टीको सरकार आएपनि देश चलाउन र नेताहरु रमाउन भन्सार आयतबाट आउने महशुललाई नै प्रमुख श्रोत मानियो । यसो गर्दा श्रोत जुटाउन परिश्रम पनि गर्न परेन र स्वदेशी उत्पादन बढाउन परिश्रम पनि गर्न परेन । यही कारणले गर्दा यो कृषि प्रधान मुलुकमा हरेक खाद्यन्न सामाग्री सात समुन्द्र पारीबाट ल्याउने परम्परा बस्यो ।
यस बाहेक नेपाललाई दरिद्र अबस्थाबाट अगाडी बढ्न नदिन निर्माण क्षेत्रले पनि महत्वपुर्ण भुमिका निर्वाह गरी राखेको छ । यो मुलुकमा अहिलेसम्मका कुनै पनि आर्थिक बर्षले लक्ष अनुसारका पुजीगत खर्चगरेका छैनन् । पुजीगत खर्च हरेक बर्ष निराशाजनक अबस्थाबाट उठ्न नसकेपछि संविधानमा नै आगामी बर्षको बार्षिक बजेट जेठ १५मा नै ल्याउने प्रावधान राखियो । असार मसान्तमा बजेट ल्याउदा समय नपुग्ने ठहर गरेर संविधानमा यो ब्यबस्था गरिएको थियो । तर यो प्रबन्धले पुजीगत खर्चमा कुनै सुधार ल्याएन र धुमधामका साथ असारे विकास गर्दा पनि आर्थिक बर्ष २०७८।०७९ले पुजीगत खर्च ५७ प्रतिशतबाट माथि जान सकेन । अर्थात् बिदा भएको ०७८।७९ आर्थिक बर्ष पनि मुलुकको विकास र आर्थिक अबस्थाका लागि निराशाजनक नै रह्यो । यदि देशको अर्थतन्त्र सुधार गर्न प्रतिबद्धता र इमान्दारितापूर्वक लाग्ने हो भने, आयत घटाएर निर्यात बढाउने तिर र लक्ष अनुसार पुजीगत खर्च गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *