घुस्याहा उपसचिवलाई चोख्याउन माथिबाटै चलखेल

राजनीति समाचार

काठमाडौं । पृथ्वी नारायाण शाहको पालाको एउटा भनाई थियो घुस लिन्या र दिन्या दुबै राज्यको शत्रु हुन । तर अहिले देउवाको राजमा यो उखान बदलिएको छ । न त घुस खानेमाथि नै कारवाही हुन्छ न त घुस दिनेमाथि नै ।

घुस्याहा कर्मचारीमाथि कारवाहीको प्रक्रिया अघि बढछ । अख्तियारले विशेष अदालत गुहार्छ । अधिकांश घुस्याहा कर्मचारी सेटिङ मिलाएर न्यायधीशमार्फत उन्मुक्ति पाइहाल्छन् । फेरि काममा फर्कन्छन् । विशेष अदालतमा अख्तियारले दायर गरेकोमध्ये झण्डै ९३ प्रतिशत मुद्धामा क्लिन चिट दिइएबाट पनि यो तथ्य उजागर भइरहेको छ । अहिले जोड्न खोजिएको प्रंसग हो प्रमोद नेपालको । जो पर्यटन मन्त्रालयका उपसचिव । केही साता अघि ६ लाख रुपैंया घुससहित अख्तियारको नियन्त्रणमा रहेका नेपाललाई अख्तियारको कठघरामा उभ्याएका व्यवसायीले हालैमात्र प्याराग्लाइडिङ उडानको अनुमति पाएका छन् ।

रमाइलो चाहिँ यो प्रकरणमा अख्तियार लागेसँगै रातारात पर्यटन मन्त्रालयका अधिकारीहरुले व्यवसायीलाई व्यवसाय सञ्चालनको इजाजत दिएका छन् । झण्डै तीन बर्षदेखि घुमाइरहेको फाइल अख्तियार लागेसँगै रातारात मन्त्रालयमै बोलाएर व्यवसायीहरुलाई पर्यटन मन्त्रालयले अनुमति पत्र दिएको हो । दुई जना व्यवसायीहरुले प्याराग्लाइडिङ सञ्चान गर्न खोजेका थिए । उनीहरुले तत्कालीन पर्यटन सचिव रही हाल राजेन्द्र लिङ्देनको राप्रपा नेपालमा प्रवेश गरेका सचिव केदार बहादुर अधिकारीसमक्ष पहिला निवेदन दिए ।

२४ पौष २०७६ मा निवेदन दिए पनि सुनुवाई भएन । मन्त्री फेरिए,सचिव फेरिए । यो बीचमा पर्यटन सचिव बनेर आए महेश्वर न्यौपाने । उनलाई गत ८ असारमा भेटेर पुन निवेदन दिए । त्यतिबेलासम्म पनि फाइल घुमेको घुम्यै भयो । पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.को नामबाट प्याराग्लाडिङ उडाउन खोजेका थिए । त्यसकै लागि उनीहरु मन्त्रालयबाट अनुमति पत्रको प्रतिक्षामा थिए । अन्नपूर्णको खोप्रादेखि स्वाँत भन्ने ठाउँसम्म प्याराग्लाइडिङ उडाउनका लागि अनुमति माग्ने क्रममा सबै प्रक्रिया पूरा गर्दा पनि उपसचिव नेपालले फाइल रोकिरहे ।

नेपालले नागरिक उड्डयन महाशाखाका प्रमुख सह–सचिव बुद्धिसागर लामिछानेलाई समेत प्रभावमा पारेर रोक्दै आएका थिए । पछि ६ लाखमा कुरा मिल्यो र घुस लिँदालिँदै अख्तियारको टोलीले १७ साउनमा नागपोखरीस्थित होटल अरण्यबाट उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुस र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लाख ५० हजारसहित पक्राउ गर्यो । उपसचिव पक्राउ परेपछि मन्त्रालयका अधिकारीहरुले हतार हतार फाइल अघि बढाएर अस्ति व्यवसायीहरुलाई बोलाएर अनुमति दिइसकेका छन् । अनुमति पाएसँगै अब ग्लोबल ट्राभल एण्ड एडभेन्चर्सले म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउन पाउने भएको छ । ८ मध्ये ५ थान टेन्डम (दुई जना बसेर उड्न मिल्ने) र ३ थान सोलो (एकल) प्याराग्लाइडिङ हुनेछन् ।

कुनै समयमा गोल्ड मेडलिष्ट उपसचिवको साथबाट २१ लाख रकम कसरी आयो ? यत्रो रकम खुवाउनेमाथि केही कारवाही हुनुपर्नै कि नपर्ने ? घुस दिने चाह्ँि दोषी हो कि होइन ?
उता यिनै घुस्याहा उपसचिवलाई चोख्याउने चलखेल शुरु भइइरहेको छ । घुससहित पक्राउ परेको १४ घण्टामै कोरोनाले भेटेको छ । अख्तियारमा नभइ भिआइपीहरु बस्ने अस्पतालमा राख्न खोजियो ।उनले भाग बुझाउनु पर्ने सहसचिव होम लुइँटेल र निवर्तमान सचिव महेश्वर न्यौपानेले उनलाई छुटाउनका लागि चलखेल तिव्र पारेका छन् । सामान्यतयाः उपसचिवले सरकारी कार सुविधा पाउँदैनन् । तर हिजो घुस लिने क्रममा नेपालले सेतो नम्बर प्लेटको सवारी साधन प्रयोग गर्नुले पनि कर्मचारीको माथिल्लो तहसम्म उक्त कार्यमा संलग्नता रहेको अनुमान गरिएको छ । उनले प्रयोग गरेको सवारी साधनको सेतो प्लेटमा बा १ झ ९९४६ नम्बर उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *