राजनीतिक भागवण्डाका कारण सिट बाँडफाँटमा समस्या

समाचार

सम्पादकीय

आगामी संघीय तथा प्रदेश निर्वाचन आउन अब केवल ६६ दिन बाँकी छ । राजनीतिक दलका नेताहरुले अहिलेसम्म सिट बाँडफाँटको काम सम्पन्न गर्न सकेका छैनन् । राजनीतिक दलका शिर्ष नेताले सिट बाँडफाँटमा कार्यदल बनाएर कार्यदललाई जिम्मेवारी दिएपनि सफलता हात पार्न सकेका छैनन् । कार्यदलले केही हदसम्म काम गरेपनि बाँकी रहेको सिट बाँडफाँटमा शिर्ष नेताहरुलाई नै जिम्मेवारी दिइएको थियो । शिर्ष नेताहरुको बैठक पनि निर्णयमा पुग्न सकेको छैन । गठबन्धन दलका नेताहरुको बैठक अहिले घन्टौंसम्म चल्ने गरेको छ । राजनीतिक भागवण्डा नमिलेपछि बैठक पनि निष्कर्ष बिनै टुंगिने गरेको छ ।
नेपाली कांग्रेसले आफ्नो अडान यथावत राखिराखेको छ । माओवादी केन्द्रको लाइन पनि त्यस्तै छ । यस्तै एकीकृत समाजवादीले पनि टसमस गरेको छैन । उता जनता समाजवादी पार्टीले पनि आफ्नो अडान छाडेको छैन । राष्ट्रिय जनमोर्चा पनि त्यही लाइनमै छ । यसरी राजनीतिक दलका नेताले आ–आफ्नै एजेण्डा छाडेका छैनन् । राजनीतिक दलका नेताले सिट बाँडफाँडमा देखाएको रवैयाले नेपाली जनता निराश बनेका छन् । राजनीतिक दलको तालमेल मिल्न नसक्दा त्यसको नतिजा सर्वसाधारण जनताले भोग्ने गरेका छन् । अहिले राजनीतिक दलहरुबिच भइरहेको गठबन्धनको चुनावी अभ्यासले लोकतन्त्रलाई नै खतरामा पारेको छ । चुनाव नजिकिँदै गर्दा गठबन्धनका दलहरु सिट बाँडफाँटमै अल्झिएका छन् । आफ्नो स्वार्थ पुरा गर्नको निम्ति राजनीतिक भागवण्डामा मिलाउन नसक्ने पार्टीले भोलिका दिनमा राजनीतिक स्थिरता ल्याउने, मुलुक र जनताका लागि काम गर्ने, असल सत्तारुढ र प्रतिपक्षको भूमिका निर्वाह गर्नेमा शंका नगर्नुपर्ने कुनै कारण नै छैन ।
चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु सिट बाँडफाँडमा लफडा गरिराखेका छन् । राजनीतिक दलभित्र लफडा चल्नु भनेको राष्ट्र र जनताका लागि खराब हो । राजनीतिक दलका शिर्ष नेताहरुले एकआपसमा मिलापत्र गरी तेरोमेरो नभनि राष्ट्र र जनताको लागि हो भनेर समस्याको समाधान गर्नुपर्ने देखिन्छ । यदि राष्ट्र र जनताको लागि हो भने समस्याको समाधान गरी अगाडि बढ्नुपर्ने देखिन्छ । तर जनता र राष्ट्रको लागि नभई राजनीतिक स्वार्थको लागि मात्र हो भने जे गरे पनि हुन्छ । पाँच दलीय गठबन्धनभित्र रहेका नेताहरुले एक आपसमा छलफल गरी समस्याको समाधान निकाल्नुपर्छ र तेरो मेरो नभनि सहमतिका साथ अघि बढ्नुपर्दछ । विकासको नयाँ मोडल तयार गरे अगाडि बढ्न अपरिहार्य बनेको छ । अहिले राजनीतिक दलभित्र भएका तीता अनुभवलाई यथावत राखी सबै मिलेर अघि बढ्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *