राक्सिराङ परेवाटारको पिडाः खोलाको यात्रा

समाचार

३ किलोमिटरको पैदल यात्रा गर्दा एउटै खोला कति पटक तर्नु पर्ला ? यो प्रश्नको उत्तर एक पटक मात्र भन्ने पक्कै आउँदैन । एक पटक मात्र भएको भए यो प्रश्न नैं हुने थिएन । यहाँले थपेर भन्दा २,३ पटक भन्नु होला । त्यो उत्तर पनि सहि हुँदैन । कम्तीमा ५ पटक तर्नु पर्दछ । यहाँ मैले कम्तीमा भनें त्यो भन्दा वढि तर्नु पर्ने पनि हुन सक्छ । यो ठाउँ कहाँ होला भन्नेमा मनमा खुल्दुली हुन सक्छ कुनै अन्कन्टार ठाउँ होला वा कर्णाली क्षेत्र तिर होला भन्ने लाग्न सक्छ । यदी त्यसो सोच्नु भएको छ भने पनि तपाई ठिक ठाउँमा हुनुहुन्न । अनी लाग्यो होला तराइ तिर होला त्यहाँ त्यस्ता खोल्सी वा वगर होला भन्ने पनि लाग्दो हो । तराई तिर भएको भए गाडी दौडने विकल्प हुनसक्थ्यो । त्यता वारी वारी वा पारी पारी गाडीहरु दौडाउन सकिने ठाउँ हुन्छ । तर यो ठाउँ पहाड तिरकै हो । खास गरी चुरे क्षेत्रको ।
संघीय राजधानी भएकै प्रदेशको ठाउँ हो । त्यसमा पनि वाग्मती प्रदेशको राजधानी भएको मकवानपुर जिल्लाको हो । प्रदेशको राजधानी हेटौडावाट नजिकै पर्ने स्थानमा हालत यस्तो छ । हेटौडावाट पश्चिम तर्फ करिव २५ किलोमिटरको सडक यात्रा पछि मनहरी वजार आउँछ । मनहरीवाट करिव ६ किलोमिटरसम्म कच्ची वाटो रहेछ । मनहरी खोलाको किनारै किनारको त्यो कच्ची सडक अहिलेको समयमा अटो जाँदो रहेछ । कुतसिंङमा अटो छाडेर हामी पैदल लाग्यौं । त्यस पछिको ३ किलोमिटर जतीको पैदल यात्रामा राक्सीराङ गाउँपालिका वडा नं. ८ मा रहेको परेवाटारमा पुगिंदो रहेछ ।
अटोको यात्रा पनि कम्ती कष्टकर हैन । सडक हिलाम्मे मात्र हैन गजगज हिलोले डुवेको छ । ठाउँठाउँमा अटो कोल्टे पर्छ अनी मनहरी खोलामा झरिन्छ कि क्या हो जस्तो लाग्दछ । मलाई कँयौ पटक हिड्न पाए पनि हुन्थ्यो जस्तो लागेको थियो । अटोको यात्रा सके पछि हामी “जिर्खे” खोलाको पानीको वहाव भन्दा विपरितमा हिड्नु पर्दो रहेछ, परेवाटार पुग्न ।
मेरो मानसपटलमा भएको भन्दा नितान्त फरक स्थानको यात्राको अवसर जुट्यो । यो अवसर राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान) ले जुटाइदियो । नाफानको परियोजना क्षेत्र रहेछ राक्सीराङ गाउँपालिका । परियोजना क्षेत्र भित्र रहेका विपन्न वर्ग केन्द्रीत अभियानहरु सञ्चालन गर्ने क्रममा ती विपन्न पहिचान गर्ने सन्दर्भमा म त्यहाँ गएको थिएँ । सहभागीतामूलक पद्धतीवाट सम्पन्नता स्तरीकरण गर्ने सम्वन्धी सैद्धान्तिक छलफल मनहरीमा नैं गरिएको थियो । त्यसको स्थलगत अभ्यासका लागि परियोजना क्षेत्रमा गएका थियौं हामी । हाम्रो टोलीमा नाफानका मेनेजर दिगम्वर चौधरी लगायतका टिम थियो । रामशरण दोङ, सन्तोष थापा, देव प्रजा, सरिता वराम, करुणा नेपाल, कामना प्रजा, आर्यन प्रजा, विपि मोक्तान, शान्ति तमाङ, सिताराम प्रजा लगायतका एक दर्जन संख्याको हाराहारीमा हामी साथीहरु थियौं ।
मलाई पानी भने पछि असाध्यै डर लाग्दछ । खहरे खोला भन्ने कुरा गर्नु भएको थियो साथीहरुले । सानो होला फट्केर तरिहालिछनी भन्ने लागेको थियो । तर मेरो अनुमान गलत भयो । मैले त तर्न आँटै गर्न नसक्ने खोला पो रहेछ, जिर्खे । धन्न, चप्पल लगाएर गएकोले अलि सजिलो भयो । मेरो दिमाखमा त चप्पल लगाउने आएकै थिएन, मनहरीवाट हिड्ने बेलामा छाला जुत्ता लगाएर ठिक्क परेको थिएँ । तपाई पुग्नुहुन्न परेवाटार भन्दै होटलवालाले १ जोर चप्पल दिए, त्यही लगाएँ । त्यही पनि २ पटक जती खोलाले चप्पल वगायो । साथीहरुले दौडेर समाति दिए । त्यस पछि चाँही हातमा चप्पल लगाएर खाली खुट्टै खोला तरें । यसरी तर्दा खुट्टामा अलि अली घाउ पनि भएछ । तरें त के भन्नु रामशरण दोङको हात समातेर पारी पुगें । ५ पटक सम्म त गनेरै तरियो जिर्खे खोला । ठाडो खोला, ढुँगा नैं वगाएर ल्याउने भएकोले झन् डरलाग्ने नैं थियो । पानीले ठक्कर दिई दिई विभिन्न आकार लिएका मसिना ढुँगा देखि २ तले घर भन्दा अग्ला ढुँगा समेतको साक्षात्कार हुन पाइयो । अचम्म कस्तो भने वारी वारी वा पारिपारी एकातर्फवाट मात्र हिडौं भन्दा मिल्दै नमिल्ने । ठाउँ नैं त्यसतो थियो कि खोलोको क्षेत्र भन्दा हिड्न मिल्ने ठाउँ नैं थिएन । हिउँदमा पनि पानी सुक्ने भएकाले खोलामा नैं डोजरले सम्माएर सडक नैं वनाईन्छरे । कसरी वन्लार भन्ने लाग्यो तर ठाउँ ठाउँमा सडकको चिन्ह देखेर पत्याउन करै लाग्यो ।
हामी पुग्यौं, परेवाटार । स्वास्थ्य सम्वन्धी सरकारी कार्यालय त्यही नजिकै रहेछ, धन्न सरकारी निकायको उपस्थीति रहेछ भन्ने लाग्यो । शनिवार भएकोले खुल्ला भने थिएन । त्यहाँ राजकुमार स्याङतानसँग भेट भयो । उहाँसँग अघिल्लो दिनमा नैं चिनजान भैसकेको थियो । त्यो स्थानमा सफल कृषि उद्यमी हुनुहुँदो रहेछ । कृषिमा केही चासो लाग्ने भएकोले उहाँसँग संक्षिप्त कुराकानी गरें । उहाँले १ वाख्रावाट आफ्नो व्यवसाय थाल्नु भएको रहेछ । अहिले ७० वटाभन्दा वढि स्थानीय खरी जातका वाख्रा पाल्नु भएको छ । वोका पनि छन् । ती वोकाहरु स्थानीय छिमेकीहरुले विउको लागि लाँदा रहेछन् । हामी त्यहाँ भएकै वेलामा २ जना किशोरीहरु वोका लिन आए । लगे । यसरी लगेको कति पैसा लिनु हुन्छ भन्ने प्रश्नमा २०० भन्ने उत्तर आयो । अहिले यो प्रकृयावाट पनि आम्दानी राम्रै हुन्छ रे । यो व्यवसायमा नाफानले सहयोग गरेको रहेछ । आधुनिक तरिकाले खोर वनाएको देखियो । वड्कौला छुट्ीने गजबको खोर थियो । कृषि उद्यमी राजकुमारले बाख्रा, कुखुरा, टर्कि, वंगुर पालेका रहेछन् । हाम्रो टोलीलाई स्थानीय कुखुरा काटेर, मकै र कोदोको पिठो मिसाएर पकाएको ढिडो खुवाउनु भयो ।
हामी पुगेको देवीटार यो गाउँपालिकाको सवै भन्दा सुगम स्थान हो रे । यसैवाट अनुमान गर्न सक्दछौं अन्य स्थानको हालत कस्तो होला ? वर्षायाम भएकोले होला चारै तिर हरियाली मात्रै देखिन्थ्यो । हामी केही समय त्यहाँ पुग्नेलाई रमाइलै हो तर त्यहा नैं जीवन विताउन कति कष्टकर होला सहजै अनुमान गर्न सक्दछौं ।
कृषि उत्पादनमा राम्रो हुने रहेछ । केरा खेती भेटियो । अम्वा पनि फल्दो रहेछ अनी कोदो, मकै, फापर लगायतका अन्नवाली र अन्य खेतीपाती पनि राम्रै हुँने तर वर्षायाममा हिंडडुल र ओसारपसारको लागि यातायातको सवै भन्दा ठुलो समस्या रहेछ । यो ठाउँको प्रमुख मुद्दा के हो भन्ने मेरो प्रश्नमा सवैले दिएको एकै उत्तर हो, सडक यातायात । यहाँका वासिन्दाले नजिकको शहर मनहरी वा हेटौडा जाँदा कपडा र छालाको जुत्ता लगाएर जान पाउने अवस्था नैं छैन । कि त कम्ती ३ किलोमिटर पैदल यात्रामा हातलाई जुत्ता लगाई खाली खुट्टा हिड्नु पर्दछ । अन्यथा प्लाष्टिक चप्पलको विकल्प छैन ।
प्रदेश राजधानी हेटौडावाट ३०,३५ किलोमिटर टाढाको स्थानमा यस्तो नहुनु पर्ने हो । यातायातको लागि खोला भित्र पसेर हिड्नु पर्ने वाध्यतालाई हटाउने हो भने मजस्ताले यस खाले लेख लेख्नैं पर्दैनथ्यो होला । प्राकृतिक स्रोत साधानले भरिपूर्ण, सांस्कृतिक पक्षले सुसूजित चेपाङ लगायतका अधिकांश जनजातीहरुको वसोवास भएको स्थान पक्कै पनि रमणीय सहित समृद्ध हुन सक्थ्यो होला । यसका लागि सामाजिक न्यायको अर्थमा यस्ता क्षेत्रका लागि पक्षपाती बन्नैं पर्दछ । सुगम क्षेत्रको तुलनामा केही वर्ष यता धेरै कार्यक्रम तय गरौं, वजेट पठाऔं अनी इमान्दारीतापूर्वक काम गरौं । यस्मा नेतृत्व वर्गको पक्कै पनि ध्यान जाला भन्ने आशा छ । क्रमसः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *