अधिकांश व्यापारी फोन अफ गर्दै गुमनाम

समाचार

काठमाडौं । चुनाव र चन्दा आंतक सँगसँगै आउने बिषय नै भए । यस पटक दलले व्यापारी तथा ठेकेदार र पैसावाललाई नै टिकट दिएका कारण चन्दा आतंक घट्ने आँकलन गरिएको थियो तर त्यस्तो भएन । बरु विभिन्न राजनीतिक दल,पार्टी र तिनका नेताहरुको चन्दा आतंकका कारण सरकारी कर्मचारी,बैंकरदेखि उद्योगी,व्यवसायीहरुको भागाभाग छ भनिँदैछ ।
राजनीतिक दलदेखि स्वतन्त्र उमेद्धारहरुले चन्दा मागेर हैरानी पार्न थालेपछि अहिले नाम चलेका केही उद्योगी व्यवसायी देशै छोडेर विदेशिएका छन् भने केहीले बोकिरहेको मोवाइल नम्बर नै परिवर्तन गरिसकेका छन् । यस्तैमध्येका हुन चन्द्र ढकाल । ढकालले यस अघि बोक्दै आएको अन्तिममा २९ भएको मोवाइल नम्बर महिना दिनदेखि नै स्वीचड अफ छ । उनी नयाँ सीम निकालेर त्यही चलाउन थालेकाछन् । व्यापारी दीपक मलहोत्रा,शेखर गोल्छाहरुले समेत चन्द्र ढकालकै फर्मुला पच्छाएका छन् । पार्टी र तिनका नेताले हजार, लाखमा होइन करोडौंमा चन्दा मागेर आतकिंत बनाउन थालेपछि धेरै व्यवसायीहरु चुनाव आउनु महिना दिन अगावैदेखि यस्तो ट्रिक अपनाएका हुन । एक जना प्रतिष्ठित व्यापारीले तामाकोशी सन्देशसँग भने ८÷१० हजार भए पो हो भन्नु,पचासौं लाख सहयोग माग्न आउछन, यस्तो आर्थिक संकटमा कहाँबाट ल्याएर त्यत्रो सहयोग गर्नु ? यद्यपी आस्था र चिनजानका आधारमा व्यवसायीहरूले नै राजनीतिक दलका उम्मेदवारहरूलाई धेरै थोरै सहयोग गरिरहेको सुनाए । यस पटक धेरैजसो व्यापारिक पृष्ठभुमिबाट आएका व्यापारी,ठेकेदारहरु चुनावी मैदानमा छन् । पार्टीलाई सहयोग गरेरै उनीहरुले चुनाव हात पारेका हुन ।
जसमा विनोद चौधरी, मोतिलाल दुगड,देवी भट्टचन, मोहन आचार्य,बीरेन्द्र महत्तो,उमेश श्रेष्ठ,विक्रम पाण्डेजस्ता धनाढ्यहरु मैदानमा छन् । डलरे अर्वपति विनोद चौधरीले नवलपरासीतिर जात्रा देखाइरहेका छन् । कहिले मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका छन त कहिले गरिबको झुपडीमा गएर खाना खाएर जात्रा देखाइरहेका छन् । एमाले,काँग्रेसलाई दाम चढाएर सामानुपातिकबाट सांसद खाएका उनी अहिले आचारसंहितालाई अचार बनाएर निर्वाचन प्रसारमा छन् । उनी मतदाताको मत तान्न हप्तादिनदेखि भोजभतेर सञ्चालन गरिरहेका छन । चौधरीले नवलपरासीस्थित बर्दघाट नगरपालिका–७ जिमिरेभारमा भोजभतेर गरिरहेका र त्यहाँ दैनिक डेढ सय जनाभन्दा बढी व्यक्तिलाई मासुभात खाने व्यवस्था मिलाइएको छ । यस्तै उनले त्रिनेत्र अध्यात्म धाममा भोजभतेर चलाइरहेका छन् । तर माधव नेपाल र प्रचण्डलाई निर्वाचन आचारसंहिता उल्लघन ग¥र्यो भनेर पत्र काट्ने निर्वाचन आयोगले विनोद चौधरीले यसरी आचारसंहितालाई उल्लघन गर्दा रमिते बनिरहेको छ ।
यस्तै चुनावी मैदानमा स्थान पाउने अर्काै बदनाम व्यापारी हुन मोतीलाल दुगड । केपी ओलीको पालामा उनी राज्यमन्त्री र आर्थिक सल्लाहकार थिए । उनी ट्रेड मार्क चोरी जस्तो गम्भिर अपराधमा मुछिएका व्यक्ति । एमालेबाट समानुपातिक सांसदको सूचीमा छन् । बार्षिक १६ लाख खर्चेर बोसो फाल्न विदेश उड्ने अर्का धनाढ्य उमेश श्रेष्ठ चितवनबाटै चुनावी मैदानमा छन् । २ अर्ब भ्रष्टाचार काण्डमा डामिएका विक्रम पाण्ड चितवनबाटै भ्रष्टाचारको दाग मेटाउने मैदानमा छन् । नेपालको कालोधन ओसार पसार गर्नेमा मुछिएका व्यापारी राजेन्द्र बजगाइँ गोर्खाबाट चुनावी मैदानमा छन् भने सुन तस्करीमा डामिएका दीपक मलहोत्राको व्यवसायिक साझेदार मोहन आचार्य रसुवाबाट चुनाव भिड्दैछन् । अर्काै बदनाम व्यापारी तथा ठेकेदार पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट सत्ता गठबन्धनका उम्मेदवार छन् । ओलीलाई हेलिकोप्टर सयर गराउँदै आएका देवी भट्टचन आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका भट्टचन संसद् छिर्ने सम्भावना अधिकतम देखिन्छ । यसरी अधिकांश व्यापारीहरु नै अहिले पार्टीका उमेद्धार बनेका छन् ।
यता निर्वाचनमा दल,उमेद्धारदेखि नेताहरुसम्मले विभिन्न सरकारी निकाय,परियोजनाका हाकिमहरुलाई फोन गरेर चन्दा माग्न थालेपछि उनीहरु समेत मोवाइल नै स्वीचड अफ गरेर बसेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *