काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरु दिनप्रतिदिन ठगिएका उजुरीहरु बढिरहेका छन् । आफ्नै देशमा ठगिएर विदेश जानेहरु विदेशमा अलपत्र परिरहेका थुप्रै उदाहरणहरु छन् । नेपालीहरु विदेशमा अलपत्रसँगै अङ्गभङ्ग हुनेदेखि ज्यान गुमाउनसमेत वाध्य भएका छन् । वैदेशिक रोजगार व्यवसायी र विचौलियाहरुले सर्वसाधारण नेपालीलाई वर्किङ्गदेखि भिसादेखि भिजिट भिसामा नेपालीलाई विदेश पठाएर ठग्ने गरेका छन् । अझ नेपालबाट विभिन्न मुलुकमा घरेलु कामदारको लागि जाने नेपाली महिलाहरुलाई भिजिट भिसामा पठाउने धन्दामा गृहमन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालयका कर्मचारी र सुरक्षाकर्मी निकायको मिलेमतोमा सेटिङ हुने गरेको पर्दाफास भएको छ ।
एकातिर भिजिट भिसाको खेतीले सर्वसाधारणको उठिवास लागेको छ भने अर्कोतिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागमा दर्ता भइ आधिकारिक रुपमा सञ्चालित म्यानपावर कम्पनीहरुले विभिन्न मुलुकमा नेपाली कामदारहरुलाई विदेश पठाएर अलपत्र पारिरहेका छन् । यस्ता म्यानपारहरुले राम्रो काम र आकर्षक तलब सुविधाको आश्वासन दिएर बढी पैसा असुलेर पठाउने तर सम्बन्धित देशमा पुगेपछि कम्पनी फरक हुने र भनेअनुसारको काम र सेवासुविधा नपाउने गरेका थुप्रै उजुरीहरु वैदेशिक रोजगार विभागमा पर्ने गरेका छन् । यतिबेला वैदेशिक रोजगार विभागमा यस्ता खाले उजुरीहरु दैनिक पचासदेखि सयको हाराहारीमा पर्ने गरेको पाइन्छ ।
त्यसको उदाहरण बनेको छ काठमाडौंको बसुन्धारास्थित एएमबी ह्युमन रिसोर्स प्राइभेट लिमिटेड नामक म्यानपावर कम्पनी । सो कम्पनीले पाँच महिना अगाडि हल्का सवारी चालकको भिसामा १३ जना नेपालीलाई कुवेत पठाएको थियो । उनीहरुलाई नेपालबाट हल्का सवारी चालकको भिसा देखाएर पठाएको तर त्यहाँ पुग्दा त्यो काम र कम्पनी नपाएर अलपत्र परिरहेको समाचार प्राप्त भएको छ । कुवेतमा अलपत्र परेका १३ जना पीडित नेपालीहरुले २०८२-०२-१६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागमा आफूहरुलाई ‘स्वदेश फिर्ता गराई पाउँ’ भनी निवेदन गरेका छन् ।
ह्यूमन रिसोर्स मेनपावर सञ्चालक तथा एजेन्टहरु कृष्ण प्रसाद पुडासैनी, मोहन बस्नेत, धनबहादुर सारु मगर, भीमनाथ पौडेल, राजेश प्रसाद जैसवाल र रत्नबहादुर पौडेलविरुद्ध वैदेशिक रोजगार विभागमा पीडितहरुले उजुरी गरेका हुन् । सो समाचार तामाकोशी सन्देश डटकमले गत ‘१३ जना नेपाली कुवेतमा अलपत्र’ शीर्षकमा प्रकाशित गरिसकेको छ । विगत पाँच महिनादेखि कुवेतमा अलपत्र परेका नेपालीहरुमा भीमबहादुर बस्नेत, जनार्दन घिमिरे, लालकाजी भुजेल, थम्मन बहादुर नेपाली, नियन राजवंशी, राजेश चौधरी, विक्रम थापा, गोविन्द कुँवर, उदय न्यौपाने, निमा छिरिङ शेर्पा, मनिस गौतम, रुपेश लो तामाङ र सागर कुमार योङहाङ रहेका छन् । कुवेतमा अलपत्र परेका १३ जना नेपालीले पाँच महिनादेखि नेपाल झिकाउन हारगुहार गरिरहँदा सम्बन्धित निकायले चासो देखाएको छैन ।