राजनीतिक दलको प्रतिष्ठान खोल्ने नाममा राज्यको ढुकुटी र सार्वजनिक जग्गा झ्याप

राजनीति समाचार

काठमाडौं । । नेपालका राजनीतिक दलहरुमा अहिले पार्टीका नेताको नाममा प्रतिष्ठान खोल्ने होडवाजी नै चल्ने गरेको छ । त्यसरी प्रतिष्ठान खोल्नेमा पहिलो पार्टी नेपाली कांग्रेस रहेको छ । कांग्रेसले खोलेका वीपी कोइराला प्रतिष्ठान, गिरिजाप्रसाद कोइराला प्रतिष्ठान, सुशील कोइराला प्रतिष्ठान, गणेशमान सिंह प्रतिष्ठान, महेन्द्रनारायण निधि प्रतिष्ठान, सहिद केशव कोइराला प्रतिष्ठान, मंगलादेवी सिंह प्रतिष्ठानलगायत थुप्रै नेताको नाममा प्रतिषठन खोलिएको छ ।

यसरी नेताको नाममा प्रतिष्ठान खोल्नलाई राज्यको ढुकुटीबाट ठूलो धनराशी लिने गरिन्छ । राज्यको ढुकुटीबाट रकम लिएर खोलिएको प्रतिष्ठानहरुमा ती व्यक्तिका परिवार, आफन्त, आफ्नो पार्टीका कार्यकर्तालाई जागिर खुवाउने र आम्दानीको स्रोत बनाउने थलो बनाएका छन् । त्यति मात्रै होइन त्यस्ता प्रतिष्ठानहरुमा पार्टी कार्यालय सञ्चालन गर्ने र पार्टीको नाममा चन्द संकलन गरेर नेताहरुले मोजमस्ती गर्ने काम गर्दै आएका छन् । यसरी खोलिने प्रतिष्ठानको भवन निर्माण गर्नलाई राज्यको ढुकुटीबाट पैसा लिने अनि सार्वजनिक जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर कब्जा गर्ने गरिन्छ ।

उता नेकपा एमाले पार्टीले पनि नेताहरुको नाममा प्रतिष्ठान खोलेर देशैभरी सञ्जालै फैलाइसकेको छ । एमाले नेताका नाममा पुष्पलाल श्रेष्ठ प्रतिष्ठान, मनमोहन अधिकारी प्रतिष्ठान, मदन भण्डारी फाउन्डेसन, नेता झलनाथ फाउन्डेसन, जीवराज आश्रित प्रतिष्ठान, भरतमोहन प्रतिष्ठानजस्ता थुप्रै नेताका नाममा खोलिएको प्रतिष्ठानबाट नेताका परिवार, नातागोता, आफन्तले व्यक्तिगत फाइदा लिने र जागिर खुवाउने काम गरेका छन् ।

यसरी व्यक्ति र पार्टीको नाममा प्रतिष्ठान खोल्न भने राज्यको ढुकुटीबाट रकम लिने र सार्वजनिक जग्गा कब्जा गरी भवन निर्माण गर्ने काम गरिएको छ । यसरी प्रतिष्ठानको नाममा निर्माण गरिएको भवनमा पार्टी कार्यालय राख्ने, बैठक बस्ने, पार्टीको नाममा विभिन्न निकायबाट चन्दा उठाउने अनि नेताहरुले मोजमस्ती गर्ने काम गर्दै आएका छन् ।

त्यसैगरी नेकपा माओवादीले दश वर्षे जनयुद्धको नाममा हिंसात्मक गतिविधि गर्दा १७ हजार सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए । त्यसपछि माओवादी शान्तिवार्तामा आएर तीन पटक सरकारको नेतृत्व गर्न सफल भएको पार्टीले पनि विभिन्न नेताको नाममा प्रतिष्ठान खोल्ने काम गर्दै आएको छ । माओवादीले बेपत्ता योद्धा सन्तती फाउन्डेसन, पोष्टबहादुर बोगटी फाउन्डेसन, कृष्णसेन इच्छुक प्रतिष्ठानलगायत थुप्रै नेताको नाममा प्रतिष्ठान खोल्दै आएको छ ।

यसरी पार्टी र नेताको नाममा प्रतिष्ठान खोल्न माओवादीले पनि राज्यको ढुकुटीबाट रकम लिन अनि सार्वजनिक जग्गा पार्टीको नाममा हडप्ने र भवन निर्माण गर्ने काम गरिरहेको छ । त्यसरी खोलिएका प्रतिष्ठान भवनहरुमा नेताका आफन्त, परिवार, आसेपासेलाई विभिन्न पदमा जागिर खुवाउने र पार्टीका विभिन्न गतिविधि सञ्चालन गर्ने काम गरिन्छ । अन्य पार्टीहरुले पनि आफ्ना नेता र पार्टीको नाममा विभिन्न प्रतिष्ठानहरु खोल्दै जाने हो भने कुनै दिन नेपालका सार्वजनिक जग्गा खाली रहने छैनन् ।

उता राइवासी दलहरुले पनि यसैको सिको गर्दै आफ्ना नेता र पार्टीको नाममा फाउन्डेसन खोल्ने क्रम जारी छ । त्यसरी खोल्नेमा गजेन्द्रनारायण सिंह प्रतिष्ठानलगायत थुप्रै नेताहरुको नाममा प्रतिष्ठान खोल्ने क्रम जारी छ । यसरी व्यक्तिका नाममा खोलिएका प्रतिष्ठानहरुमा अधिकांश जनताले तिरेको करमाथि मोजमस्ती गर्दै आएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *