दश वर्षको वेहुली २२ वर्षको बेहुलो

लेख विविध

यस धर्तिमा २००८ साल श्रावण ६ गते आएको हुँ रे । मेरो नाम तिलरुपा बोलाउने नाम भने विष्णुमाया श्रेष्ठ हो । १० वर्षको हुँदा बेहुली भएको थिएँ । मेरो बेहुला चाँही २२ वर्षको हुनुहुँदो रहेछ । अहिले हो भने गैरकानूनी काम भएकोले जेल जानु पर्ने हुन्थ्यो । संझदा पनि अचम्म लाग्दछ । विवाह अघि केटो देखेको पनि हैन । बुबाले विवहाको ‘कुरो छिन्नु’ भएको हो । म जन्मेको भोजपुर जिल्लाको दिङ्ला हो भने मेरो विवहा गरेको घर चाँही भोजपुरकैं टक्सार हो । मेरो माइती घरबाट आफ्नो घर पुग्न विहान ४ वजे हिंड्दा वेलुका साँझमा मात्र पुगिन्थ्यो । पैदल विकल्प थिएन ।

विवहा हुनु अघि नैं ३ कक्षासम्म पढ्ने मौका पाएको थिँए । त्यो बेलामा २ कक्षामा नैं अंग्रेजी पढ्नु पर्दथ्यो । त्यसैले अंग्रेजीमा सामान्य साक्षर हुने मौका मिलेको थियो । ४ कक्षा चाँही भोजपुरमैं रहेको षडानन्द संस्कृत विद्यालयमा पढ्न पर्ने भयो । तर त्यो संस्कृत पढ्न आउँदै आएन त्यसैले पढ्न छाडिदिएँ ।

१० वर्षमा नैं विवहा गर्नुको कारण भने ज्योतिषको ठहर रहेछ । १० वर्षमा जो माग्न आउँछ उसैसँग विवहा गरिदिनु नत्र छोरीका धेरै ज्वाई हुन्छन् भनेर ज्योतिषीले बुबालाई भनेको रहेछ । त्यही भएर पहिलो पटक माग्न आउने केटासँग नैं विवहा गरिदिएको रे ।
विवहा पछि पनि केही वर्ष माइती घरमा नैं वसें । म १३ वर्षकी हुँदा श्रीमान् लिन जानु भयो । त्यस पछि घरमा आएँ ।

म २० वर्षको हुँदा छोरो जन्म्यो । त्यस पछि पनि अर्को छोरोको आश राख्दा राख्दै २,२ वर्षको फरकमा ४ वटा छोरीहरु जन्मे । छोरो जन्मदा मेरो श्रीमान्ले सुनको कनपासा किनेर दिनु भएको थियो, खुसी भएर । रु. १ सय ६० परेको भन्दै हुनुहुन्थ्यो । पहिलाको चलनमा छोरा छोरीको विचमा ठुलो विभेद थियो । मलाई पनि त्यस्तै नैं गर्नु पर्दछ जसतो लागेर अहिले भन्ने गरेको भेदभाव नैं गरें । अहिले पछुतो लागिरहन्छ, त्यो बेलाको सामाजिक परिवेश नैं त्यस्तै भएर होला ।

छोरीलाई ‘वन्साका बोट’ भन्ने गर्दथ्ये । छोरीहरु जसरी पनि हुर्कन्छन् । उनीहरुलाई हुर्काउन मेहनत गर्नु पर्दैन भन्ने चलन थियो । छोरीहरुले मिठो खानु पर्दैन काम मात्र लगाउनु पर्दछ भन्ने मानसिकता थियो । मेरो श्रीमान् र छोरालाई मसिना चामलको भातको व्यवस्था हुन्थ्यो । छोरीहरुलाई तौली धानको खस्रो भात दिइन्थ्यो । कहिले कांही मकैंको च्याङ्ख्ला पनि हुन्थ्यो । बावु छोराको लागि खाने थाल काँसको, कचौरा पनि झर्काको, पानी पिउने पँहेलो टिलिक्क परेको करुवा, वस्ने पिर्का नैं विशेष हुन्थ्यो ।

छोरीको लागि तिहुन तरकारी भात स्टीलको थालमैं एकै ठाउँमा हालेर दिने चलन थियो । मैले पनि त्यसै गरें । श्रीमान्ले खाएर अलिकति भात थालमा राख्ने चलन थियो । त्यसलाई ‘पुरा’ भन्ने गरिन्छ । श्रीमान्को मृत्यू नहुँदासम्म पनि मैले पुरा खाइरहें । श्रीमान् र मैले सायदै एकै चोटी खाना खायौं होला ।

मेरो श्रीमान् अहिलेको जिल्ला प्रशासन कार्यालय भन्ने गरेको त्यो बेलाको जिल्ला कार्यालयमा खरिदार हुनुहुन्थ्यो । विहान खाना खाएर अफिस गए पछि छोरा छोरीहरु विद्यालय जान्थ्ये । छोरीहरु विद्यालयबाट फर्केर घाँस काट्न लाग्थ्ये । तर छोरो चाँही क्यारेम खेल्न टोल तिर लाग्थ्यो । श्रीमान् अफिसबाट फर्कर्ने बेलामा छोरीहरु घाँसको भारीको साथ आउँथ्ये छोरो खोज्न गाउँ लाग्नु पर्दथ्यो । गल्ती गरिएछ । त्यो मेरो माया छोरो र म प्रति पनि भारी पर्न गयो । छोरोले डेढ दशक भो ‘आमा’ भनेर बोलाएको पनि छैन । बाबुको बार्षिकी पनि अलग अलग गर्नु परेको थियो । तैपनि मातातिर्थ औशींको दिन एक पटक फोन आउने गरेको छ । एक्लो छोरो हो, अस्पतालमा उपचार गरिरहँदा नजिकै आवोस्, आमा भनोस् भन्ने चाहाना कुन बावुआमालाई हुन्न होलार !

मेरो घर भएको स्थानलाई टक्सार भन्ने गरिन्छ । त्यो ठाउँमा पहिला सिक्का वनाउने गरिन्थ्यो रे । त्यो त देख्न पाइएन तर पछिसम्म पनि भाँडा वनाएको ट्वाँङ, ट्वाँङ आवाज सुनिन्थ्यो । त्यो आवाजले अहिले पनि नमिठो वनाएको जसतो लाग्दछ । अहिले त्यसतो आवाज निस्कदैन यद्यपी भाँडा वनाउने काम भने हुने गर्दछ । भोजपुरको करुवा र खुकुरी नेपाल भर चर्चित छ ।

वैवाहिक जीवनको ६० वर्षे यात्रा विताएर श्रीमान ८२ वर्ष हुँदा विछोड हुन पुग्यो । अवुर्द रोगको कारण श्रीमान्को निधन भयो । म विछिप्त भएँ । वाँच्नुको विकल्प थिएन । तैपनि श्रीमान्सँगको सम्वन्धलाई जीवन पर्यन्त वनाउन भोजपुरका २ वटा विद्यालय (आदर्श शिसु र यशोधरा माद्यमिक विद्यालय)मा अक्षय कोष स्थापना गरिदिएको छु । कोषको थैली केही वढाएर त्यसको व्याजवाट विपन्न विधार्थीलाई नियमित सहयोग गर्ने सोच रहेको छ । मेरो श्रीमान् धेरै जसो आराम गर्ने र टहलिने घरै नजिकको ठाउँ छ ।

त्यही ठाउँमा एक सार्वजनिक पाटी वनाइदिएको छु । त्यो ठाउँ देखेर अहिले श्रीमान्सँग विगतका स्मृतीहरु छछल्कीरहन्छन् । त्यहाँ अहिले धेरै जनाको विश्राम स्थल र सार्वजनिक चासोको विषयमा छलफल गर्ने केन्द्र भएको छ । श्रीमान् सरकारी कर्मचारी भएकोले पेन्सन आउँथ्यो । उहाँको निधन पश्चात मलाई पनि महिनाको १५ हजार आउँछ । यसबाट मेरो दैनिक खर्च राम्रैसँग चलेको छ । कहिले काठमाडौं कहिले भोजपुर कहिले अष्टे«लिया तिर घुमघामा गरेर जीवन विताइरहेको छु ।

देश विदेश घुम्ने मौका मिल्यो । तिर्थाटन पनि गरियो । २ पटक अष्ट्रेलिया तिर पनि घुम्न गैयो । जती घुमे पनि, ठुला ठुला घर भवन देखि पनि भोजपुर जस्तो रमाइलो कंही पनि लागेन । १४ वर्षको उमेरमा वराह क्षेत्रमा पुगी पहिलो पटक गाडी चढेर विराटनगर गएको थिएँ । अहिले भोजपुरमा रहेको माइतीवाट घर जान कालोपत्रे सडक छ । घरको आँगन छेउमा विमानस्थल छ । सञ्चारको कुरै नगरौं देश दुनियाँमा भएका सन्तान र आफन्तसँग अनुहार हेरेर वात मार्न मिलेको छ । सवैको मनमा शान्ती होस् कसैंको मन नदुखोस भन्ने चाहाना रहेको छ । सवैमा शुखशान्तीको कामना सहित नेपालीको नयाँ वर्ष २०८० को मंगलमय शुभकामना । धन्यवाद (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *