कांग्रेसको बैठकमा कालोबजार र भ्रष्टाचारको एजेण्डा नै छैन

राजनीति समाचार

काठमाडौं । सत्ताको ठूलो दल ११ महिनापछिको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले १० सुत्रीय, अर्का महामन्त्री विश्वप्रकाश शर्माले नीति र सिद्धान्त जोडेर ७ सुत्रीय एजेण्डा पेश गरेका थिए । तर कांग्रेसीहरुले आफ्नो स्वभावजस्तो छ त्यस्तै गरेका छन् ।

पार्टीको हित र संस्थागत विकासमा कुनै नेताको चासो भएन । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका पात्र र प्रवृत्तिका बारेमा कांग्रेसमा दुई धार देखिए । सभापति शेरबहादुर देउवाले बैठकमा बोल्दा भन्दा बैठक बाहिर क्रान्तिकारी देखिने रामहरि खतिवडा, शंकर भण्डारी, महेन्द्र यादव, ध्रुव वाग्लेजस्तालाई ठाउँका ठाउँ ल्याउने काम गर्दा डा.शेखर समूहका हस्ती गुरु घिमिरेहरु दंग परे ।

पार्टी सरकारमा छ, मन्त्रीले राम्रो काम गरेका छैनन् । विगतमा देउवा पत्नी डा.आरजु राणा र बालकृष्ण खाँड पत्नी मञ्जु खाँडको सिको गर्ने परराष्ट्रमन्त्री नारायणप्रसाद साउद कि पत्नी ज्योत्सना अधिकारीको हैकम चलेको बारेमा कसैले कुरा उठाएन । नेपाली कांग्रेसका वर्गीय संगठनहरु ध्वस्त छन् । तरुण दलमा र नेविसंघमा तदर्थ समिति गठन भयो ।

अन्य विभाग र संगठनहरुमा भदौ १५ सम्म मनोनित गर्ने कार्य समिति चलयामान बनाउने भन्ने कुरा बैठकमा कसैले बोल्ने एजेण्डा भएन । पार्टीका ९ जना मन्त्रीले कस्तो काम गरे ? जनताको सरोकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाले के गर्दै छन् ? स्वास्थ्यमन्त्री मोहन बस्नेतको गृह जिल्लामा लुटतन्त्र चलाएजस्तो दादागिरी चर्केको छ ।

डाक्टर तह लगाउन हवल्दार खटेजस्तो स्वभाव बस्नेतको छ । सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन महामन्त्री गगन थापाको मौखिक रोइलोविरुद्ध धेरै सदस्यहरु जागे । महेन्द्र यादवले जेलमा भएका नेता बालकृष्ण खाँडको स्तुति गाए । भ्रष्टलाई पार्टीले कारवाही गर्दैन, उल्टै महेन्द्र यादव, ध्रुव वाग्लेहरु नक्कली भुटानी शरणार्थीको नाममा १ करोड ५० लाख खाने खाँडको पक्षमा उभिए ।

अरु केन्द्रीय सदस्यको कुरै छाडौं सहमहामन्त्री बनेकाहरुले समेत आफ्नो हैसियत के हो बुझेनन् । पार्टी र सरकार बिचको समन्वय छैन । मन्त्री मन्त्री बिचमा पनि उस्तै छ । डा.शेखर पक्षका मन्त्रीहरुले शेखरकै आदेशमा काम गर्छन भने सभापतिको कोटाका रक्षा, अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, स्वास्थ्य मन्त्रीले डा.आरजु र मञ्जुकै आग्रह स्वीकारेका छन् । शेखर पक्षले महिला तथा बालबालिका, कानून र खेलकुद मन्त्री पाएको छ ।

काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं भएको छ कांगे्रस । देउवा पक्षलाई माओवादीलाई एमालेसँग भड्काएकोमा गौरव छ । डा.शेखर पक्ष अहिले नै एमालेसँग मिलेर माओवादीलाई धोका दिन सके विपीको समाजवाद लागू हुने ध्याउन्नमा छ । तर सभापति देउवालाई प्रधानमन्त्री दाहालको इमान्दारपनप्रति विश्वास छ । किनकि प्रचण्डले एमालेका केपी ओलीले जस्तै बेइमानी गर्दैनन् । कांगे्रसको बैठकमा जनजीविकाको सवाल उठ्दैन । भ्रष्टाचार गरेर जेल पुगेका व्यक्तिहरुसँग मासिक घर खर्च चलाउनेहरुले तिनकै भजन किर्तन गाएका छन् ।

कांग्रेस मिलेर जाने २०८४ को चुनावमा एक्लै जित्ने कल्पनाका कुरा जीवन परियार, बद्री पाण्डे, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय (डिना) , फरमुल्ला मन्सुर, भिष्मराज आङदाम्वेसम्मका एउटै हुन् । युवा महामहामन्त्री किशोरसिंह राठौर केन्द्रीय सदस्य जितजंग बस्नेतहरुको चासो गगन थापा र विश्व प्रकाश शर्माको प्रतिवेदनमा भन्दा गुटकै सेवामा थियो । उनीहरु सभापति शेरबहादुर देउवाका झोले नै भउका थिए ।
देशमा कालोबजार चरम छ । गृह मन्त्रालयले एयरपोर्टको सुन काण्ड उचाल्दा कांग्रेसको ध्यान छैन ।

भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड, आङटावा शेर्पा, टेकनारायण पाण्डेको जेल बसाइँमा जति केन्द्रीय सदस्यले चासो लिए जनताको समस्यामा ध्यान दिएको देखिएन । जस्तो नेतृत्व त्यस्तै पार्टीजस्ता नेता, त्यस्तै केन्द्रीय सदस्य भनेको यही हो । जहाँ प्रमुख प्रतिपक्ष रमिते भएको छ । सरकारको सुस्ततामै कांग्रेस जिम्मेवार भएको प्रमाण ११ महिनापछि जारी बैठकले पुष्टि गर्दैछ ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *