कांग्रेसको झगडाले स्वास्थ्य मन्त्रालयमा किचलो

राजनीति समाचार

काठमाडौं । पार्टी एउटै,मन्त्रालय उही । पूर्व र बहालवाला मन्त्रीको चेपुवामा पर्दैछन् निरिह कर्मचारीहरु चाहिँ । उपेन्द्र यादवका पार्टीका मन्त्री बैंकर वीरेन्द्र महत्तोकै शैलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पूर्व मन्त्री गगन थापाका समयमा नियुक्त भएका कर्मचारीहरु धमाधम लखेट्दै छन् ।

जसरी वीरेन्द्र महत्तोको निशानामा परे उनकै पार्टीबाट पूर्व वन मन्त्री रहेका प्रदीप यादवका समयमा नियुक्त भएका कर्मचारीहरुलाई लखेटिएका थिए । मन्त्री महतोले राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. महेश्वर ढकाललाई मन्त्रालयमा तानेर त्यहाँ वन माफियाहरुको इच्छा अनुसार सिन्धु ढुंगनालाई पठाएका छन् । यस्तै वन तथा भूसंरक्षण विभागको महानिर्देशक बनाएर शिवकुमार वाग्लेलाई पठाइँदा त्यहाँँका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

उता नेपाली कांग्रेसभित्रको आन्तरिक झगडाको छायाँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पर्न थालेको बताउँछन्,स्वास्थ्यका कर्मचारीहरु । त्यहाँ पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नियुक्त गरेका कर्मचारीहरु छानीछानी मोहन बस्नेतले खेद्न थालेका हुन । जस्तो गगन नजिकको भएकै कारण प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाको स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने पक्कापक्की भएर पनि ब्रेक लाग्यो ।

त्यहाँ यस अघि नै प्रसुति रोग हाँकिसकेकी युवा डा. संगीता मिश्रालाई समेत नलगि लामो समयदेखि डा. दीपेन्द्ररमण सिंहलाई निरन्तरता दिएका छन् । यस्तै न्याम्समा रेक्टरका प्रवल दावेदार डा. लोचन कार्की जिल्लारामा खाँदैछन् तर यस अघि वीरका कार्यरत डा भुपेन्द्र बस्नेतलाई आफू मन्त्री हुने वित्तिकै निमित्त उपकुलति बनाइदिए ।

न्याम्सको डिनका लागि डा. सन्ध्या चापागाईको दावेदारी बलियो थियो । किनभने, नेपाल मेडिकल काउन्सिलकी सदस्यसमेत रहेकी डा. चापागाईलाई नियुक्त गर्दा समावेसी टिम बनाएको र महिलालाई पनि टिममा राखिएको सन्देश जान्थ्यो । तर, डा. सन्ध्या र उनका श्रीमान डा. सुवास आचार्य गगन निकट रहेकै र एमालेको पालामा अवसर लिएको भन्दैं उनको नाम पनि डिन बन्ने लिष्टबाट हटाइयो । नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारका लागि प्रबल दाबेर मानिएकी थिइन—वीर अस्पतालकी नर्स रमिला चौलागाई ।

तर, रमिलाको नाम पनि गगनकै मान्छे भनेर काटियो । अहिले स्वास्थ्य मन्त्री बस्नेत उपसचिव कृष्ण थापाको भर बढी पर्ने गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ । थापा परराष्ट्रमन्त्री एनपी साउँदका ज्वाइँ हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा गरेर ल्याइएका थापा प्रशासनतर्फका उपसचिव हुन् । यसरी पार्टीभित्रको झगडाको असर मन्त्रालयमा समेत प्रष्टैसँग देखिन थालेको कर्मचारीहरु टिप्पणी गर्ने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *