होटेल रेष्टुरेन्टको खानाले नेपालीहरु रोगको शिकार बन्दै

शिक्षा/स्वास्थ समाचार

सावित्री खत्री
अधिकांश नेपालीहरु अहिले खान र लाउनको लागि सौखिन भएका छन् । अधिकांश नेपालीहरुले घरमा नखाएर बिहानको खाना र दिउसोको खाजासहित बुलेकाको खानपान होटेल, रेष्टुरामै खाने र घरमा रहेका परिवारलाई पनि प्याकिङ्ग गरेर लानेहरुको दिनप्रतिदिन भीड लाग्ने गरेको छ । खानाका आइटमहरुमा म.म, चाउमिन, पिजा, बरगर र विभिन्न मासुका परिकारहरु पर्दछन् । यसरी खाना खाने नेपालीहरुले आफ्नो स्वास्थ्य र फजुल खर्चको बारेमा सोच्ने गरेका छैनन् ।

यस्ता खानाको परिकारले अधिकांश नेपालीहरु फुड प्वाइजनको शिकार बन्ने गरेका छन् । अधिकांश महिला दिदीबहिनीहरुले मन पराउने पानीपुरी र चटपटेलाई पहिलो प्राथमिकता दिने गरेको देखिन्छ । यसरी तयार गरेर बजरमा विक्रीवितरण गरिने र खाने परिकारहरु गुणस्तरयुक्त छ कि छैन भनेर नत उपभोक्ताले ख्याल गरेका हुन्छन् नत सम्बन्धित निकायले ध्यान दिएको पाइन्छ । त्यस्तै पिजा, बर्गर, हटडग, क्रोसन, केक, डुनोटजस्ता खाना बेकरी आइटममा पर्दछन् । यी खानाका परिकार बनाउन अधिकांश डेट सकिएको मैदा, बिग्रिएको अण्डा, दुषित पानी, सडेगलेको पाउरोटी डालडा घिउ प्रयोग गरिन्छ ।

यसरी बनाइएका परिकारहरु आकर्षक प्याकेट बनाएर बजारमा पठाउने गरिन्छ । नयाँ र आकर्षक ढंगले प्याक गरेको देखेपछि उपभोक्ताको नजर त्यस्ता खानामा पर्दछ । यी परिकारका खानाबाट अधिकांश मानिसहरुलाई हृदयघात, रक्तचाप, मोटोपनलगायत विभिन्न रोगहरुले सताउने गरेको छ । यस्ता खानाको परिकारप्रति न त खाद्य तथा गुणनियन्त्रण विभागले अनुगमन गरेको छ नत वाणिज्य विभाग र उपभोक्ता मञ्चले त्यसप्रति ध्यान दिएको देखिन्छ । अर्कोतर्फ रोटी, भात, ढिँडो, मम, चाउमिनजस्ता खानाका आइटमहरु पाइने होटेल, रेष्टुरेन्टहरु अधिकांश ठाउँमा खोलिएका हुन्छन् ।

त्यस्ता होटेलहरु लामो दूरीमा चल्ने सवारी साधनका यात्रुहरुले खाना खाने होटेलदेखि काठमाडौंका विभिन्न चोक र गल्लीमा खोलिएका होटेलहरु पर्दछन् । यस्ता होटेलमा खानाको गुणस्तर र सरसफाइलाई ध्यान नदिइकन यात्रुहरुले खाने गरेका छन् । त्यस्ता होटेलमा प्रयोग गरिने तरकारीका आइटमहरु बजारमा विक्री नभएर फाल्न लागिएको सागसब्जीहरु सस्तो मूल्यमा खरिद गरिन्छ । त्योसँगै अचार बनाउन प्रयोग गरिने गुलभेडा, मुला, काक्रो र गाँजर पनि सडेगलेको सस्तो मूल्यमा ल्याउने गरिन्छ । त्यस्तै अधिकांश होटेल, रेष्टुरामा ट्यूबेलको पानी प्रयोग गरिएको पाइन्छ । खाना पकाउने ठाउँपनि फोहोरले दूगन्धित हुने गरेको देखिन्छ ।

त्यस्तै जुठा भाँडा उठाउने र त्यही हातले खाना पस्किएर दिने गरेको पाइन्छ । यस्तो लापरबाही लामो दूरीमा यात्रा गर्ने यात्रुले होटेलदेखि काठमाडौंका विभिन्न चोक, गल्लीहरुमा खोलिएका होटेलहरुमा खाने गरेको पाइन्छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न चोक, गल्ली र टोलटोलमा खोलिएका भट्टीपसलहरुको अवस्था पनि त्योभन्दा कम छैन । यी भट्टीपसलहरुमा गुणस्तरहीन लोकल रक्सी र सडेगलेका माछा, मासुका आइटमहरु खुलमखुला विक्रीवितरण गरिएको देखिन्छ ।

उभोक्ताहरु पनि रक्सीको तालमा सडेर दुर्गन्धित भएका मासुका आइटमहरु स्वास्थ्यको ख्यालै नगरी दिनहुँजसो खाइरहेका छन् । यसप्रति नत स्थानीय सरकारले ध्यान दिएको छ नत सम्बन्धित निकायले चासो दिएको देखिन्छ । अझ भट्टीपसलहरुमा लोकल रक्सी खाएर होहल्ला गर्ने र झैझगडा भएर समाजलाई असर पारिरहेको अवस्था छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *