मुख्यसचिवकै कारण सरकार असफल बन्दै

राजनीति समाचार

अधिकांश मन्त्रीहरु आफ्नै तालमा
काठमाडौं । राजनीतिक दलहरुले आफ्नो स्वार्थमा कर्मचारीतन्त्रलाई चलाउँदा अधिकांश कर्मचारीतन्त्रहरु राजनीतिक दलका नेताको शरणमा पुग्ने गर्छन् । राजनीतिक आडकै भरमा मुख्य सचिव, सचिव बन्नेहरुको पनि खेलोफड्को हुने गरेको छ । मुख्य सचिवकै कारण देश अहिले जरजर अवस्थामा पुग्ने संकेत देखिन्छ । मुख्य सचिवले गर्नुपर्ने भूमिका निर्वाह गर्न सकेका छैनन् । राजनीतिक दलको फेरो समाएर मुख्य सचिव बनेका बैकुण्ठ अर्यालले अन्य सचिवहरुलाई चलायमान बनाउन सकेका छैनन् ।

जुनसुकै मन्त्रालयको काममा पनि मुख्य सचिवको भूमिका महत्वपूर्ण रहेको हुन्छ । मुख्यसचिवले अधिकांश मन्त्रालयको प्रगति विवरण सचिवहरुसँग माग्नुपर्ने हुन्छ । सहसचिव र उपसचिवहरुले के कस्तो काम गरेका छन्, त्यसको प्रगति विवरण माग्नुपर्ने हुन्छ । सचिव, सहसचिवहरुले पनि मुख्यसचिवसँग परामर्श लिएर काम गर्नुपर्ने हुन्छ । त्यसरी परामर्श लिँदा देशलाई कसरी चलायमान बनाउने र विकासको योजना कसरी अगाडी बढाउने भन्ने छलफल पनि गर्नुपर्ने हुन्छ । तर, त्यो नगरी मुख्य सचिव कमाउ धन्दामा व्यस्त देखिन्छन् ।

ती काम नगर्दा मुख्य सचिवले गर्नुपर्ने काम ओझेलमा पर्दै गएको छ । अधिकांश मन्त्रालयका कामहरु लथालिङ्ग अवस्थामा छन् । सचिवहरु विदेश घुम्नमा व्यस्त छन् । हुनत राजनीतिक दलकै कारण मुख्य सचिव बनेकाहरुले यस्तै काम गर्ने हुन् । जहाँ राजनीतिक दलको हस्तक्षेप हुन्छ त्यो क्षेत्र लथालिङ्ग हुन्छ । त्यस्तै अहिले निजामती क्षेत्रमा भएको छ । मुख्य सचिवलाई काम गर्नपनि गाह्रो परेको छ । किन की विभिन्न दलका मन्त्री र राजनीतिक दलनिकट कर्मचारी युनियनका नेताहरुले घुमाई फिराई आफ्ना मान्छेहरुलाई मालदार ठाउँमा पठाउने काम गरिरहेका छन् ।

राजनीतिक दलनिकट कर्मचरीहरुले स्वतन्त्र सेवाग्राहीहरुको काम पनि गरेका छैनन् । मन्त्री र मुख्य सचिवको समन्वयकारी भूमिका नहुँदा पनि विकासको कामहरु अलपत्र पर्ने गरेका छन् । राजनीतिक दलहरुले मुख्यसचिवको कार्यकाल नसकिँदै मुख्य सचिव बनाउने खेलोफड्को नगरेका होइनन् । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले पनि कर्मचारीतन्त्रलाई चलायमान बनाउन सकेका थिएनन् । उनको कार्यकालयमा उल्टै कर्मचारीहरुले गरेको भ्रष्टाचारलाई प्रोत्साहन दिएका थिए ।

बैरागी पनि राजनीतिक दलकै आडमा मुख्यसचिव बनेका थिए । मुख्यसचिवको कार्यकाल नसकिँदै गठबन्धन सरकारले बैरागीलाई राजनीतिक नियुक्ति दिएर बैकुष्ठ अर्याललाई मुख्यसचिव बनाएको छ । तर, गठबन्धन सरकारले जति विश्वास गरेर अर्यालयलाई मुख्य सचिव बनायो त्यो अनुसारको काम उनले गर्न सकेका छैनन् । हुन त अर्याल चिरिच्याट्ट पर्ने, सिंहदरबारभित्र घुमघाम गर्ने र हासीमजाकमै दिन बिताउने गर्दै आएका छन् । अधिकांश मन्त्रालयको काम लथालिङ्ग अवस्थामा छ ।

मुख्य सचिव अधिकांश मन्त्रालयमा कर्मचारीहरुले के÷कस्तो काम गरेका छन् भनेर अनुगमन गरी विकास निर्माणको कामदेखि विभिन्न योजनाहरु कसरी भइरहेको छ भनेर रेखदेख गर्नुपर्ने हो । तर, अर्यालले भने त्यो समेत गर्न सकेका छैनन् । तर, मन्त्रीहरु भने दलीय र व्यक्तिगत स्वार्थ राखेर आ–आफ्नै तालमा रमाउने गरेका छन् । यतिबेला परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमणमै व्यस्त छन् । उता गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर फर्किएका छन् । त्यस्तै चाडवाडको मुखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भारत भ्रमण गरेर फर्किएका छन् । अन्य मन्त्रीहरु पनि विभिन्न बहाना बनाएर विदेश भ्रमणमै रमाउने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *