भावी सेनापति बन्न भिडन्त

राजनीति समाचार

काठमाडौं । नेपाली सेनामा प्रधानसेनापतिका प्रवल दावेदारहरु एक पछि अर्काे सर्टिफिकेट र कीर्ते काण्ड लागेर घर जाने सिलसिला यतिकै अन्त्य होला ? वा प्रधानसेनापति प्रभुराम शर्मा घर जानु अघि उनका उत्तराधिकारी खोज्ने क्रममा आगामी भदौसम्मंमा ‘लहरो तान्दा कति पहरो थर्कने’ हो हेर्न बाँकी छ ।

उपरथी ताराध्वज पाण्डेलाई जंगीअड्डाले रथी बढुवा सिफारिस गरेको २४ दिनपछि राजीनामा दिएर घर फर्किए । जुन विवादमा परेर उनी घर गए त्यही र उस्तै प्रकरणमा प्रभुराम शर्माले भावी प्रधानसेनापति बनाउन चाहेका अशोक सिग्देल पनि जोडिन्छन् भन्छ जङ्गी अड्डा श्रोत । अधिकृतदेखि उपथी हुँदासम्म र म्यादथप गर्दा पनि त्यही नागरिकताका आधारमा हुने तर रथी बढुवामा भने विवाद निकालिनुमा सैनिक नेतृत्व पाण्डेलाई सेनापति हुन नदिने पक्षमा रहेको र सो योजना सफल पनि भएको छ ।

नेपाली सेनामा भावी प्रधानसेनापतिका रुपमा हेरिएको छ,उपरथीमा बढूवा भएका अशोक सिग्देल । तर सिग्देलको समेत ताराध्वजको झैं जन्ममिति ‘कैफियत’ रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । गत २९ असोजमा रथी बढुवा सिफारिस भएका अर्का उपरथी ताराध्वज पाण्डे जन्ममिति कैफियतकै कारण राजीनामा दिएर घर हिडेपछि सिग्देल प्रधान सेनापतिको दाबेदार छन् । खासमा अख्तियारमा परेको उजुरीकै आधारमा जन्ममिति कैफियत प्रमाणित भएपछि प्रधान सेनापति हुने निश्चित भएका उपरथी पाण्डे राजीनामा दिएर घर हिड्न बाध्य भएका थिए ।

अब यही नियति अर्का उपरथी अशोक सिग्देलको हकमा समेत दोहोरिन सक्ने जंङ्गी अड्डा स्रोतले जनाएको छ । अख्तियारमा सिग्देलविरुद्ध परेको बेनामे उजुरी (दर्ता नं. सि–०२९५६३ )मा भनिएको छ ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन्, उनी भविष्यमा सैनिक प्रमुख हुने लाइनमा छन् ।’ सेनाको सुपिङ क्याम्पसबाट जारी सिग्देलको प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाण अनुसार ०४१÷०४२ मानविकी समूह (पाँचौं) ब्याचमा उनको रोल नं. १६ हो । जस अनुसार त्रिभुवन विश्वविद्यालयको दर्ता नम्वर ७०८–८४ अनुसार सिग्देलको वास्तविक प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२१ कायम छ ।

तर, १७ असोज ०७६ को मन्त्रिपरिषद्ले उपरथीमा बढुवा गर्नु अघि सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२३ बनाएर सच्याएका स्रोतको दाबी छ । यसरी उपरथी पाण्डेको राजीनामा, सिग्देलविरुद्ध नक्कली प्रमाणपत्रको उजुरी र तेश्रो नम्बरमा रहेका निर्मल थापा पनि यस्तै कीर्ते प्रकरणमा डामिने पक्का पक्की छ । उनको आइएको प्रमाणपत्र नै बिहारबाट ल्याइएको र नक्कली रहेको कारण रोलक्रमको चौथो नम्बरका उपरथी सन्तोषकुमार ढकालको भाग्य बल्ने सम्भवना रहेको कतिपयको अडकलबाजी छ । चारित्रिक रुपमा सन्तोष कमजोर मानिएका छन् ।

उनीपछि सन्तोष बल्लभ पौडेल र माओवादीबाट समायोजन भएर आएका याम अधिकारीहरु प्रतिष्प्रर्धामा रहेका छन् । प्रधानसेनापति प्रभुरामको दाउ सकेसम्म अशोकलाई भावी प्रधानसेनापति बनाउने र कंथ कीर्ते प्रमाणपत्र काण्ड लागेर अशोकलाई प्रधानसेनापति बनाउन नसके आफ्ना उत्तराधिकारीका रुपमा माओवादीबाट समायोजन भइ आएका याम अधिकारीलाई प्रधानसेनापतिका रुपमा अगाडि सार्ने योजनामा छन् उनी ।

त्यही कारण प्रधानसेनापतिको सरकारसँग मिलिभगत छ भन्छन् जंङ्गी अड्डाका अधिकृतहरु । प्रभुरामलाई पूर्व प्रधानसेनापतिहरु कसैले पनि समर्थन छैन । माओवादीलाई यसरी उचालेको प्रति उनीहरुको तिव्र असन्तृष्टि रहेको बताइन्छ । प्रभुको दाउ सकेसम्म अशोक नभए याम अधिकारीको भविष्य सुनिश्चित गरेर आफू अष्ट्रेलियाको राजदूत खाने योजना रहेको जङ्गी अड्डाभित्र चर्चा हुने गरेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *