जनता मार्ने सरकारको अक्षम्य कदम

राजनीति समाचार

हालै वैदेशिक रोजगारीमा कोरिया जानका लागि परीक्षा दिन पाउनुपर्छ भन्दै आन्दोलन गरिरहेका निकै कम संख्यामा रहेका नेपालमा रोजगारी नपाएर भौंतारिएर आन्दोलन गरिरहेका युवाहरु माथि अन्धाधुन्दा गोली चलाउँदा दुई जनाको मृत्यु हुन पुग्यो ।

रोजगारी नदिने र रोजगारी गर्न जान पाउनुपर्छ भन्दै विरोध गर्दा सरकारले अकल्पनीय कदम चलाउँदा युवाशक्तिको मृत्यु हुनुले सरकारले नै अराजकतालाई प्रश्रय गरेको पुष्टि हुन्छ । मुलुकमा रोजगारी सिर्जना गर्न नसक्ने, रोजगारीका अवसर सिर्जना गर्न उद्योग, कलकारखना, लघु उद्यमलाई पलायन हुने अवस्था बनाउने, नीतिगत उल्झन् सिर्जना गर्ने, सर्वसाधारण जनतालाई महंगीको मारले थिच्ने काम पछिल्लो राजनीतिक सत्ताहरुबाट हुँदै आएको छ । यस्तो अवस्थामा सर्वसाधारण जनताले गरिखान पनि मुस्किल भएको बताइरहेका छन् । मुलुकमा अवसर सिर्जना गर्न नसक्नु नै सरकारको कमजोरी हो ।

पछिल्लो समय युवापुस्ताको जमात विदेश जान लागिपरेको छ । सरकारले शिक्षा प्रदान गरेको छ, तर शिक्षा उपभोग गर्ने अवसरहरु दिएको छैन । शिक्षित युवाहरुले नेपालमा रोजगारी गरेर आफ्नो दैनिकी धान्न पनि मुस्किल परेको बतारहेका छन् । वास्तविकता पनि त्यही छ । सर्वसाधारण युवाले नेपालमा रोजगारी गरेर बस्न, खान पनि नपुग्ने अवस्था छ । त्यसैले विदेशको ठूलो आम्दानीप्रति युवा लालायित भएका छन् । नेपालमा रोजगारी गर्न र बाँच्ने अवसर सिर्जना गर्नको लागि सर्वप्रथम युवावर्गले आफ्नो खर्च धान्ने स्थिति हुनुपर्दछ ।

बेथिती, भ्रष्टाचारमा रुमलिएको नेपालमा सत्ताको स्वार्थमा नेताहरुले मुलुकलाई आर्थिक जोखिममा हालेका छन् । मुलुकमा अवसर नदेखेपछि विदेसिनु स्वभाविक नै हो । अझ पछिल्लो समय अध्ययनशील युवाहरु तयार भएका छन्, जो नेपालबाट विदेसिन बाध्य भएका हुन् । न्यून रोजगारी, त्यसैमाथि न्यून आम्दानीको अवस्था । न्यून आम्दानीले आफ्नो खर्च धान्न पनि मुस्किल परेको अवस्था नेपालमा विद्यमान छ । बिचौलिया र भ्रष्टहरुका लागि भने नेपाल स्वर्ग बनेको छ ।

नेपाली उद्यमका उपभोग्य उत्पादनहरु आयातित वस्तुले प्रतिस्र्थापन हुँदा रोजगारी गुम्दै गएको विषयमा पनि हामी साक्षी छौं । मुलुकमा रोजगारीका अवसर सिर्जना पनि गर्न नसक्ने र रोजगारी गर्न विदेश जान्छौं भन्नेलाई पनि गोली हान्ने काम बन्द गर्नुपर्छ । सरकारको दम्भ र नेताहरुको घमण्डको अन्त्य हुनुपर्छ । नत्र जनताले श्रीलंकामा जस्तै नेताहरुलाई लखेटी लखेटी मुलुक छाड्न बाध्य नबनाउलान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *