भौतिक र अर्थमन्त्रालयको समन्वय नहुँदा विकासको काम अलपत्र

राजनीति समाचार

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुरका सडक डिभिजन प्रमुखहरुले भौतिक पूर्वाधार तथा निर्माण सम्बन्धी कामको लागि सरकारसँग बजेट माग्नको लागि काठमाडौं १ का डिभीजन प्रमुख नारायण भण्डारीको संयोजकत्वमा एउटा समिति बनेको छ । त्यो समितिले सडक निर्माणको लागि विभिन्न मागहरु राखेर कार्यपत्र पनि बनाएको छ । तर, त्यो कार्यपत्र कस्तो छ अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

त्यो कार्यदलले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक अर्जुन ढकाललाई सडक निर्माणको बारेमा जानकारी गराएपछि उनीहरु सकारात्मक बनेका छन् । त्यसको लागि बजेट माग गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न बारम्बार धाउँदा पनि अर्थमन्त्रीले समय नदिएको गुनासो आइरहेको छ । अर्थमन्त्रीको समय अभाव भएर हो अथवा अन्य कारणले हो त्यो सार्वजनिक हुन सकेको छैन । सडक निर्माण सम्बन्धी बजेटको लागि अर्थमन्त्रीलाई डिभिजन प्रमुखहरुले भेट्न खोजे तापनि मन्त्रीले भेट नदिएको गुनासो उनीहरुको छ ।

उता प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई दिनुपर्ने ८ अर्ब भुक्तानी माघको दोस्रो हप्ता दिने प्रतिवद्धता जनाए तापनि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै भएको छ । एकातिर सडक डिभिजनप्रमुखहरुलाई अर्थमन्त्रीले भेट नदिनु, अर्कोतिर प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीको ८ अर्ब भुक्तानी माघको दोस्रो साता दिइसक्ने भन्नुले पनि अर्थमन्त्रालय चलायमान छैन भन्ने बुझिन्छ । चालु आर्थिक वर्षको विकास निर्माणको काम अलपत्र पर्ने देखिन्छ ।

यतिबेला अधिकांश आयोजना प्रमुखहरु बजेट माग गर्नको लागि अर्थमन्त्रालय धाइरहेका छन् भने अर्कोतिर निर्माण व्यवसायीहरु निर्माण सम्पन्न भएको भुक्तानी माग्न आयोजनादेखि डिभिजन प्रमुखहरुलाई भेटी हारगुहार गरिरहेका छन् । त्यसकारणले पनि अर्थमन्त्रालय र भौतिक मन्त्रालयको सम्बन्ध राम्रो नभएको पुष्टि हुन्छ ।

बजेट अभावले ठूला आयोजना त ओझेलमा परे नै, त्योसँगै स–साना आयोजनादेखि सडक मर्मतको कामसमेत अलपत्र परेर थन्किएपछि दिनप्रतिदिन सडक दूर्घटनाहरु बढिरहेका छन् । तर, सरकारले सडकसम्बन्धी कामको लागि ठोस निष्कर्ष निकाल्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने सडक बोर्डले पनि खाल्डाखुल्डी परेका सडक मर्मतसंहार गर्ने बजेट दिन सकेको छैन । उल्टै सडक बोर्डको पैसा ब्याजमा लगाएर कर्मचारीहरुले कमिसन खाने र घाम तापेर दिन बिताउने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *