मन्त्री र सचिव मुकदर्शक, नेपालीहरु विदेश अलपत्र

राजनीति समाचार

काठमाडौं । नेपालीहरु यतिबेला आफ्नो भूमि छाडेर विदेशी भूमितिर रमाउँदै छन् । अहिले नेपालका अधिकांश युवायुवतीहरु उच्च शिक्षा र रोजगारीको लागि जापान, क्यानडा, अस्ट्रेलिया, युकेलगायतका मुलुकमा जाने क्रम जारी छ । त्यसैगरी घरेलु कामदारको लागि कुवेत, बहराइन, इजरायलजस्ता देशमा अधिकांश नेपाली महिलाहरु जाने क्रम पनि त्यत्तिकै छ । घरेलु कामदारको लागि महिलाहरु कतिपय मेनपावर कम्पनीबाट त कतिपय भिजिट भिसादेखि विचौलियाको जालमा परेर भारतको बाटो हुँदै जाने गरेका छन् ।

त्यस्ता देशमा जाने महिलाहरुले सहज तरिकाले भनेजस्तो काम पाउने गरेका छैनन् । त्यसरी जाने महिलाहरु घरेलु हिंसादेखि विभिन्न यौनजन्य हिंसामा पर्ने गरेका थुप्रै उदाहरणहरु छन् । अहिले कुवेतमा मात्रै २५ हजारभन्दा बढी नेपाली महिलाहरु घरेलु काममा कार्यरत छन् । अन्य देशमा पुगेका महिलाहरुको त लेखाजोखा नै छैन । त्यसैगरी कतार, मलेसिया, दुबई, साउदी, बहराइन जस्ता देशहरुमा कामको खोजीमा जाने नेपालीहरुको ताँती त्यत्तिकै छ । यी देशहरुमा जाने कामदारहरुलाई त्यहाँको सरकारले विभिन्न काण्डमा मुछिएको आरोप लगाएर धरपकड गरी सजायको भागिदार बनाउने गरेका छन् ।

कानुन उलंघन गरेको आरोपमा साउदीमा मात्रै १९ हजार भन्दा बढी नेपालीहरु पक्राउ परेका समाचारहरु आइरहेका छन् । त्यसैगरी मलेसियालगायत अन्य खाडी मुलुकमा गएका नेपालीहरुले भोग्नुपरेको समस्याको कुनै लेखाजोखा छैन । वैदेशिक रोजगारीको लागि विदेश गएका नेपालीले विभिन्न समस्या भोगिरहँदा यता श्रम तथा रोजगार मन्त्री सरद सिंह भण्डारी र श्रम सचिव केवल भण्डारी भने बेखर बनेर बसेका छन् । त्यसबारेमा श्रम मन्त्री भण्डारी, सचिव र सम्बन्धित निकायले कुनै आवाज उठाएका छैनन् ।

उल्टै म्यानपावर व्यवसायी र विचौलियाहरुसँग मिलेर मन्त्री भण्डारी र सचिवले कमिसन खाने काम गर्दै आएका छन् । श्रम मन्त्री भण्डारीको पनि कुृन दिन पद खुस्किने हो थाहा छैन र सचिव भण्डारीको जागिरे अवधि पनि एक डेढ महिना मात्रै बाँकी छ । त्यसकारण पनि श्रम मन्त्री र सचिव कमाउधन्दामा व्यस्त रहेका छन् । उनीहरु कमिसनमा मात्रै व्यस्त छैनन् वैदेशिक रोजगार बोर्डको पैसा हिनामिना गरेर मोजमस्ती पनि गरिरहेका छन् । उता, विदेश जाने नेपालीहरु भने विचौलियाको फन्दामा परिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *