ananta gurung

दलहरुको सुरुङ भिजन, योजना र विकास

राजनीति लेख

दलहरुले नेपालको विकास गर्न थालेको ३६ बर्ष बित्यो । राजतंत्र र पञ्चायत कालमा बनेको विकासको जगलाई ध्वस्त पारी नयाँ सिराबाट दलहरुले नेपालको चमत्कारिक विकास गरी नयाँ नेपाल बनाउने प्रतिबद्धता जनाएका थिए । नेपाली जनताले पनि दलहरुको भनाई प्रति बिश्वास राखी तिनीहरुको पछि लाग्दै नेपालमा नयाँ विकासको जग बसालेको हर्न लामबद्ध भएका थिए । दशकौं लामो राजनीतिक संघर्ष गर्दै आएका दलहरु र १० बर्ष जनयुद्ध लडेको माओवादी मिलेपछि नेपालको कायापलट गर्नेछन भन्ने नेपाली जनतालाई मात्र होइन संसारलाई नै लागेको थियो । तर आज आएर तिनै दलका नेताहरु ३६ बर्ष लामो अवधि सम्म सत्तामा बस्दा पनि नेपालमा नयाँ विकासको जग बसाल्न सकीरहेको छैन । यथार्थमा नेपालको विकास वीरबलको खिचडी बन्दै गएको नेपाली जनतालाई महसुस हुँदैछ ।

पुरानो विकासको जग भत्काई हालेपछि नयाँ विकासको जग दलहरुले कसै गर्दा पनि बसाल्न सकीरहेको छैन । नेपाली जनतालाई दलहरुले यतिखेर विकासको सुरुङ मार्ग यहि हो भन्दै अन्धकार सुरङमा हुलेका छन । त्यहाँ उज्यालोको नामनिशाना छैन । सुरुङको उसपार टुप्पोमा केही उज्यालो देखिन्छ जसलाई हेर्दै नेपाली जनतालाई दलहरुले अगाडि ठेली रहेकाछन । यसो त दलहरुको चमत्कारिक विकास पछाडिको नयाँ नेपाल कस्तो हुन्छ भन्ने अन्दाज नेपाली जनतालाई केही न केही भई नै रहेकोछ । खण्डहर झै देखिने आग्ला कंक्रिटका टावरहरु, तर्साउने झै देखिने स्मारकहरु, टुटीफुटी सकेर मर्मतको प्रतिक्षामा रहेका सहिद स्मृति द्वारहरु र चौबाटोमा बनाईएका पशु पंछीका विकासलाई झल्काउने प्रतिमूर्तिहरुलाई हेरीसके पछि अँध्यारो सुरुङको उसपार के छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । जसरी वीरवलको खिचडी कहिले पाक्दैन त्यसरी नै दलहरुले नेपालको विकास कहिले पनि गरी देखाउन सक्दैन ।

जबसम्म वीरवलको खिचडी पकाउनको लागि आगो झोसेर नै बालीदैन तब सम्म खिचडी पाकेर खाउँला भन्ने नेपाली जनताले सोच्नु नै पर्दैन । अहिले सम्म दलहरुले नेपालमा गरेका विकासको अनुभव नेपाली जनताले गरीसकेका छन । दलहरुले आफैले जानेर गरेको विकासका नमुनाहरु जनयुद्धका स्मारकहरु र सहिद द्वारहरु मात्रै हुन । यो बाहेक एमालेका शीर्ष नेता ओलीका पालामा बनेका कंक्रिटका टावर भवनहरु पनि छन । जहाँ सम्म विकासको नयाँ जग नै बसाउने कुरा हो त्यसको भौतिक रुपलाई हेर्न अँध्यारो सुरुङको उसपार पुग्नै पर्ने हुन्छ । नेपालमा मौलिक विकास गरी देखाउने हैषियत दलहरुको छैन । बिदेशी बैंकहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले देखाएको विकासे मार्गलाई नै नेपालको मौलिक विकासे मार्ग मान्दै दलका शीर्ष नेताहरु अगाडि बढेकाछन । यो हुँदा नेपालको राजनीति र विकास दुबैलाई बिदेशी बैंकहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले असाध्यै प्रभावित तुल्याएका छन । अध्यारो सुरूङको उसपार के छ भन्ने कुरा सायद दलका शीर्ष नेताहरुलाई पनि केहि थाहा छैन ।

अँध्यारो सुरुङको उक्त उज्यालो टुप्पोमा श्रीलंकाको जस्तो वा पाकिस्तानको जस्तो बिग्रेको आर्थिक हालतले नेपाली जनतालाई स्वागत गर्नको लागि कुरी राखेको पनि हुन सक्छ है ? नराम्रोमा त्यस्तो हालत अफगानिस्तानको जस्तो वा युक्रेनको जस्तो पनि हुन सक्ने छन । दलहरुको आफ्नै नेपाल विकासको मौलिक नमुना नभएको हुँदा बिदेशी बैंकहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पेसकस गरेको विकासे नमुनालाई नै आफ्नो मौलिक विकासको मोडेल मानी अपनाएका छन । यस्ता आत्मसम्मान नभएका दलका नेताहरुकै कारण स्वाभिमानी नेपाली जनताको युगौं देखि नझुकेको शीरलाई झुकाउनु परीरहेको छ । दलका नेताहरुले बिदेशीका दलालहरुको प्रभावमा परी बनाएका नीतिहरुको कारण नेपाली जनताको व्यापार व्यवसायहरु संकटमा परेका छन । सोझा ईमानदारहरुले मेहनत गरी पैसा कमाएर नेपालमा नै आफ्नो गुजारा चलाउन नसक्ने र परिवारिक खर्च धान्न नसक्ने भएकोछ ।

ऋण माथि ऋण थपिदै जाँदा उक्त ऋणहरु तिर्न कै लागि पनि नेपाली जनताले थप ऋण लिएर बिदेशीको गुलामी गर्न वैदेशिक रोजगारीमा जनैपर्ने बाध्यकारी अवस्था नेपालमा उत्पन्न भईरहेको छ । नेपाली जनताले परपूर्व काल देखि मान्दै आएको वैदिक सनातनी हिन्दूधर्मलाई इसाई धर्मले प्रतिस्ठापन गर्ने प्रयास धर्मनिरपेक्षताको नीति मार्फत दलहरुले नै थालेकाछन । दलहरुको यस्तो कामलाई आफ्नै खुट्टामा बञ्चरोले हान्ने काम हो भन्न सकिन्छ । माध्यम वर्ग र निम्न वर्गका नेपालीहरुलाई आर्थिक संकटको चापमा पारी दलका नेताहरुले बिदेशीको नेपालमा धर्म परिवर्तन गराउने कामलाई सहज तुल्याईदिएका छन ।

दलहरुले राजतंत्र मान्दैनौ भनेर राजतंत्रलाई हटाएपछि त्यसको बदलामा सामान्य स्थिर नेपाल सरकार सम्म बनाएर नेपाली जनतालाई देखाउन सकेको छैन । नेपालको अस्थिर राजनीति र नेपाल सरकारले गर्दा नै नेपालको विकास, राजनीति र धर्ममा बिदेशीहरुले चलखले गरी प्रभावित गर्ने गराउने अवसरहरु पाएका छन । यस्तो हालतमा नेपालको विकास कदापि हुन सक्दैन । मौलिक विकास भने नेपालको सनतानी हिन्दूधर्म, उक्त धर्म अनुसारको संस्कार र नेपाली जनताको वीरता र बलिदानीपूर्ण इतिहासले वतप्रोत भएको हुनुपर्छ । नेपाली जनताको परम्परा, भेषभुसा , भाषा, धर्म र संस्कारलाई अपनाउन नसक्ने दलका नेताहरुले नेपालको विकास गरी देखाउन सक्दैन । नेपाली जनता यतिबेला दलहरुले देखाएका अँध्यारो सुरुङ मार्ग मार्फत सुरङको अर्को छेउको उज्यालोलाई हेरी लगातार अगाडि बढीरहेका छन ।

सुरुङको उसपार के छ भन्ने कुरा दलका शीर्ष नेताहरुलाई मात्रै ज्ञान छ वा छैन भन्ने कुराको अत्तोपत्तो सुरूङका सहयात्रीहरु कसैलाई पनि जानकारी छैन । त्यसकारण दलका केहि ठुला जानेमानेका नेताहरुले नेपाली जनतालाई भेडो पनि भन्ने गरेकाछन । एक छाक मासुभातमा बिकेर भोट हाल्ने नेपाली जनताले दलहरुबाट अनेक धोका पाईसकेका छन तैपनि लगातार उही पुरानै गल्ती दोहर्याई राख्दछन ।

दलहरुले गरेको विकासलाई हेरी भोट हाल्नु पर्ने हो तर दलहरुले फैलाएको भ्रमजालमा परि सरुङको टुप्पोको उज्यालोलाई मात्रै हेरी निर्णय लिंदा नेपाली जनताले भ्रमको जालोलाई कहिले पनि च्यात्ने सफलता पाउन सकेको छैन । नेपाल राष्ट्रको हालत कस्तो कस्तो जटिल भईसकेको छ । भ्रष्टाचारी , आर्थिक अपराधी, सुन तस्करी, मानव तस्कारी, बिदेशीको दलाल, नाफाखोर, कमिसनखोर, घरजग्गाको दलाल, आदि ईत्यादिलाई चिनेर छुट्याउन नै गाह्रो भईसक्यो । नेपालको राजनीति र आर्थिक हालत यति जटिल पहिला कहिले पनि रहेको थिएन । दलहरु सत्तामा पुगेपछि दलका नेताहरुले दोहोरो भूमिका निर्बाह गर्न थालेपछि विकास र बिनासमा पनि अन्तिर देखिन छाड्यो । हाल भइरहेको लगानी सम्मेलन पनि त्यस्तै एउटा सुरुङ मार्ग हो जसको टोप्पोमा उज्यालो त छ तर भित्र चुक जस्तो अध्यारो र अपारदर्शीले युक्त भएकाले अनिस्चिता धेरै छन् ।

दलका नेताहरुले लगानी सम्मेलनमा बोलेको जस्तो अर्थिक अवस्था नेपालमा छैन भन्ने कुरा नेपालको बिद्यमान शेयर बजारले नै प्रष्टपारी रहेको छ । नेपालमा अमेरिकाको जस्तो खर्च वा लगानी गर्ने जनता र सबैको हितको संरक्षन गर्ने कानुनी राज छैन । त्यसकारण अमेरिकामा विकास गर्न सफल भएको पूँजीवादी व्यवस्थाले नेपालमा पनि विकास गर्न सफल हुन्छ भन्ने छैन । नेपालमा बसोबास गर्नेहरु सित पुँजीवादी होइन शामन्ती मानसिकता छ त्यसैले नेपालका मान्छेहरुले आफु सित भएको पैसा खर्च वा लगानी नगरी लुकाएर राख्ने गर्दछन ।

यस्तो सोच हुनुको पछाडि नेपालको राजनीतिक अवस्थाले पैदा गरेको असुरक्षाको भावनाबाट पनि हो भन्न सकिन्छ । नेपाल सरकारले नेपाली जनतालाई सुरक्षित महसुस हुने गरी नीति र योजना ल्याएर त्यसको कार्यन्वयन गर्न अहिले सम्म सकेको छैन । नेपालमा भ्रष्टाचार महामारी कै रुपमा फैलनुमा मुख्य गरी दलहरुको आर्थिक नीतिहरु नै जिम्मेवार छन । नेकपा माओवादी सत्तामा आउँदा भ्रष्टाचारी राजनीतिज्ञहरु देखि लिएर निजामती कर्मचारीका हाकिमहरु सम्म थर्कमान भएका थिए । अब पनि भ्रष्टाचार गरेमा माओवादीले कडा कार्यबाही गर्छ भन्ने सबैको मनमा लागेको हुँदा सबै थर्कमान अवस्थामा पुगेका थिए । तर सत्तामा पुग्ने बित्तिकै तिनै भ्रष्टाचारीहरुबाट पैसा उठाउने काम माओवादीहरुले पनि थालेको हुँदा आज आएर माओवादीको डर कसैलाई पनि छैन ।

त्यसरी माओवादीहरु पनि भ्रष्टाचारी र आर्थिक अपराधीहरुकै पक्ष बनेर समाप्त भएकाछन । अब यस्ता दलले विकास गर्छौ भन्दा कसैले पनि पत्याउँदैन किनकि सबै दलहरुको खाने र देश लुट्ने दाउ एकै भईसकेको छ र सबै दलहरुले मिलेर नै देश लुट्ने र खाने गर्दै आएकाछन । त्यसरी चुक जस्तो अँध्यारो सुरुङ मार्गको टुप्पोको उज्यालोलाई हेरी लगातार अगाडि बढीरहेका नेपाली जनता विकासे यात्रा अस्तव्यास्त भएको छ । त्यहाँ कुनै सरकारी योजना वा व्यवस्थापनको प्रभाव देखिन्न । सबै कुराहरु हचुवाको भरमा र दलका भ्रष्ट नेतृत्वको तजबिजमा चलेकाछन । दलहरुको यसतो सुरुङ भिजन विकासे मार्गबाट सुरङको उज्यालो टुप्पो सम्म पुग्न नेपाली जनतालाई धेरै कठिन भएको छ । सुरुङ भित्र पस्नु भन्दा पहिले नेपाली जनताले आफु सित भएको विकल्पहरु बारे राम्रो सित नसोचेको हुँदा दलहरुबाट श्रृजित यस्तो विकल्पहिन हालतको सिकार बन्नु परेकोछ ।

संघियता र गणतंत्र पनि दलहरुको सुरुङ भिजन कै एक परिणाम हो । नेपाली जनताले मन नपराएको भएपनि बिदेशीले दलहरु मार्फत नेपालमा लादिएको राजनीतिक व्यवस्था भएको हुँदा यसलाई टिकाउनको निमिक्त अनुदान र ऋण सहयोग बिदेशीले दिईरहेका छन । नेपाली जनता पुरानो राजनीतिक व्यवस्थामा फर्किन चाहेको भएतापनि सुरूङ भित्रको चुक जस्तो अन्धाकारमा त्यो जनआवाजको सुनुवाई हुन सकीरहेको छैन ।

संघियता र गणतंत्रको सुरुङ भित्र छिरीसकेको नेपाली जनतालाई दलहरुले लादेको राजनीतिक व्यवस्था वीरबलको खिचडी बराबर नै साबित भएको छ । यो कहिले पाक्ने होइन तर पनि सुरुङको टुप्पोमा देखिएको उज्यालोलाई देखाएर दलहरुले नेपाली जनतालाई थमथमाई राखेकाछन । सुरुङ भित्रको अन्धकार र कोलाहलपूर्ण वातावरणमा नेपाली जनातालाई सास फेर्न गाह्रो भईसकेको छ तैपनि दलका नेताहरु संघियता र गणतंत्रलाई टिकाउने प्रयास छाडी नेपाली जनताको पक्षमा उभिन बिदेशीको दबाबाले गर्दा सकीरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *