चिटिक्क परेकाहरुको सभा

राजनीति लेख

खाडीमुलुकको पेट्रोलियम पदार्थ र चाइनाको सामान बेचेर नेपालको समृद्धि आउँदैन । समृद्धिकोलागि उत्पादन आवश्यक पर्दछ । हरेक नागरिक उत्पादनमा जोडिनु पर्दछ । उत्पादनमा नजोडिने नागरिक असल नागरिक होइन भन्ने माहोल ल्याउन जरुरी भैसकेको छ । उद्यममा आधारित कामहरु र उनीहरुको साझा संगठन अपरिहार्य देखिन्छ । सिलाई तथा कपडा व्यवसायसँग सम्वन्धीत उद्यमीहरुको एक छाता संगठन रहेको छ । यो छाता संगठनले यसता उद्यमीहरुलाई परेको कठिनाईका वारेमा संरक्षण मात्र गरेको छैन । उद्यमशिलतालाई प्रवद्र्धन गर्न समेत अहम भूमिका खेलेको छ । त्यो छाता संस्थाको दोलखा स्तरमा एक छलफल कार्यक्रम भएको थियो । सो कार्यक्रममा उद्यमशिलता र उद्यमीको अवधारणा चर्चा गर्न लायक देखिएको छ ।

चिटिक्क परेका सहभागी

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाको पाँचौं साधारण सभाको निम्तो पाएँ । चलन चल्तीका संघ संगठन भन्दा अलि फरक लाग्दछ । त्यसैले सहभागी हुन रहर जाग्यो । यस संघको पनि छाता संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठसँग पुरानो चिनजान र उहाँको क्रियाशिलताले आकर्षण गरेको थियो । त्यस संस्थाको केन्द्रीय महासचिव इश्वर नेपाली दोलखाको हुनु भएको अनी दोलखा संघको अध्यक्ष हरिकृष्ण नेपाली हाउभाउ गतिविधिले पनि मलाई त्यो संस्था प्रति आकर्षण गराइरहेको थियो । केही समय अघि दोलखाका सिलाईकर्मीहरुकोलागि नेपालीहरुको मौलिक पोशाक दौरा सुरुवाल सम्वन्धी तालिम दिनु भएको थियो । यी कारणले यस संस्थाहरु प्रती मेरो आकर्षण थियो र छ पनि ।

साधारण सभा भीमेश्वर नगरपालिकाको सभा कक्षमा आयोजना गरिएको थियो । सभाकक्ष खचाखच वा भरिभराउ थियो । सहभागीहरु मध्ये छोरा मान्छेहरु अधिकांशमा सुटमा सजिएका थिए । महिला पनि सारीमा चिटिक्क थिए । यो दृश्य म सहभागी हुने अधिकांश कार्यक्रम भन्दा निक्कै फरक थियो । सायद कपडा र सिलाईसँग सम्वन्धीत व्यवसायीहरु सहभागी हुने भएकाले यो हुनै पर्ने नैं थियो । यो पहिचानको पनि हो ।

यो सभामा सहभागीहरुको अनुहार र अवस्था हेर्दा कर्मशिल मानिसहरु थिए । जागिर खोज्ने थिएनन् । न जागिर खाने नैं थिए । सिप भएका मानिसहरु मात्रै थिए । हाम्रो लाज ढाक्ने वा छोप्नेमा योगदान गर्नेहरु थिए । यदी कपडा नभएको भए अनी काटकुट र जोडजाड पारेर सिलाई नगरेकोे भए हाम्रो हालत के हुन्थ्यो होला ? सभामा हामीलाई चिरिच्याँट पार्नेहरुको उपस्थीती थियो । त्यसैले होला उनीहरु आफैं पनि चिटिक्क परेका थिए ।

संघ महासंघको अवस्था

यो संघ २०५५ सालमा नैं काठमाडौंमा दर्ता भएको रहेछ । गतिविधिहरु चलाइ रहेको नैं थियो । यस संघको नेतृत्वलाई महासंघ बनाउँदा यसको तागत वढ्छ भन्ने महसुश गरी जिल्लामा संघ केन्द्रमा महासंघ वनाउने अभियान थालनी गरेछन् । जिल्लाहरुमा संघहरु दर्ता हुन थाले । हाल ७२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयमा जिल्ला संघहरु दर्ता भएका छन् । दोलखामा पनि २०७४ सालमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ विधिवत रुपमा दर्ता भैं क्रियाशिल भैरहेको छ ।

जिल्ला जिल्लाका संघहरुको प्रतिनिधित्व हुने गरी २०७५ चैत्र ५ गते नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ दर्ता भएको रहेछ । यो महासंघ निर्माणकोलागि तत्कालिन नेतृत्वले धेरै मेहनत गर्नु परेको थियो यसमा वारेमा महासंघको अध्यक्षको अनुभव मात्र समेट्ने हो भने ४,५ वटा श्रृखला पुग्ने देखिन्छ ।
दोलखा जिल्ला संघमा ४ सय ६४ जना व्यवसायीहरु सदस्य हुनु भएको छ । नेपालभरमा ३१ हजार ४ सय ३२ सदस्य रहेका छन् । जिल्ला संघले सदस्यहरुबाट लिने शुल्क रु ३ सय ६० मात्र हो । जिल्ला संघको केन्द्रीय महासंघको सदस्य सदस्य वन्नु पर्दछ । सदस्यता नविकरण वापत जिल्ला संघले केन्द्रीय महासंघलाई बार्षिक रु ५ हजार वुझाउनु पर्दछ । संघ महासंघले वैदेशिक तथा सरकारी अनुदान लिएको छैन । वरु राज्यलाई इमान्दारीपूर्वक कर तिरी रहेकोे । रोजगारी २ लाख भन्दा वढिलाई प्रत्यक्ष रोजगार दिएको छ । यी संघ महासंघको अभियानले विदेश जाने मानिसहरु रोकिएका छन् । यसको पैसामा हिसावकिताव गर्ने हो भने कति आउँदो हो । यो कुरालाई राज्यले महत्व दिएको चाँही पाइन्न ।

व्यवसायीको संकटमा जिल्ला संघ
दोलखा संघले व्यवसायीको दुःखमा सधैं साथ दिने संस्थागत प्रयास गरिरहेको छ । २०७८ सालमा चरिकोट वजारमा रहेको संसार टेलरमा आगलागी हुँदा ठुलो नोक्सानी भएको थियो । त्यस दुखद अवस्थामा जिल्ला संघले व्यवसायीहरुवाट रकम संकलन गरी रु. २ लाख २ हजार रकम उपलव्ध गराएको थियो । राज्यलाई संकट पर्दा समेत सहयोग गरिरहेको छ । कोभीडको कहरमा दोलखा संघले आफ्नै सदस्यहरुले तयार गरेको ५० हजार मास्क निशुल्क रुपमा भीमेश्वर नगरपालिकालाई उपलव्ध गराएको थियो । त्यो बेलामा किन्न खोज्दा पनि मास्क नपाइने अवस्था थियो । दोलखा संघले नेपालीको परम्परागत पोशाक दौरा सुरुवाल सिलाउने सिप लोप हुन शंकालागि नियमित रुपमा तालिम सञ्चालन गरिरहेको छ । हालसम्म ३ वटा यस खाल्का तालिम सञ्चालन गरिसकेको छ । त्यसै गरी कोट सिलाउने तालिम, सिलाउने, लेडिज फेसन डिजाइन तालिम जस्ता सिप प्रवद्र्धन गर्ने कार्यहरु नियमित गरिरहेको छ ।

यस क्षेत्रमा क्रियाशिला व्यवसायीहरुले विभिन्न चुनौतीहरुको सामाना गरिरहनु परेको छ । मुलुकमा नैं वित्तिय संकट छ । त्यो बाट यो क्षेत्र अछुतो रहन सक्दैन । तथापी आफ्नो व्यवसाय धानी रहेको छन् । वित्तिय संस्थाहरु ऋण दिन तयार छैनन् । घरभाडा महँगो छ । राज्यको तर्फवाट प्रोत्साहन गर्ने कुनै नीति देखिंदैन । सरकारी तथा गैरसरकारी क्षेत्रवाट नाम मात्रका तालिम सञ्चालन हुने गर्दछ । नयाँ व्यवसायी तयार गर्ने र भएका व्यवसायीको थप सिप प्रवद्र्धन गर्नमा कमैको मात्र ध्यान गएको छ । जिल्ला संघले यस तर्फ सदैव चासो दिइ रहेको पाइन्छ । भरखरै राष्ट्रिय महिला उद्यमी जिल्ला शाखा पनि गठन गरेको छ । यस क्षेत्रमा लागेका महिलाहरुको क्षमता अभिवृद्धि र व्यवसायिक पक्षपोषणकालागि रविना भुजेलको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति वनाउनमा जिल्ला संघले पहल गरेको छ ।

छाता संगठन
कपडा तथा सिलाई व्यवसायहरुको छाता संगठन छ । यस संगठनको सदस्य वन्नु भनेको असजिलो बेलामा सहयोग पाउने आशा हो । जसरी पानी पर्दा छातामा ओत लाग्न पुगिन्छ त्यसै गरी व्यवसायीलाई असजिलो पर्दा ओत लाग्ने ठाउँ हुनु पर्ने हो । यदी त्यसो गर्न सकिएन भने अर्थात छाता खोल्दा करङ्ग मात्र भयो । पानीबाट जोगाएन भने छाताको काम हुँदैन । त्यो छाता फालिन्छ । त्यस्तै हो, व्यवसायीलाई परेको कठिनाईमा संघ महासंघले भूमिका खेल्न सकेन भने व्यवसायी आवद्ध भैरहँदैनन् । जहाँ ओत पाइन्छ त्यही जान्छन् । यसमा यो संगठनले वीचार गरोस् । यो संगठनका सदस्यहरु जागिर माग्ने हैन, जागीर दिने उद्यमी बनाउने हो । त्यसैले यो संगठनमा आवद्ध असल नागरिकको उपमा दिँदा केही फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *