काठमाडौं । प्रहरीदेखि प्रशासनसम्मलाई प्रभावमा पारेर उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले एक पछाडि अर्काे सरकारी जग्गा हड्पदै छन् । विनोद चौधरीलाई समेत माथ खुवाउने गरी एक पछाडि अर्काे बदमासीमा मुछिरहेका चन्द्र ढकालकै कारण हालैमात्र पाथिभरा क्षेत्रका सर्वसाधरण घाइते हुन पुगेका छन् ।
मुख्य सचिव एकनारायण अर्याल,पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालदेखि वनका पूर्व सचिवहरु रेवतीरमण पौडेलदेखि पेमनारायण कँडेललाई हातमा लिएर चन्द्र ढकालले अहिले सात वटा स्थानमा केवलकार चदाउँदै छन् ।
पौडेल सचिव हुँदा गत बर्ष वैशाखतिर ढकाल नै अध्यक्ष रहेको व्यापारिक घराना आइएमई समूह अन्तर्गतको कम्पनी, ‘पाथीभरा दर्शन केबलकार प्रालि’को मागअनुसार वन मन्त्रालय त्यहाँको सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको भेटिन्छ । पाथिभरामा केवलकार बनाउने योजना आजको होइन, यो दिवंगत व्यवसायी आङ्छिरिङ शेर्पाहरुको महत्वकाक्षी परियोजना हो । जसै हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन मन्त्री रविन्द्र अधिकारीसहित शेर्पाहरुले ज्यान गुमाए त्यही सँगै उक्त कम्पनीको शेयर नै आफैंले हत्याए चन्द्र ढकालहरुले । कम्पनी रजिष्टर्ड कार्यालयबाट प्राप्त अभिलेख अनुसार, पाथिभरा कम्पनी ०७२ असोज ६ मा दर्ता भएको भेटिन्छ । चन्द्र ढकालले सञ्चालकका रुपमा इश्वरी पौडेललाई अगाडि सारेका छन् ।
गत बर्ष मात्र सो कम्पनीमा चन्द्र ढकालले प्रवेश पाएका हुन । पहिले ल्हाक्पा सोनाम शेर्पा सहितका लगानीकर्ताको बहुमत शेयर रहेकोमा चन्द्र ढकालले सबै शेयर लिएर अहिले आफ्नो बनाएका हुन । उसो त केपी ओली सरकार व्यवसायी पोस्न उद्धत छ । यस अघि ओली सरकार हुँदा नै ०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि कम्पनीलाई वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको भेटिन्छ । त्यसैबीच २०७५ फागुनमा आङ्छिरिङको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । उनको मृत्युपछि सोचेअनुसार निर्माणको काम हुन नसकेकोमा चन्द्र ढकाल समूहले प्रवेश पाएसँगै ०७९ चैत २७ गते केबलकार निर्माणको क्रममा त्यहाँ पर्ने वन क्षेत्रका रुख कटानका लागि यसअघिको निर्णय पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयमा निवेदन दिएको भेटिन्छ ।
यस अघि शेर्पाको लगानी हुँदा ०७५ जेठमा नगरपालिकालाई १२ लाख रुपैयाँ राजस्व तिरेर तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४० वर्षका लागि स्वीकृति लिएको थियो। स्वीकृति दिँदा प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने र नवीकरणवापत हरेक पटक १ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउने सम्झौता भएको देखिन्छ तर सो समयमा समेत स्थानीयको अरोधका कारण रोकिएको उक्त प्रोजेक्टमा जब ढकालले इन्ट्री मारे काम फटाफट अघि बढी रहेको देखिन्छ । अहिले पाथीभरा दर्शन केबलकार प्रालिलाई २.७४ किलोमिटर लामो केबलकार निर्माणका लागि वन क्षेत्रको ४ दशमलव ९७ हेक्टर जग्गा प्रयोग गर्न दिँदा १० हजार २३१ वटा रुख हटाउनुपर्ने देखिएको छ । अर्काेतिर सो केवलकार निर्माणको बिषयमा सर्वोच्चमा मुद्दा छ । मुद्धाको किनारा नलाग्दै प्रहरी र प्रशासनलाई हातमा लिएर केवलकार निर्माण गर्न चन्द्र ढकाल तम्सिएका छन् ।
पाथिभरामा केवलकार निर्माण रोक्न पाँचथरको फालेलुङ गाउँपालिका–१ का आइन्द्रकुमार लिम्बूले केबलकार निर्माण रोक्न माग गर्दै २०७७ फागुन ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर व्यापारी चन्द्र ढकालले अदालतमा समेत सेटिङ्ग गरेर पटक–पटक पेसीमा चढेर पनि सो रिटमाथि अन्तिम रोक्दै आएको स्थानीयको आरोप छ । ढकाल सत्ता र शक्तिसँग नजिक रहेका पात्र हुन । उनले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा पाइहाल्छन । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल ढकालले हालसम्म कौडीको भाउमा पाँच स्थानमा केवलकार चलाइसकेका छन् । ०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । चितवनको कुरिनटारको चेरेबाट गोरखाको मनकामना मन्दिरसम्म २ दशमलव ८ किलोमिटरको लामो केवलकार सञ्चालनको १७ बर्षपछि चन्द्र ढकालको आँखामा प¥र्यो चन्दागिरी डाँडो ।
भोलेश्वर बाबाको नाममा ०७३ सालमा चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याए । शासकदेखि प्रशासकहरुलाई हातमा लिएर उनले कौडीको भाउमा चन्द्रागिरी डाँडो नै हात पारे ।तत्कालीन वनमन्त्री दीपक बोहरालाई प्रयोग गरी कौडीको चन्द्रागिरीको डाँडो नै हत्याएका थिए । उनले प्रतिरोपनी रु २१ मा ४० बर्षसम्मका लागि लिजमा हत्याउन सफल भएका छन् । ३६ रोपनी जमिन कौडीको भाउमा हात पारेका हुन ढकालले । सम्झौता पत्र अनुसार चन्द्रागिरी केवलकारले शुरुको वर्षमा वार्षिक १ लाख ८० हजार अर्थात प्रति महिना २१ रुपैयाँ तिर्ने गरी सम्झौता भएको भेटिन्छ । कौडीको भाउमा ३६ हजार हेक्टर जमिन हत्याएर ढकालले त्यहाँ अहिले केवलकार, भ्युटावर, रिसोर्टलगायत विभिन्न उद्योग चलाउँदै आएको छ ।
ढकालको समूहले बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार,नवलपरासीको मौलाकालिकामा, पोखरा,कर्णालीको चिसापानी,स्वर्गद्धारीमा केवलकार बनाउने खेलोमेलो मिलाइसकेका छन् । यस्तै ढकालकै लगानीमा अर्को केवलकार निर्माण हुँदैछ सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले मादी गाउँपालिका–१ को सिक्लेस गाउँस्थित प्वरयुममा तल्लो स्टेसन, वडा नम्बर २ को धर्मशालानजिक बीचको स्टेसन र वडा नम्बर २ कै डाँडामा माथिल्लो स्टेसन रहने गरी ६ दशमलव ४१६ किलोमिटर लामो केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । यस्तै कैलालीको चिसापानीमा जाल्पादेवी केबलकार प्रालिले र कास्कीको सिक्लेसमा अन्नपूर्ण सिक्लेस केबलकार प्रालिले निर्माण अगाडि सार्दैछ । यसरी एउटा व्यापारीले माग्दैमा उसैलाई सात सात ठाउँमा केवलकार निर्माण गर्न दिनु भनेको व्यापारीका अगाडि राज्य चलाउने शासक र प्रशासकहरु बिकेको बताउँछन्,एक जना रिटायर्ड सचिव ।