सत्ता र पावरको आडमा भ्रष्ट नेताहरुले उन्मुक्ति पाउँदै

राजनीति समाचार

दुई ठूला दल एमाले र कांग्रेस मिलेर बनेको सरकारले मुलुकमा शुशासन कायम गर्ने, भ्रष्टाचारी र माफियालाई कारबाही गर्ने, आर्थिक समृद्धि ल्याउने, देश र जनताको हितका काम गर्न संविधान संशोधन गर्ने लगायतका थुप्रै राम्रा नारा ल्याएको थियो । तर, सरकार बनेको चारमहिना नाघिसक्दा पनि देश र जनताको हितमा एउटा राम्रो काम गरेको पाइँदैन । अझ दुईतिहाई हाराहारी बहुमतको आडमा भ्रष्टाचारी, माफिया र मानव तस्करीमा मुछिएका व्यक्तिहरुलाई उन्मुक्ति दिने र पीडितलाई कारबाही गर्ने काम भइरहेको छ । त्यसको उदारहण लिन सकिन्छ कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई । मन्त्री अधिकारीसहित १२ जनालाई किर्ते र मानव तस्करीको मुद्दा लागेको थियो ।

तर, पैसा उठाएर किर्ते कागज तयारी गरी जापान पठाउने मन्त्री अधिकारीलाई उन्मुक्ति दिएर ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । तत्कालीन मन्त्री अधिकारी एमालेका नेता हुन् । सत्ताको नेतृत्व गर्ने पार्टीको नेता भएकै कारण सत्ता र शक्तिको आडमा अधिकारीलाई उन्मुक्ति दिइएको पाइन्छ । उता नेपाली कांग्रेकी केन्द्रीय सदस्य डा. आरजु राणा पनि नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा काण्डमा मुछिएकी थिइन् । तर, उनी अहिले परराष्ट्रमन्त्री बनेर विदेश भ्रमणमा रमाइरहेकी छिन् । त्यस्तै मञ्जु खाँड, राजेश शाक्य, प्रतिक थापा जस्ता व्यक्तिहरुलाई सत्ताकै आडमा उन्मुक्ति दिइरहिएको छ ।

त्यसैगरी एमाले नेताहरु पद्मा अर्याल, ईश्वर पोखरेल, भानुभक्त ढकाल, योगेश भट्टराई, गोकुल बाँस्कोटालगायतका नेताहरुले पनि विभिन्न काण्डमा नमुछिएका होइनन् । उनीहरुमा कसैलाई जग्गा हिनामिना, कसैलाई सेक्युरिटी प्रेस खरिद काण्ड, कसैलाई यति र ओम्नी काण्ड लागेका थिए । त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश नेताहरु सहकारी ठगी काण्डमा मुछिएका छन् ।

कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी ठगी काण्ड लागेको छ । उर्जामन्त्री दीपक खड्कालाई स्काउटको जग्गा हिनामिना गरेको काण्ड लागेको छ । त्यस्तै गरी एमाले नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी काण्ड लागेको छ । यो गठबन्धन सरकारले विभिन्न काण्डमा मुछिएका एमाले र कांग्रेस नेता जोगाउने कामबाहेक अन्य काम गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *