महासंघको निर्वाचनको नाममा पत्रकार धज्जी कहिलेसम्म उडाइँदै ?

राजनीति समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन गत वैशाखमा गर्ने भनिए तापनि पटक–पटक मिति सार्दै यही २८ गतेलाई तोकिएको छ । सदस्यताको चरम विवादका कारण विधानको अन्तिम ब्याख्या अनुरुप जिल्ला र प्रदेश अध्यक्षको भक्तपुर भेलाले मंसिर २८ गते महासंघको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । सो भेलाले जिल्ला शाखा र प्रदेशले टुंग्याएर पठाएको सदस्यता नामावलीलाई सदर गर्ने गरी निर्णय गरिएको थियो । उक्त भेलाको निर्णय अनुसार देशैभरका जिल्ला शाखाहरुमा महासंघ केन्द्रले नामावली पठाइसकेको छ ।

सो नामावली महासंघ केन्द्रले निर्वाचन समितिलाई हस्तान्तरण गरिसकेको छ । निर्वाचन हुन निश्चित भएपछि विभिन्न दलनिकटका पत्रकार संघ, संगठनहरु र स्वतन्त्र भनिनेहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । पत्रकार महासंघको केन्द्रीय नेतृत्व हत्याउनको लागि दौडधूप सुरु भइसकेको छ । नेपाल प्रेस युनियनले आफ्नो नेतृत्वमा महासंघलाई साझा बनाउन पत्रकारका विभिन्न संघ, संगठनहरुसँग छलफल तीब्र पारेको छ । त्यसैगरी एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले निर्मला शर्मालाई केन्द्रीय अध्यक्षमा अगाडि सारेको छ । त्यसैगरी महासंघका कार्यबहाक अध्यक्षसमेत रहिसकेका रमेश विष्ट पनि अध्यक्षको दौडमा उत्रिएका छन् ।

गत वैशाखमा पत्रकार महासंघले निर्वाचन गर्न नसकेपछि अध्यक्ष विपुल पोखरेलले नैतिकताको आधारमा राजीनामा दिएका थिए । अध्यक्ष पोखरेलको राजीनामापछि वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । काबा अध्यक्षको जिम्मेवारी पाएका विष्टले पनि गत भदौमा गर्ने भनिएको निर्वाचन गर्न नसकेपछि राजीनामा दिएर उनी पनि बाहिरिएका थिए । त्यसपछि महासंघकी महिला उपाध्यक्ष बाला अधिकारीले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएकी छिन् । कार्यबहाक अध्यक्ष अधिकारीले भने महासंघको निर्वाचन मंसिर २८ गते गरिछाड्ने अडान लिएकी छिन् । तर, केही दलनिकट पत्रकार संघ, संगठनहरुले महासंघको निर्वाचन भाड्ने तरखर पनि गरिराखेका छन् ।

अझै पनि ११ वटा जिल्ला शाखाहरुमा विवाद छ । यदि महासंघको निर्वाचन गर्न नसकेको खण्डमा नेपाल पत्रकार महासंघलाई गृहमन्त्रालयले हस्तक्षेप गर्ने देखिन्छ । यदि मंसिर २८ गते पनि पत्रकार महासंघको निर्वाचन हुन सकेन भने महासंघ केन्द्रसहित प्रदेश, प्रतिष्ठान, एसोसियट र जिल्ला शाखाका पदाधिकारीहरु अहिलेसम्मको इतिहासमा निकम्मा सावित हुने निश्चित छ । नेपाल पत्रकार महासंघको अहिलेको कार्यसमितिले २०८१ वैशाख अन्तिमसम्ममा निर्वाचन गरेर नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नुपर्नेमा त्यो नगरी विभिन्न राजनीतिक दल निकट पत्रकार संघ, संगठनहरु, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायत विभिन्न दल निकट पत्रकारका संघ, संगठनहरुसँग स्वार्थसहित छलफल र पराशर्मले गर्दा महासंघलाई कोमामा पु¥याउने काम भएको छ ।

राजनीतिक दल निकट पत्रकारका नेताहरुको भागबन्डा नमिल्दा महासंघको निर्वाचन अहिलेसम्म गुमराहमा पर्दै आएको छ । पत्रकार महासंघमा पत्रकारभन्दा राजनीतिक दलका नेताहरुको भागबन्डाले गर्दा स्वरोजगारमुलक श्रमजीवी पत्रकारहरु पेशाबाट पलायन हुँदै गएका छन् । महासंघमा व्यवसायिक पत्रकारभन्दा अन्य पेशा, व्यवसायका व्यक्तिहरु हावी हुँदा पत्रकारहरु विस्तावित हुन पुगेका छन् । त्यसको फाइदा सामाजिक सञ्जाल र युटुबरहरुले लिँदै आएका छन् ।

वास्तविक पत्रकारिता ओझेलमा परेर सामाजिक सञ्जालको माध्यमबाट गरिएको अपरिपक्व प्रचारप्रसारले लोकतन्त्रका पहरेदार राजनीतिक दलहरुको धज्जी उडाइएको छ । सामाजिक सञ्चालको बाढीले लोकतन्त्रवादी नेताहरुको मात्रै धज्जी उडेको छैन, समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समेत विचलित बनाउँदै लगेको छ ।

सर्वसाधारण जनतालाई सुसूचित गर्ने सञ्चार क्षेत्रभित्रबाट राजनीतिक दल र राज्यको सिस्टममाथि धावा बोल्दावसमेत सम्बन्धित निकाय मुकदर्शक बनेर बसिरहेका छन् । त्यसकारण पनि पत्रकार महासंघमा स्वरोजगारमुलक श्रमजीवी पत्रकारले जित्न जरुरी छ ।
त्यसैगरी, आगामी २०८१ मंसिर २८ गतेका लागि पत्रकार महासंघको चुनावको मिति तय गरिएको छ । महासंघले कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन गर्ने मिति तय गरेको हो । आगामी मंसिर २१ गते शुक्रबार उम्मद्वारको मनोनयन दर्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *