गृह मन्त्रालयमा कर्मचारीको सेटिङ मन्त्री रमिते

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई गृहप्रशासन चलायमान बनाउन नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । मन्त्री लेखकले गृहप्रशासन चलायमान बनाउन नसक्दा त्यसको फाइदा मन्त्रालयका कर्मचारीहरले उठाइरहेका छन् । गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव छविराज रिजाल, उपसचिव गणेश ओझा र बद्री तिवारीको सेटिङमा गृहमन्त्रालय चलिरहेको छ ।

यिनै कर्मचारीहरुको सेटिङले गर्दा गृहमन्त्री लेखक दिनप्रतिदिन निरिह बन्दै गएका छन् । गृहप्रशासनका कर्मचारीको सेटिङमा अध्यागमन कार्यालयमा कर्मचारी सरुवा गर्दा ३ देखि ५ लाख रुपैयाँसम्मको असुलिधन्दा चलिरहेको छ । तत्कालीन सरकारले सरुवा गरेका सिडिओहरुलाई फिर्ता बोलाएर त्यहाँ नयाँ सिडिओ पठाउँदा जिल्ला र भूगोल हेरी १० देखि १५ लाख रुपैयाँसम्म असुली गरेको समाचार स्रोतको दावी छ । हुन पनि गृहसचिव दुवाडीले भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सचिव हुँदा सरकारी जग्गा र छुट जग्गा दर्तामा करोडौं असुलेको आरोप लाग्दै आएको थियो । उनै दुवाडी अहिले गृहसचिव भएका छन् । दुवाडीको पहिलाको क्रियाकलाप हेर्दा सिडिओ र अध्यागनमा कर्मचारी सरुवा गर्दा असुली धन्दा नचलाउने कुरै भएन ।

त्यस्तै सहसचिव छवि रिजाल पनि विभिन्न मालदार कार्यालयमा बसेर अकुत सम्पत्ति आर्जन गरेपछि गृहमन्त्रालय पुगेका हुन् । त्यस्तै उपसचिव बद्री तिवारी कांग्रेस निकट हुन् । उनी तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाको पालादेखि हालसम्म कांग्रेस सरकार आएपछि सधैं मालदार ठाउँमा पुग्ने गरेका छन् । अहिले कांग्रेस नेता रमेश लेखक गृहमन्त्री बनेपछि उनको हालीमुहाली चलिरहेको छ । उता गणेश ओझाको गृहमा सेटिङ छुट्टै छ । उनको काम कुन कर्मचारी कहाँ सरुवा हुन्छ त्यो खोजी गरी मोलतोल गर्ने र असुली धन्दा चलाउने हो ।

यतिबेला गृहमन्त्रालयमा मन्त्रीकोभन्दा कर्मचारीको सेटिङले प्रहरी सरुवा, बढुवामा समेत असर परिरहेको छ । कर्मचारीले मनोमानी ढंगले मन्त्रालयमा चलखेल गरिरहँदा गृहमन्त्री लेखक भने बेखबरजस्तै बनेर बसेका छन् । मन्त्री लेखकको निकम्मापनले गर्दा माफिया र तस्करहरु हावी भएका छन् । प्रहरी प्रशासन कर्मचारीको सेटिङमा चलेका छन् । सर्वसाधारण सेवाग्राहीको काम हुन सकेको छैन । गृह प्रशासनले शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सकेको छैन । अध्यागमन कार्यालयका कर्मचारी, म्यानपावर सञ्चालक र विभिन्न विचौलियामार्फत अवैध रुपमा मानतस्करी भइरहेको छ । त्यस्ता विषयमा गृहमन्त्रीदेखि सम्बन्धित निकायका कर्मचारीहरु रमिते बनेर बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *